नन्दराम जैशी । सुर्खेत ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी पुस्ताको आन्दोलनपछि त्रसित नागरिकलाई आश्वस्त पार्नेगरी काम गर्न सुरक्षा निकायलाई आग्रह गरेका छन् । जेनजी पुस्ताको आन्दोलनपछि उत्पन्न पछिल्लो अवस्थाबारे मुख्यमन्त्री कँडेलले प्रदेशस्थित सुरक्षा निकायहरूसँग छलफल गर्दै त्रसित नागरिकलाई आश्वस्त पार्नेगरी काम गर्न अनुरोध गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले आन्दोलनका नाममा भएको हिंसा र तोडफोडका कारण नागरिक त्रसित रहेकोले आश्वस्त पार्नेगरी काम गर्न चार वटै सुरक्षा निकायलाई आग्रह गरेका हुन् ।
‘उद्देश्य राम्रो भएपनि आन्दोलनको नाममा भएको हिंसा र तोडफोडले मुलुकले अकल्पनीय क्षति ब्यहोर्नुपरेको छ,’ उनले भने, ‘नागरिक अझैपनि भयभित अवस्थामा रहेकोले जनजीवन सामान्यकृत हुनेगरी आफ्ना गतिविधि सञ्चालन गर्न चार वटै सुरक्षा निकायलाई सुझाव छ ।’ जेनजी पुस्ताको आन्दोलनमा नाममा भएका हिंसात्मक कामहरूको अनुसन्धान र कारबाहीका कामहरू हुने उनले जानकारी दिए । तर आन्दोलनपछि पनि नागरिक त्रासमा रहेको अवस्थाबाट माथि उठाएर आश्वस्त पार्ने काममा सुरक्षाकर्मी लाग्नुपर्ने उनले बताए ।
थप शान्ति सुरक्षा बिग्रन नदिन प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने सुरक्षा प्रमुखहरूलाई उनले आश्वस्त पारे । ‘सबै सुरक्षा निकायको तालुकदार संघीय सरकार होला । तर प्रदेशको शान्ति, सुव्यवस्था कायम गर्ने सन्र्दभमा तपाईँहरूलाई आवश्यक सहजीकरण गर्न प्रदेश सरकार तयार छ,’ उनले भने, ‘शान्तिपूर्ण प्रर्दशनबाहेक हिंसात्मक गतिविधि नियन्त्रणमा राज्यले आवश्यक पहल लिनुपर्ने हो । तर माथिल्लो तहको आदेशको अन्यौलले जिल्लाका सुरक्षाकर्मीले भोगेको अवस्थाबारे म जानकार छु, तर नहुनुपर्ने क्षति भयो ।’
सुर्खेतमा सीमित जनशक्तिको मेहनतले थप क्षति रोकेपनि परिचालन हुनुपर्ने सुरक्षा निकायले नै लत्ता छाड्नुपर्ने अवस्था आएपछि अवस्था नियन्त्रण बाहिर गएको उनले बताए । मुख्यमन्त्री कँडेलले अन्यत्रभन्दा क्षति कम गराउन सफल भएकोमा सुरक्षाकर्मीहरूलाई धन्यवाद पनि दिए । ‘यतिबेला आग्रह, पूर्वाग्रह र प्रतिशोधभन्दा संयम र धैर्यताको खाँचो छ । सुरक्षाकर्मी संयमका साथ अगाडी बढ्नुपर्ने देखिन्छ,’ उनले थपे, ‘आन्दोलनका नाममा भएका आगजनी र लुटपाटमा पूर्वाग्रह नराखेर अनुसन्धान गर्न आग्रह छ ।’
अनुसन्धान तथा कानुनबमोजिम कारबाही गर्न माथिको आदेश पर्खनुनपर्ने भन्दै पूर्वाग्रह नराखेर अनुसन्धान गरि दोषीलाई कारबाहीको दायरामा ल्याउन उनको सुझाव छ । छलफल कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्र यादव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिशश्वर आचार्यसहित प्रदेशस्थित चार वटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो । उनीहरू सबैले मुख्यमन्त्री कँडेलको भनाइअनुसार सुरक्षा व्यवस्थालाई ध्यान दिएर काम गर्ने बताएका थिए ।
अराजकता मच्चाउनेको खोजीमा प्रहरी
जिल्ला प्रहरी कार्यालय सुर्खेतले जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नमाथि ‘एक्सन’ लिन सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले आन्दोलनका नाममा अराजकता फैलाउनेहरूको खोजीकार्य सुरु गरिएको बताए ।
उनका अनुसार भदौ २३ र २४ गते सुर्खेत जिल्लाका विभिन्न स्थानमा भएको विरोध प्रदर्शन तथा आन्दोलन भएको थियो । सो क्रममा घटेका आगजनी, लुटपाट, आमसर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका विभिन्न अप्रिय घटना र अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर, भिडिओ तथा सामाजिक सञ्जालका लिंकहरू उपलब्ध गराउन अनुरोध गरिएको छ ।
उनका अनुसार निजी तथा सार्वजनिक सम्पत्तिमाथि तोडफोड, आगजनी र लुटपाट मच्चाउनेहरूलाई कानुनी दायरामा ल्याएर कसुरअनुसार कारबाही गरिने छ । सामाजिक सञ्जाल बन्द तथा भ्रष्टाचार र अनियमिताको विरुद्धमा जेनजीहरूले थालेको आन्दोलनमा सरकारले अत्यधिक बल प्रयोग गर्दा सोहीदिन देशका विभिन्न ठाउँमा १९ जनाको मृत्यु भएको थियो ।
उक्त घटनाको विरोधमा दोस्रो दिन सडकमा उत्रिएको जेनजी समूहले कर्णालीका महत्वपूर्ण सरकारी निकायका दस्तावेजहरू ध्वस्त बनाएको थियो । यसका साथै विभिन्न सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको निजी सम्पत्तिमा पनि केही अराजक युवाहरूको समूहले व्यापक क्षति पुग्नेगरी लुटपाट र आगजनी गरेका हुन् ।








प्रतिक्रिया दिनुहोस्