जेनजी प्रदर्शनमा लुटपाट भएका सामानहरू फिर्ता गर्न आग्रह



कोहलपुर ।

राजस्व अनुसन्धान कार्यालय कोहलपुरले जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटपाट तथा चोरी भएका मालसामानहरू फिर्ता गर्न आग्रह गरेको छ । प्रदर्शनका क्रममा कार्यालयबाट बहुमूल्य वस्तु जिन्सी, नगद तथा राजस्व चुहावट कसुरमा नियन्त्रणमा लिइएका मालसामानहरू फिर्ता गर्न कार्यालयले एक सूचना जारी गर्दै आग्रह गरेको हो ।

प्रदर्शनका क्रममा विभिन्न मालसानहरू लुटपाट तथा चोरी गरेर व्यक्तिहरूले घर लैँजादै गरेको भिडिओ र फोटाहरू कार्यालयसँग सुरक्षित रहेकाले मालसामान तत्काल फिर्ता गर्न जारी सूचनामा उल्लेख गरिएको छ । मालसामान फिर्ता नगरे कानुनबमोजिम कारबाही हुने समेत कार्यालयले जनाएको छ ।

सामाजिक सञ्जालमा लुटपाट तथा चोरी गरिरहेका भिडिओ तथा फोटाहरू सार्वजनिक भएपछि कतिपयले मालसामान फिर्ता गर्न थालेका छन् । कोहलपुरमा सबैभन्दा धेरै राजस्व कार्यालयबाट लुटपाट तथा चोरी भएको थियो । २४ गते भएको जेनजीहरूको प्रदर्शनका क्रममा कार्यालयमा आगजनी हुँदा कार्यालय पूर्णरूपमा नष्टसमेत भएको छ । सोही मौका छोपेर कार्यालयमा रहेका नगद तथा जिन्सी मालसामानहरू चोरी तथा लुटपाट भएका हुन् ।

यस्तै इलाका प्रशासन कार्यालय कोहलपुरले पनि कार्यालयबाट लुटपाट तथा फेला पारेका सामानका साथै उपकरण फिर्ता गर्न आग्रह गरेको छ। जेनजी प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी हुँदा लुटपाट भएका सामाग्री फिर्ता नगरे कानुनी कारबाही गरिने जनाएको हो । प्रदर्शनका क्रममा आगजानी हुँदा कार्यालय र त्यहाँ रहेका कागजात सबै पूर्णरूपमा नष्ट भएका छन् ।

कार्यालयमा रहेका भौतिक संरचना काम नलाग्ने गरेर खरानी बनेको छ । जसका कारण कार्यालयले प्रदान गर्ने सेवा अहिले बन्द भएको जनाएको हो । त्यसैगरी कोहलपुर नगरपालिकाले पनि शनिबारै एक सूचना जारी गर्दै नगरपालिका र मातहतका कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, प्रिन्टर, जिन्सी सामाग्री तथा महत्वपूर्ण कागजातहरू लुटपाट भएको जनाएको छ ।

नगरपालिकाले लुटपाटमा संलग्न व्यक्तिहरूको सीसीटिभी फुटेज तथा फोटाहरू कार्यालयमा सुर क्षित भएका कारण तत्काल सम्बन्धितलाई उक्त सामानहरू फिर्ता गर्न आग्रह गरेको छ । साथै लुटिएका सामाग्रीहरू बजारमा बिक्री वितरण भइरहेका सूचना प्राप्त भएको तथा यस्ता लुटिएका सामानहरू खरिद बिक्री तथा सञ्चय नगर्न अनुरोध गर्दै त्यस्तो पाइएमा कानुनअनुसार आवश्यक कारबाही हुने पनि जानकारी दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २९ गते आइतबार