नन्दराम जैशी । सुर्खेत ।
जेनजी आन्दोलनका क्रममा सुर्खेतमा तीन दर्जन बढी भवन ध्वस्त भएका छन् । आन्दोलनकारीले सुर्खेतको वीरेन्द्रनगरभित्र रहेका झण्डै तीन दर्जन बढी निजी र सरकारी भवनमा आगजनी तथा तोडफोड गर्दै ध्वस्त पारेका हुन् । निजी तथा सार्वजनिक भौतिक संरचना तोडफोड हुनेमा व्यक्तिगत घरहरूमध्ये वीरेन्द्रनगर–७ स्थित काँग्रेस उपसभापति पूर्णबहादुर खड्काको घर पूर्णरूपमा क्षति भएको छ । प्रहरीका अनुसार वीरेन्द्रनगर–७ स्थित डाक्टर डम्बर खड्काको घर पनि पुर्णरूपमा जलेको छ ।
वीरेन्द्रनगर–७ स्थित विष्णु खड्काको घर पूर्णरूपमा क्षति पुगेको छ भने वीरेन्द्रनगर–८ स्थित वीरेन्द्रनगर नगरप्रमुख मोहनमाया ढकालको घर आंशिकरूपमा जलेको छ । त्यस्तै व्यक्तिगत घर क्षति हुनेमा वीरेन्द्रनगर–४ स्थित कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको घर पूर्णरूपमा जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ । वीरेन्द्रनगर–४ स्थित नगर उपप्रमुख निलकण्ठ खनालको घर आंशिकरूपमा जलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । वीरन्द्रनगर–१०, स्थित विष्णु खड्काको माया पेट्रोल पम्पमा आंशिकरूपमा क्षति भएको छ ।
जेनजी आन्दोलनमा क्रममा राजनैतिक दलका पार्टी कार्यालयहरू पनि आगजनी तथा तोडफोड भएका छन् । आगजनी तथा तोडफोड गरिएको पार्टी कार्यालयहरूमा वीरेन्द्रनगर–६ स्थित नेकपा (एमाले)को पार्टी कार्यालय र सोही स्थान आसपास रहेका नेपाली काँग्रेसको पार्टी कार्यालय, नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय र राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालयमा तोडफोड र आगजनीले पूर्णरूपमा क्षति भएको छ ।
जेनजीको आन्दोलनले कर्णाली प्रदेश सरकारका कार्यालयहरू आगजनी तथा तोडफोड भएका छन् । जसमा वीरेन्द्रनगर–७ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आगजनीबाट आंशिक क्षति भएको छ भने वीरेन्द्रनगर–७ स्थित मुख्यमन्त्रीको सरकारी निवासमा तोडफोड र आगजनीले पूर्णक्षति भएको छ । यस्तै वीरेन्द्रनगर–७ मा रहेका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीको सरकारी निवासमा तोडफोड र आगजनीले पूर्णक्षति भएको छ भने जलस्रोत तथा ऊर्जा विकासमन्त्रीको सरकारी निवासमा तोडफोड गरिएको छ ।
मुख्यन्याधिवक्ताको कार्यालयमा आंशिक क्षति हुनुका साथै कर्णाली प्रदेशसभा भवनहरू जलेर पूर्णरूपमा क्षति भएका छन् । प्रदेश लेखा नियन्त्रक कार्यालय जलेर पूर्णरूपमा क्षति भएको प्रहरीले जनाएको छ । त्यस्तै संघीय तथा अन्य सार्वजनिक कार्यालयहरूमा पनि क्षति भएको छ । वीरेन्द्रनगर–८ स्थित वीरेन्द्रनगर नगरपालिकाको कार्यालयमा आंशिकरूपमा क्षति भएको छ भने वीरेन्द्रनगर–७ मै रहेका अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा आंशिकरूपमा क्षति भएको छ ।
नापी कार्यालयमा पूर्णरूपमा क्षति पुगेको छ भने उच्च सरकारी वकिल कार्यालयमा सामान्य क्षति भएको छ । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना आंशिक क्षति हुनुका साथै प्रदेशसभामा राखिएको एनआइसी बैंकको एटिएममा पूर्णरूपमा क्षति भएको छ । वीरेन्द्रनगर–६ स्थित सिटिहलमा आंशिकरूपमा क्षति भएको प्रहरीले जनाएको छ । वीरेन्द्रनगर–८ स्थित जिल्ला समन्वय समितिको कार्यालयमा आंशिक क्षति भएको छ भने वीरेन्द्रनगर नगरपालिका–१ नम्बर वडादेखि ११ सम्मका सबै वडा कार्यालयहरू जलेर ध्वस्त भएका छन् ।








प्रतिक्रिया दिनुहोस्