श्यामलाल पोखरेल । बुटवल ।
रुपन्देहीका उद्योगी व्यवसायीले जेनजीको आन्दोलनपछि सुरक्षाको अवस्था कमजोर भएको बताएका छन् । लगानीमैत्री वातावरण पनि नभएको र भौतिकरूपमा सुरक्षाको अवस्थामा पनि झन्पछि झन् कमजोर देखिएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए ।
सुरक्षाको प्रत्याभूति नहुँदा उद्योगी व्यवसायीले लगानी गर्न नसक्ने अवस्थाको सिर्जना भएको तथा राष्ट्रपति, संसद् भवन लगायतका प्रतिष्ठानहरू सुरक्षित नभएको अवस्थामा सुरक्षाको चुनौती बढेको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले मिसन टुडेलाई बताए ।जेनजीको आन्दोलनका क्रममा व्यावसायिक प्रतिष्ठान, सार्वजनिक सम्पत्ति तथा प्रहरी बिटहरूमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाप्रति चिन्ता व्यक्त गर्दै दोषीलाई पत्ता लगाई कारबाहीको दायरामा ल्याउन उद्योगी व्यवसायीले राज्यसँग माग गरेका छन् ।
उद्योगी व्यवसायीले सुरक्षा अवस्था कमजोरको महसुस गरेपछि बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले सुरक्षा अवस्थाबारे जानकारी गराउँदै सुरक्षा प्रबन्ध मिलाउन इलाका प्रहरी कार्यालय बुटवललाई आग्रह गरेको छ । संघका अध्यक्ष हरिप्रसाद अर्यालको नेतृत्वको टोलीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानासँग भेट गरी जेनजी आन्दोलनपछि देखिएको कमजोर सुरक्षा अवस्थाप्रति ध्यानाकर्षण गराएको छ ।
बुटवल उद्योग वाणिज्य संघले शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई नियमित गस्ती बढाउन र जलाइएका प्रहरी बिटलाई सञ्चालनमा ल्याउन आग्रह गरेको छ । संघका अध्यक्ष अर्यालले चाडपर्व नजिकिँदै गर्दा चोरी, डकैती र लुटपाटको जोखिम बढ्ने भएकाले सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन आग्रह गर्दै उनले भने, ‘प्रहरीलाई आवश्यक सहयोग गर्न उद्योगी व्यवसायी तयार छन् । त्यसका लागि बुटवल उद्योग वाणिज्य संघले प्रहरीलाई पूर्णरूपमा सहयोग गर्छ ।’
डीएसपी रानाले उद्योगी व्यवसायी र समुदायलाई शंकास्पद गतिविधिका बारेमा प्रहरीलाई जानकारी गराउन आग्रह गरेका छन् । समाजमा शान्ति सुरक्षा कायम गर्नुको अर्को विकल्प नभएको बताउँदै उनले भने, ‘तपाईँ हामी सबै मिलेर शान्ति सुरक्षा कायम गर्ने हो, सबै नागरिको हितमा प्रहरी छ ।’ प्रहरी नियमित काममा फर्केर शान्ति सुरक्षामा खटिएपछि अवस्था सहज भएको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्