कोहलपुर ।
जेनजी आन्दोलनकारीले कोहलपुर नगरपालिका आगजनी गर्दा अहिले सबै सवारीसाधनका भग्नावशेष मात्रै बाँकी छन् । नगरपालिकाभित्र पार्किङ गरेर राखेका दमकल र नगर प्रहरीको गाडीबाहेक सबै सवारीसाधन जलेर खरानी भइसकेका छन् । तर, कोहलपुर नगरपालिकाको भे१झ ३२९ नम्बरको क्रेटा कार भने जोगिएको छ । जुन क्रेटा कार खरिद गर्दादेखि नै विवादित बनेको थियो ।
२०७८ सालमा तत्कालीन नगरप्रमुख लुटबहादुर रावत हुँदा खरिद गरिएको क्रेटा कार सोबेला निकै विवादित बनेको थियो । जुन समयमा कोभिड महामारीमा अक्सिजन नपाएर मानिसहरू मरिरहँदा सवारीसाधन खरिद गरेको भन्दै निकै विवादित बनेको थियो । जुन कार अहिलेका नगरप्रमुख पूर्णप्रसाद आचार्य लगायतले प्रयोग गर्दै आएका छन् ।
नगरपालिकाका एम्बुलेन्सदेखि बाइकसमेत जलेको समयमा क्रेटा कार भने कसरी सुरक्षित रहन सफल भयो ? यो बुझ्न यही भदौ २४ गते फर्किनु पर्छ । जेनजी आन्दोलनका कारण कोहलपुर नगरपालिका परिसरमा पार्किङ गरिएका दुई सवारीसाधान बाहेक सबै आगजनीबाट खरानी बने । कार्यालय परिसरमा रहेका एम्बुलेन्सदेखि नगर प्रहरीका व्यक्तिगत मोटरसाइकलहरू जलेर अहिले भग्नावशेष मात्र बाँकी रहेका छन् ।
नगरपालिकामा अहिले सवारीसाधनका भग्नावशेष मात्रै पार्किङमा छन् । भदौ २३ गते जेनजी आन्दोलनको पहिलो दिन युवाहरू नगरपालिकामा घेर्न गएका थिए । त्यो समयमा नरगप्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगीता सुवेदी काम विशेषले नगरपालिकाभन्दा बाहिर थिए । निकै आक्रोशमा रहेका जेनजीहरूले नगरप्रमुख र उपप्रमुख खोजी गर्न थाले । नगर प्रहरीले सबैलाई रोक्ने प्रयास ग¥यो । केही समयपश्चात् नगरप्रमुख आचार्य उपस्थित भए । जेनजीहरूलाई सम्बोधनसमेत गरे । त्यो दिन जेनजीहरू शान्त बनेर घर फर्किए ।
काठमाडौँमा पहिलो दिनको प्रदर्शनमा १९ जना जेनजीहरूको प्रहरीको गोली लागेर मृत्यु भयो । दोस्रो दिन २४ गते कोहलपुरका जेनजीहरूको आन्दोलनले पनि उग्ररुप लियो । कोहलपुर चौराहाबाट सुरु भएको आन्दोलनमा सहभागी उनीहरूले कोहलपुरका विभिन्न सरकारी कार्यालयमा तोडफोड गर्न थाले । त्यसपश्चात् दिउँसो नगरपालिका पुगेका जेनजी आन्दोलकारीले नगरपालिका कब्जामा लिए ।
नगरपालिकाभित्र रहेका एम्बुलेन्सदेखि कार्यालयसम्ममा आगजनी गरे । पहिला सुरक्षा दिइरहेका नेपाल प्रहरी र सशस्त्र प्रहरी त्यहाँबाट भागेपछि कोहलपुर नगर प्रहरीले भिड नियन्त्रणमा लिन सकेन । त्यही समयमा नगरपालिकाका सामानहरू लुटपाट गर्नुका साथै आगजनी गरे। कार्यालय अहिले पूर्णरूपमा नष्ट बनेको छ । कार्यालयमा रहेका एक दर्जन सवारीसाधनहरू जलेर खरानी बने ।
त्यहाँबाट उत्तेजित भएको भिड उपप्रमुखको घर तोडफोड गर्दै कोहलपुर– ८ पिपिरीमा रहेको नगरप्रमुखको घरतर्फ सोझियो । नगरप्रुमख आचार्य र उनका गाडी चालक टंकप्रसाद पौडेलको घर नजिकै रहेको छ । त्यो दिन नगरप्रमुख आचार्यको घरमा क्रेटा कार पार्किङ गरेर राखिएकोे थियो । चालक पौडेलले मिसन टुडेसँग भने, ‘आन्दोलन भएपनि तोडफोड र आगजनी हुने सोचेको थिइनँ । पछि दिउँसो ३ बजे आन्दोलनकारी घर आगजनी गर्न आउने खबर थाहा पाउनासाथ क्रेटा गाडी लिएर गाउँको साथीको घरमा पार्किङ गरेर राखेँ ।’
कारलाई गाउँमा लगेर लुकाएर उनले बचाउन सफल भएका हुन् । जुन क्रेटा कार, नगर प्रहरीको एउटा गाडी र दमकलबाहेक नगरपालिकाका सबै सवारीसाधन अहिले जलेर नष्ट भएका छन् । पहिलेदेखि नै विवादित क्रेटा त्यहाँबाट नभगाएको भए खरानी हुने निश्चित थियो । नगर प्रहरीको एउटा गाडी र दमकलमा भने तोडफोड भने भएको छ ।









प्रतिक्रिया दिनुहोस्