जेनजी आन्दोलनको आडमा ढालियो सेतु विकको शालिक



जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते नेपालगन्जको न्युरोडस्थित सेतु विकको शालिकमात्रै होइन नेपालगन्जका विभिन्न स्थानमा रहेका गणेशमान सिंह, वीपी कोइराला र पुष्पलाल श्रेष्ठको शालिकमा समेत तोडफोड गरिएको छ । विकले २०६२–०६३ को दोस्रो जनआन्दोलनका क्रममा २०६३ वैशाख ५ गते शहादत प्राप्त गरेकी थिइन् । सामान्य दलित समुदायकी महिला तथा गृहिणीसमेत रहेकी लोकतन्त्र प्राप्तिको आन्दोलनकी सहिद विकको शालिकमाथि पटकपटक प्रहार हुँदै आएको छ ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

जेनजी पुस्ताका युवाले गरेको आन्दोलनको आडमा नेपालगन्जको न्युरोडस्थित सेतु विकको शालिक ढालिएको छ । यसअघि पटकपटक शालिक ढाल्ने कोशिस भएपनि असफल भएकाहरुद्वारा यसपटक भने जेनजी आन्दोलनको काँधमा चढेर सेतु विकको शालिक ढालिएको हो ।जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते नेपालगन्जका विभिन्न संरचना र तोडफोड गर्ने क्रममा सेतु विकको शालिकलाई तोडफोड गरिएको हो । उक्त दिनमात्रै बाँके जिल्लाभरी झण्डै ४७ वटा भन्दा बढी सरकारी तथा निजी संरचना र शालिकहरुमाथि आगजनी, तोडफोड र लुटपाट गरिएको थियो । आन्दोलनकारीको निसानामा सेतु विक चोकसमेत प¥यो ।

त्यसअघि अहिले तोडफोड गरिएको सेतु विकको शालिक भएको स्थानमा ज्ञानेन्द्र शाहको शालिक थियो । ठाउँको नाम थियो ज्ञानेन्द्र चोक ।२०६२–०६३ को जनआन्दोलन उग्र बनेपछि त्यतिबेला ज्ञानेन्द्रको शालिक तोडफोड भयो । जनआन्दोलनको सफलतापश्चात् नागरिकस्तरबाट सेतु विकको सम्झनामा शालिक निर्माण गरिएको थियो । त्यसयता नेपालगन्जमा विभिन्न समयमा हुने आन्दोलनामा राजावादीहरुले सेतु विकको शालिकलाई निसाना बनाउँदै आएका थिए । पछिल्लोपटक २०७९ जेठ २० गते राजावादीहरुले नै सेतु विकको शालिकमा घन प्रहार गरेका थिए। सोहीदिन धम्बोझी चोकमा राजा वीरेन्द्रको शालिक स्थापना गर्न खोज्ने भिडले सेतु विक चोक पुगेर सेतुको शालिक तोडफोड गरेका थिए ।

शालिकको शिरमाथि घन प्रहार गरेर शालिकको टाउको फुटाएका थिए । त्योभन्दा पहिलापनि विभिन्न समयमा सेतु विकको शालिकमाथि प्रहार हुँदै आएको थियो । यसपटक भने उक्त शालिक पूर्णरुपमा ढालिएको छ । शालिक उखेलेर सडकमै फालिएको छ । बारम्बार राजावादीको निसानामा पर्दै आएकी सेतु न कुनै राजनीतिक दलको नेता थिइन् न त कुनै राजनीतिक दलमा आबद्ध । तर गणतन्त्र स्थापनापछि पहिला ज्ञानेन्द्रको शालिक भएको स्थानमा चोक बनेकै कारण राजावादीहरुले पटकपटक शालिक भत्काउने असफल प्रयास गर्दै आएका थिए ।यसपटक भने जेनजी आन्दोलनको आवरणमा राजावादीहरुको चोक भत्काउने निहित स्वार्थ पूरा भएको छ ।

भदौ २३ गते नेपालगन्जमा आन्दोलन शान्तपूर्ण रहेपनि दोस्रो दिनको आन्दोलनलाई ध्वंसात्मक बन्नुमा पनि राप्रपा र रास्वपाका उक्साहट व्यक्तिहरुको हात रहेको जेनजी अभियान्ताहरुले बताइरहेका छन् । त्यही विध्वंसको उपज हो, सेतु विकको शालिक तोडफोडको घटना । नेपालगन्जमा सेतु विकको मात्रै होइन अन्य धेरै त्यस्ता चोक रहेका छन् । त्यसमध्येको एक धम्बोझी चोक हो । यो चोकमा राजावादीहरुले पटकपटक राजा वीरेन्द्रको शालिक राख्ने प्रयास गर्दै आएका थिए । उक्त चोकमा हाल नेपालको झण्डा रहेको छ । उक्त सडकमा लहरै गणेशमान सिंह, वीपी कोइराला र पुष्पलाल श्रेष्ठको शालिक राखिएका थिए । यसपटकको जेनजी आन्दोलनमा ती सबै शालिकहरुमा पूर्णरुपमा क्षति पु¥याइएको छ ।

व्यवस्था परिवर्तनका लागि ज्यानको आहुति दिएकी सेतु

बाँकेको साविक बागेश्वरी गाविस–३ बोरिङ गाउँ हालको ‐खजुरा गाउँपालिका वडा नम्बर ३)की सेतु विकले २०६२–६३ सालमा भएको दोस्रो जनआन्दोलनमा ज्यान गुमाएकी थिइन् । त्यतिबेला नेपालगन्जमा आन्दोलन उग्ररुपमा चलिरहेको थियो । व्यवस्था परिवर्तनको उक्त आन्दोलनमा एउटा दलित, मजदुर र गृहिणी रहेकी सेतु स्वतस्र्फूत आन्दोलनमा सरिक भएकी थिइन् । राजनीतिक चेत भएकी तर कुनैपनि राजनीतिक दलमा आबद्ध नरहेकी उनै सेतुको शालिक भने बारम्बार राजावादीहरुको निसाना बन्दै आएको छ । जनआन्दोलनकै क्रममा २०६३ वैशाख ५ गते सेतु विकले सहादत प्राप्त गरेकी थिइन् ।

दोस्रो जनआन्दोलनको उत्कर्षको बेला थियो । नेपालगन्जको विभिन्न ठाउँहरूमा ठूला जुलुसहरू निस्किरहेका थिए । तीमध्ये हजारौँको भीडमा एउटामा सेतु विक पनि थिइन् । जुलुसमा राजतन्त्र र तत्कालीन राजा ज्ञानेन्द्र शाहका विरूद्धमा नारा लागेको थियो । भिडले ज्ञानेन्द्रको शालिक भत्काउन खोज्यो । सो आन्दोलनको एक सदस्य सेतु पनि थिइन् । उक्त दिन हजारौँको जुलुस तितरबितर पार्न प्रहरीले अश्रुग्याँस चलायो, हवाई फायर ग¥यो । प्रहरीले प्रहार गरेको अश्रुग्याँसको एउटा सेल सेतु विकलाई लाग्यो । अश्रुग्याँसको सेल लागेपछि उनी बेहोस भइन् । जुलुसमा जम्मा भएका केहीले उनलाई नजिकैको भेरी अस्पताल पु¥याए । सेतुको उपचार त्यहाँ हुन नसक्ने अवस्था भएपछि भारतको लखनउ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भयो ।

उनी दोस्रो जनआन्दोलनमा सहीद हुनेहरूमध्येमा भुइँमान्छे थिइन् । आन्दोलनमा सेतु मारिँदा दुईवर्षे दुधे बालककी आमा थिइन् । त्यसदिन उनी छोरालाई घरमै छाडेर आन्दोलनका लागि खजुराबाट नेपालगन्ज आइपुगेकी थिइन् । २०६३ वैशाख ५ को जनप्रदर्शन सुर्खेतरोड, सदरलाइन हुँदै न्यूरोडमा केन्द्रित भएर ज्ञानेन्द्रको शालिक भत्काउन खोज्दाको प्रहरी दमनको शिकार भइन् सेतु । मजदुरी गरेर परिवार पाल्ने एउटी विपन्न दलित महिला लोकतन्त्र र जनअधिकार प्राप्तिको आन्दोलनमा सहीद भइन् ।

त्यतिबेला उनका पति शेरबहादुर विक भने रोजगारीको लागि भारतको गुजरातमा थिए । आन्दोलनको क्रममा जहाँ उनी ढलिन्, त्यसको भोलिपल्टै प्रदर्शनकारीले त्यो चोकको नाम सेतु विक चोक राखे । जनताले ज्ञानेन्द्र चोकलाई सेतु विक चोकमा परिणत गरे । त्यतिबेलादेखि नै राजावादीहरुको निसानामा थियो सेतु विक चोक ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २८ गते शनिबार