
नेपालगन्ज ।
मुगुको सोरु गाउँपालिका वडा नम्बर ६ कुरुमुरुका ७२ वर्षीय लालबहादुर शाही दमका रोगी छन् । उनलाई चिकित्सकहरूले चिसोमा भन्दा गर्मी ठाउँमा बस्दा सहज हुने भनेपछि करिब एक वर्षदेखि नेपालगन्जमा भाडामा कोठा लिएर बस्दै आएका छन् । एउटा नातिको पनि हेरचाह गर्दै आएका शाहीले गाउँपालिकाले नेपालगन्जमै कर्मचारी पठाएर सामाजिक सुरक्षा भत्ताको नवीकरण गर्ने व्यवस्था मिलाइदिएकोमा निकै खुसी लागेको बताए । ‘यही कामका लागि घर जानुपरेको भए २०–२२ हजार खर्च हुन्थ्यो ।
आउनुजानुको दुःख उस्तै । कर्मचारी यहीँ पठाइदिएर गाउँपालिकाले ठूलो गुन लगायो,’ शाहीले भने । आँखाको बिरामी रहेकी सोरु गाउँपालिकाकै जुनी शाहीले पनि नेपालगन्जमै सामाजिक सुरक्षा भत्ता नवीरकण गर्न पाएपछि खुसी व्यक्त गरिन् । ‘आँखा देख्दिनँ । यहीँ आएर नवीकरण गरेकोमा धन्यवाद छ,’ शाहीले भनिन् । लालबहादुर र जुनीजस्तै मुगुको दुर्गममध्ये एक सोरु गाउँपालिकाले जिल्लाबाहिर रहेका र गाउँपालिकामा पुग्न नसक्ने अवस्थाका लाभग्राही नागरिकहरूका लागि नेपालगन्जमा अस्थायी सेवा केन्द्र तोकेर कर्मचारी खटाई सामाजिक सुरक्षा भत्ताको लागि विवरण नवीकरण गर्ने व्यवस्था मिलाएपछि नागरिकहरू लाभान्वित भएका छन् ।
बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, दाङ, काठमाडौँलगायतका स्थानमा रहेका नागरिकहरू अहिले नेपालगन्ज आएर विवरण नवीकरण गराइरहेका छन् । आज मंगलबार नवीकरण गराउने अन्तिम दिन हो । भदौ २६ गतेबाट सुरु गरिएको सेवा केन्द्रले सोमबारसम्म एक सय सात जना नागरिकले विवरण नवीकरण गराएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए । उनले मंगलबार नवीकरणका लागि अन्तिम दिन भएकोले सबै सोरुवासीहरू आएर विवरण नवीकरण गराउन आग्रह गरेका छन् ।
डाँगीले यसवर्षबाट डिजिटलरूपमा औँठाछाप सहितको विवरण अपडेट भएपछि मात्रै नवीकरण हुने व्यवस्था गरिएकोले ज्येष्ठ नागरिकहरू पनि आफैँ उपस्थित हुनुपर्ने बाध्यता रहेको बताए । तर, विकट भूगोल, सडकमार्गबाट आवतजावत गर्न जोखिमयुक्त सडक रहेको र हवाईमार्गबाट महंगो भाडा तिर्नुपर्ने अवस्था रहेकोले गाउँ कार्यपालिकाले निर्णय गरेर सबैलाई पायक पर्ने नेपालगन्ज एयरपोर्टमा अस्थायी सेवा केन्द्र सञ्चालनमा ल्याइएको बताए । यसबाट अपेक्षित रूपमा धेरै नागरिकहरू लाभान्वित भएको डाँगीले बताए ।
गाउँपालिकाले दुईजना वडा सचिवलाई नेपालगन्जमा पठाएर नवीकरणको काम गराइरहेको छ । वडा सचिव विक्रम यादवले जनप्रतिनिधिहरूले आफ्ना नागरिकहरूलाई सहजता प्रदान गर्न लिएको निर्णय लाभदायी प्रभावकारी देखिएको बताए । ‘गाउँपालिकावासीहरूले काठमाडौँबाट समेत यहाँ आएर नवीकरण गराइराख्नुभएको छ, यहाँ आसपासका जिल्लाबाट पनि धेरै मानिसहरू आएर नवीकरण गराउनुभएको छ,’ यादवले भने ।
हरेक आर्थिक वर्षको सुरुको दुई महिनाभित्र सामाजिक सुरक्षाका लागि विवरण नवीकरण गराउनुपर्ने नियम छ । गत आर्थिक वर्षमा तीन हजार बढीले सामाजिक सुरक्षा भत्ताको नवीकरण गराएकोमा यसवर्ष अहिलेसम्म करिब दुई हजार ६ सयले नवीकरण गराएका छन् । प्रमुख प्रशासकीय अधिकृत डाँगीले स्थानीय रेडियो र जनप्रतिनिधिमार्फत नागरिकहरूलाई नवीकरण गराउनेबारे सूचना प्रशारण गरिएको र बाहिर रहेका बायोमेट्रिक गर्न उपस्थित हुन नसक्ने, राष्ट्रिय परिचयपत्र नबनाएका र जन्मदर्ता नगरेका लाभग्राहीहरूको भने नवीकरण गर्न नसकिने उनले बताए । गाउँपालिकामा १४ हजार बढी जनसङ्ख्या रहेको छ ।









प्रतिक्रिया दिनुहोस्