कोहलपुर ।
कोहलपुर नगरपालिका–१० चटारस्थित बागेश्वरी एकेडेमी विद्यालयले ६१औँ राष्ट्रिय बालदिवस मनाएको छ । आइतबार विद्यालयले विविध कार्यक्रमको आयोजना गरेर राष्ट्रिय बालदिवस मनाएको हो । ‘बाल बालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारालाई आत्मसात् गर्दै विद्यालयले दिवस मनाएको छ ।
नर्सरीदेखि युकेजीसम्मको चित्रकला कार्यक्रम, १ कक्षादेखि ३ कक्षासम्म बालदिवस सम्बन्धित कविता वाचन कार्यक्रम र ४ कक्षादेखि ६ कक्षासम्म बालदिवस सम्बन्धित निबन्ध वाचन कार्यक्रम सम्पन्न भएको प्रधानाध्यापक श्रीधर गोराथोकीले बताए । उनका अनुसार कक्षा–७ देखि १० सम्मका विद्यार्थीहरुले एक दिनको दिवाखाजा बराबरको रकम संकलन र विद्यालयको आर्थिक सहयोगमा बैजनाथ–३ मा रहेको सभ्यताको घर (बाल आश्रममा) खाद्यान्न, लत्ताकपडा, कापी, कलम, पेन्सिल र अतिआवश्यक पर्ने सामग्रीहरू सहयोग हस्तान्तरण गरेका हुन् ।
बाल आश्रममा रहेका बालबालिकाहरुलाई विद्यालयका सञ्चालक समिति अध्यक्ष किशन गुरुङ, विद्यालयका प्रधानाध्यापक श्रीधर गोराथोकी, स्कुल क्याप्टेन दीक्षा खड्का र स्कुल भाइस क्याप्टेन दिपसना विश्वकर्माले हस्तान्तरण गरेका थिए । यस्तै कक्षा–११ र कक्षा–१२ सम्मका विद्यार्थीहरुले पनि आफ्नो एक दिनको दिवाखाजा बराबरको रकम संकलन गरि नेपालगन्जमा रहेको निलसागर आश्रममा अतिआवश्यक पर्ने खाद्यान्न तथा सरसामान हस्तान्तरण गरेको शिक्षक गणेश विष्टले जानकारी दिए ।
उनका अनुसार होटल व्यवस्थापन संकायका विद्यार्थी र अन्य विद्यार्थीहरुले बिहानको समयको खाना खुवाउने कार्यक्रम गरेका थिए ।बालदिवसका अवसरमा विद्यार्थीहरुका अन्तरनिहित प्रतिभालाई उजागर गर्दै प्रत्येक शुक्रबार गरिएका अतिरिक्त क्रियाकलापहरुमा पहिलो, दोस्रो, तेस्रो हुने विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र पनि वितरण गरिएको अतिरिक्त क्रियाकलाप संयोजक शेरबहादुर योगीले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्