सामान फिर्ता गर्न कार्यालयहरूको चेतावनी



नेपालगन्ज ।

नेपालगन्जका सरकारी कार्यालयहरूले कार्यालयबाट लगिएका सामग्रीहरू फिर्ता गर्न आग्रह गरिरहेका छन् । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनीका बेला र त्यसपछि कार्यालयबाट लगिएका मेसिन तथा सामग्रीहरू फिर्ता गर्न आग्रह गर्दै त्यसो नगरेमा कानुनबमोजिम कारबाही गरिने कार्यालयहरूले चेतावनी दिएका छन् ।

नेपालगन्जस्थित भूमिसुधार तथा मालपोत कार्यालयले कार्यालयबाट लगिएका सरकारी एवं व्यक्तिगत सम्पत्तिहरू यथाशीघ्र कार्यालय वा नजिकको प्रहरी कार्यालयमा फिर्ता गर्न अनुरोध गरेको छ । अन्यथा त्यस्ता सामाग्रीहरू फिर्ता नगरेमा सम्बन्धित व्यक्तिहरूलाई प्रचलित कानुनबमोजिम कारबाही हुने सूचनामा भनिएको छ ।

साथै कार्यालयले उक्त चोरी तथा लुटपाटमा संलग्नहरूको फोटो, भिडिओ तथा त्यसका लिङ्कहरू भए कार्यालयको फेसबुक पेज अथवा दबलपभ२मयmिब।नयख।लउ मा पठाई अनुसन्धान कार्यमा सहयोग गर्न पनि अनुरोध गरेको छ । फोटो तथा भिडिओहरू पठाउने व्यक्तिहरूको नामथर ठेगाना गोप्य राखिने पनि कार्यालयले जनाएको छ ।

यस्तै सूचना आन्तरिक राजस्व कार्यालय नेपालगन्जले पनि जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले पनि प्रदर्शनका क्रममा सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी निकाय तथा निजी संरचनाहरूबाट लगिएका हातहतियार, सन्चार साधन, सवारी साधन, दस्तावेज, लिखत वा अन्य सामग्रीहरू लिएको वा कहिँकतै फेला पारेको भए यथाशीघ्र फिर्ता गर्न सूचना जारी गरेको छ ।

साथै नियन्त्रणमा लिइएका पोशाक तथा अन्य सामग्रीहरूको दुरुपयोग नगर्न पनि आग्रह गरिएको छ । साथै यस सम्बन्धका सूचनाहरू पनि प्रहरीलाई उपलब्ध गराइदिन अनुरोध गरिएको छ । प्रहरीले त्यसका लागि फोन नम्बर ९८५८०९०११० र ९८५८०९०९५५ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २९ गते आइतबार