कोहलपुर (बाँके) ।
सडक डिभिजन कार्यालय नेपालगन्ज बाँकेले आफ्नो कार्यक्षेत्रमा वर्षायाम र चाडपर्वमा हुनसक्ने जोखिम कम गर्न सक्रिय रूपमा काम गरिरहेको छ । वर्षायाम सुरु भइसकेको र नेपाली हिन्दूहरूको महत्वपूर्ण चाडपर्व नजिकिँदै गएकोले यस्तो बेलामा आवागमनमा समस्या हुन नदिन कार्यालयले सक्रियरूपमा काम गरिरहेको हो । वर्षाका कारण क्षति हुनसक्ने स्थानका साथै विभिन्न क्षेत्रमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि पूर्वतयारी अवस्थामा रहेको कार्यालयले जनाएको छ ।
डिभिजन प्रमुख नरेन्द्रप्रसाद भट्ट कार्यालयको कार्यकक्षेत्र रहेको पहाडी क्षेत्रमा जोखिम भएपनि अन्य क्षेत्रमा खासै जोखिम नरहेको बताउँछन् ।उनका अनुसार कार्यालयको रत्न राजमार्गअन्तर्गत बाँके र बर्दिया जिल्लामा कार्य क्षेत्र रहेको छ । सो क्षेत्रमा सवारी आवागमनमा समस्या हुन नदिन दैनिक जनशक्ति परिचालन गरिएको छ । यस्तै सडक कालोपत्रे, मर्मत, पुनर्निर्माण, सरसफाइ लगायतका काम गरिरहेको उनको भनाइ छ । कार्यालयको कार्यक्षेत्रअन्तर्गत रत्नराजमार्गको चिसापानीदेखि बबईहुँदै हर्रे क्षेत्रमा बेलाबेलामा पहिरो गइरहने बताए ।
‘यो क्षेत्र अलि धेरै जोखिमयुक्त छ । बेलाबेलामा पहिरो गइरहन्छ । कार्यालय आवागमन सहज बनाउन काम गरिरहेको छ,’ उनले भने ।पछिल्लोपटक उक्त क्षेत्रमा पहिरो जाँदा भदौ २५ र २६ गते बाटो अवरुद्ध भएको थियो । करिब ३० घण्टाको अथक प्रयासपछि बाटो खुलाउन सफल भएको डिभिजन प्रमुख भट्टले मिसन टुडेलाई बताए । उनी भन्छन्, ‘त्यो ठाउँमा अहिले वर्षायाम भएकोले हरेक दिनजसो पहिरो आइरहन्छ ।
त्यसैले हामीले आवश्वक सामग्री र जनशक्ति तयारी अवस्थामा राखेका छौँ । जतिबेला सडक अवरुद्ध हुन्छ । लगत्तै हाम्रो टोली त्यहाँ पुगिहाल्छ।’ यस्तै शिवखोला–कोहलपुर सडकमा समेत पटकपटक पहिरो गएकोले सडक साँघुरो छ । त्यहाँ कुनैपनि बेला क्षति हुनसक्ने भएकोले आफूहरू पूर्वतयारी अवस्थामा रहेको बताए । कार्यालयले उक्त क्षेत्रमा मात्रै अत्यावश्यक चार वटा मेसिनको व्यवस्था गरेको छ ।अहिले उक्त क्षेत्रको लागि मात्रै दुई वटा लोडर, एउटा एक्साभेटर र एउटा टिप्पर पूर्वतयारी अवस्थामा छन् ।
त्यसबाहेक ४० जना शक्तिहरूले त्यहाँ काम गरिरहेको भट्ट बताउँछन् । सडक डिभिजनले नै खटाएका ४० जना सडक हेरालोहरूले काम गरिरहेको उनले बताए । उनीहरूले अत्यावश्यक भएको बेलामा प्रभावित क्षेत्र र अन्य समयमा नियमित रूपमा सरसफाइ गर्ने, झारपातहरू उखेल्ने काम गर्दै आएका छन् । सडक स्वच्छ र सफा राख्ने उनीहरूको प्रमुख जिम्मेवारी हो । पहिरोका कारण सडक अवरुद्ध भएपनि मानवीय क्षति नभएको उनले बताए ।
अहिले वर्षायाम भएकोले सडकको अवस्थाका बारेमा सामाजिक सञ्जालमार्फत निरन्तर अपडेट दिने गरिएको छ । अहिले वर्षायाम भएकोले जुनसुकै बेला समस्या हुने भएकोले कार्यालय पूर्वतयारी अवस्थामा रहेको उनले बताएका छन् । सोमबार बिहान मात्रै सोही सडकखण्डमा ढलेको रुख पन्छाएर सडक सुचारु गरिएको थियो । उनी भन्छन्, ‘विभिन्न सडक खण्डमा खाल्डाखुल्डी पुर्ने, कालोपत्रे गर्ने, झार सफा गर्ने र मर्मतको कार्य भइरहेको छ । धेरै क्षति भएको वा असहज अवस्थामा थप जनशक्तिको व्यवस्थापन गरेरसमेत सहजता ल्याउने कार्य हाम्रो प्रमुख प्राथमिकता रहेको छ ।’
यस्तै लामो समयदेखि चर्चा र विवादमा रहेको पिपिरी र हवल्दारपुर क्षेत्रमा काम भइरहेको उनले बताए । अहिले त्यहाँ थप मर्मत र पूर्णताका लागि काम भइरहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सडक निर्माण जिम्मा लिएका ठेकदारले कार्यालयमै आएर दसैँभित्र काम सक्नेगरी प्रतिबद्धता जनाएर काम गरिरहेको छ । कार्यालयसमेत छिटोभन्दा छिटो काम गर्न निर्देशन दिएको छ । माँ त्रिपुरा, पञ्चकोशी र नागदेव प्रालिले उक्त सडक निर्माणको काम गरिरहेको छ ।









प्रतिक्रिया दिनुहोस्