नेपालगन्ज ।
नेपालगन्जका कानुन व्यवसायीले अदालतहरूसमेत जलेर न्यायिक प्रक्रियामा आएको अवरोधको बेला आवश्यक परेका व्यक्तिहरूलाई निःशुल्क अनलाइन कानुनी परामर्श सेवा दिन थालेका छन् । सार्वजनिक सरोकार कानुन व्यवसायी समूहमा आबद्ध कानुन व्यवसायीहरूले अदालतबाट नियमित सेवा सञ्चालन नहुञ्जेलसम्म निःशुल्क कानुनी परामर्श सेवा दिने निर्णय गरेका हुन् ।
आगजनी तोडफोड र लुटपाटबाट सर्वोच्च अदालतलगायत बाँकेस्थित उच्च अदालत, जिल्ला अदालत, सरकारी वकिलको कार्यालय, बार भवनलगायत अन्य सरकारी तथा स्थानीय निकायको न्यायिक समितिका इजलास पनि ध्वस्त बनाइएका छन् । अदालतबाट प्रवाह हुने नियमित न्याय सम्पादनको कामकारबाही तथा सेवा अनिश्चितकालका बन्द अवस्थामा रहेको छ ।
यस्तो अवस्थामा कानुनी सेवा चाहिएका नागरिकहरू अन्योलमा पर्नसक्ने र तनाव सिर्जना हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै अनलाइनबाट कानुनी परामर्श सेवा निःशुल्क दिने निर्णय गरिएको समूहका संयोजक वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठले जानकारी दिए । उक्त सेवामा अदालती प्रक्रिया, हदम्याद, म्याद, पेशी, तारेख समेतका विषयमा नियमितरूपमा जानकारी दिइने, अदालतबाट सेवा सञ्चालनबारे प्रेषित सूचना र कानुनी प्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्य राखिएको श्रेष्ठले बताए ।
वरिष्ठ अधिवक्ता श्रेष्ठका अनुसार समूहमा आबद्ध कानुन व्यवसायीहरू वरिष्ठ अधिवक्ता लोकबहादुर शाह, अधिवक्ताहरू वसन्त गौतम, बलबहादुर चन्द, विकास आचार्य, विश्वजित तिवारी, सुनिता शर्मा र केवलसिंह थारूले निःशुल्क कानुनी परामर्श सेवा प्रदान गर्नेछन् ।









प्रतिक्रिया दिनुहोस्