वीरेन्द्र जैसी । नेपालगन्ज ।
नेपालगन्ज भन्सारले आज आइतबारदेखि सबै किसिमको आयातनिर्यातको सेवा सुचारु गर्ने भएको छ । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भन्सारको यात्रु शाखा, अस्थायी पैठारी सवारीसाधन भन्सार कक्ष र मुद्दा शाखा सञ्चालनमा रहेको जमुनाह नाकास्थित पुरानो भवनमा आगजनी र लुटपाट भएको थियो । त्यसयता उत्पन्न परिस्थितिका बीच असुरक्षाको कारणले व्यापारीहरूले आयातनिर्यात गर्ने काम रोकेका थिए।
करिब दुई दिन जाँचपास भइसकेका पेट्रोलियम पदार्थका गाडीहरू पनि नेपाल भित्रिन सकेका थिएनन् भने अन्य आयातनिर्यात ठप्प भएको थियो । शुक्रबारबाट पेट्रोलियम पदार्थ आयात सुचारु भइसकेको भन्सार प्रमुख जनार्दन पौडेलले जानकारी दिए । ‘अब भारतबाट आएका गाडीहरूको नयाँ प्रज्ञापन भर्ने काम आजबाटै सुरु भइहाल्छ,’ पौडेलले भने ।
आजबाटै अन्य मालवस्तुको पनि आयातनिर्यातको काम खुलाइने उनले बताए । ‘अहिले क्षति भएको मुख्यगरी आइसिपीमा नभई यात्रु शाखा, सवारीसाधन भन्सार गरिने कक्ष र मुद्दा शाखामा हो । त्यसकारण आइसिपीबाट कामहरू सुचारु गर्न कुनै समस्या छैन । केही दिन असुरक्षाका कारणले सवारीसाधनहरू आवतजावत बन्द भएकोले काम रोकिएको थियो,’ पौडेलले मिसन टुडेसँग भने । पौडेलका अनुसार भन्सारमा आगजनी गरिएको दिनपनि साँझसम्मै काम भइरहेको थियो । तर बाटोमा असुरक्षा हुने जोखिमले गाडीहरू छुट्न नदिइएको उनले बताए ।
भन्सारका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार नेपालगन्ज भन्सारले एक दिनमा करिब पाँचदेखि ६ करोडको राजस्व संकलन गर्दै आएको छ । अब मुख्य आइसिपीबाट भन्सारको काम सुरु भएपछि मुद्दातर्फको कार्यालय सञ्चालन चाँडोभन्दा चाँडो गर्नेगरी उपायको खोजी भइरहेको उनले बताए । खड्काका अनुसार शनिबार मात्रै २३ बुलेट पेट्रोल नेपाल भित्रिएको र शुक्रबार पनि पेट्रोलियम पदार्थका गाडीहरू भित्रिएका थिए ।
‘अब आइतबारबाट व्यापारिक सामानहरू पनि आउन थाल्छन् भन्ने लागेको छ । अब नर्मल डेजस्तै हुन्छ होला,’ खड्काले भने । जमुनाहको यात्रु शाखामा कम्प्युटरहरू सेटअप गरेपछि काम सुचारु हुने अवस्था रहेको उनको भनाइ छ । भन्सार प्रमुख पौडेलले भने, ‘त्यहाँ केही कम्प्युटरहरू सेटअप गरेपछि काम सुचारु गर्न सकिने अवस्था छ । केही दिनमा काम सुचारु गर्नेगरी तयारी भइरहेको छ ।’
आपराधिक समूहले ग¥यो लुटपाट र आगजनी
लुटपाटबाट भएको क्षतिको विवरण अझै संकलन भइरहेको र कति क्षति भयो भन्ने यकिन भन्न नसकिने भन्सार प्रमुख जनार्दन पौडेलको भनाइ छ । मुद्दा शाखा पूरै जलाइएको छ । शाखामा आएका सबै फाइलहरू जलेका छन् । ‘मुद्दाको रेकर्ड पनि छैन । मुद्दा शाखा लोकल सर्भरमा नजोडिएकोले त्यो रेकर्ड पनि नरहेको अवस्था छ । अब यस्तो होला र जाला भन्ने कसैले कल्पनै गरेको थिएन । क्षति अंकमा भन्न चाहीँ गाह्रो छ,’ पौडेलले भने ।
पौडेलका अनुसार भन्सारमा आगजनीभन्दा बढी लुटपाटले क्षति भएको छ । भन्सारमा लिलामी र मुद्दाको लागि राखिएका झण्डै दुई सयभन्दा बढी सवारीसाधनहरू लुटेर लगिएका पौडेलको भनाइ छ । गोदाममा राखिएका मुद्दाका सामानहरू, लिलामीमा राखिएका सामानहरू सबै जलेर नष्ट भएका छन् भने कतिपय सामानहरू लुटपाट भएका छन् । यसैगरी कम्प्युटर, प्रिन्टर, ल्यापटप र फर्निचरहरू पनि लुटेर लगिएका छन् भने स्टाफहरूको कोठाका सामानहरू पनि लुटपाट भएका छन् । धेरै सामानहरू जलेर नष्ट भएका छन् ।
स्थायी पैठारी सुविधा शाखा र यात्रु शाखा पनि जलाइएको छ । सामानहरू लुटेर लगिएका छन् । लुटपाट र आगजनी गर्ने काममा आपराधिक व्यक्तिहरू संलग्न भएको पाइएको पौडेलको भनाइ छ । ‘उनीहरूले सबैभन्दा पहिले विद्युत् सप्लाइ र सीसीटिभीमा हमला गरेको देखिन्छ । सीसीटिभीको हार्डडिस्क नै लगेर गएको पाइएको छ । आपराधिक समूहले नै आगजनी गरेको देखिन्छ,’ पौडेलले भने ।
भन्सार कार्यालयले लगिएका कम्प्युटर, सवारीसाधन अन्य सामानहरू आफैँ आएर फिर्ता गर्न आग्रह गर्दै नगरे कानुनी कारबाहीमा लगिने चेतावनी दिएको छ । भन्सार प्रमुख पौडेलले लुटपाट र आगजनीमा संलग्नहरूको फोटो तथा भिडिओहरू संकलन भइरहेको पनि जानकारी दिए । यसैगरी जेनजी आन्दोलनका नाममा उक्त समूहले भन्सारका केही कर्मचारीहरू बस्दै आएको आवासमा समेत तोडफोड गरेको थियो ।
कार्यालयसँगै जोडिएको आवास भवनमा बसेकाहरू तोडफोड र आगजनीको सिकार बनेका हुन् । नेपालगन्ज भन्सारका लेखापाल महेन्द्र आचार्यले तोडफोड र आगजनीबाट आफू र आफ्नो परिवारलाई कुनै मानवीय क्षति नभएपनि ठूलो भौतिक क्षति भएको बताए । ‘हामी कार्यालयको आवास भवनमा बसोबास गर्दै आएका थियौँ । एकाएक कार्यालय र हामी बस्ने भवनमा आगजनी हुँदा यस्तो क्षती हुन पुग्यो । अहिले हामी आफन्तको घरमा सुरक्षितरूपमा बसेका छौँ ।’ उनले भने, ‘सम्पूर्ण घरायसी सामानसहित नागरिकता, शैक्षिक योग्यताका प्रमाणपत्र लगायतका महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन् ।’









प्रतिक्रिया दिनुहोस्