जानकीका क्षयरोग बिरामीलाई पौष्टिक आहार वितरण



जानकी (बाँके) ।

बाँकेको जानकी गाउँपालिका वडा नम्बर ८ का क्षयरोगका बिरामीहरूलाई पौष्टिक आहार वितरण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेको सहयोगमा गैरसरकारी संस्था बिनएमटी नेपालले पौष्टिक आहार वितरण गरेको हो । पौष्टिक आहार वितरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले कुपोषणले ग्रसितहरूलाई टिबी लाग्ने जोखिम हुने बताउँदै बिनएमटी नेपाललले खेलेको भूमिकाको प्रशंसा गरिन् ।

उनले बिनएमटी नेपालले बाँके जिल्लाको जानकी गाउँपालिकाकालाई मात्र क्षेत्राधिकार बनाएर काम गरिरहेको अवस्थामा अब बाँकेका सबै गाँउपालिकामा रहेका क्षयरोगीहरूलाई पनि ध्यानमा राखी सबै पालिकाहरूमा सेवा दिनका लागि अनुरोध गरिन् । क्षयरोगका बिरामीहरूलाई गरिएको यो सहयोगले बिरामीहरूलाई अझ बढी हौसला प्रदान गर्ने उनले बताइन् ।

बिनएमटी नेपालकी कार्यक्रम संयोजक विवेचना पाण्डेले क्षयरोगीहरूको मनोबल उच्च बनाउनका लागि आफूहरूले यस किसिमका कार्यक्रमहरू सञ्चालन गरिरहेको बताइन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन रवीन्द्र शाहले बिनएमटी नेपालले वितरण गरेको सहयोगले बिरामीहरूमा आफूमा बाच्ने हौसला प्रदान गर्ने बताए । उनले क्षयरोगीहरूका लागि बिनएमटीले गरेका कार्यक्रमले बाँकेका क्षयरोगीहरूका लागी निकै ठूलो भूमिका खेलेको बताउँदै कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरे ।

बिनएमटीले क्षयरोगका प्रतिबिरामीका लागि ३ हजार पाँच सय रूपैयाँ बराबरको पौष्टिक आहारका समाग्री वितरण गरेको थियो । जसमा चामल, अण्डा, तेल, दाल, बदाम, सोयाबिन लगायतका सामाग्रीहरू वितरण गरिएको थियो । बिएनएमटीका अनुसार बाँकेको जानकी गाउँपालिकाका ३४ जना क्षयरोगीहरूलाई कार्यक्रममा समावेश गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज १ गते बुधबार