वीरेन्द्रनगर ।
जेनजी कर्णाली प्रदेशले वर्तमान समस्या समाधानका लागि नौबुँँदे माग राखेको छ । जेनजी कर्णालीले विज्ञप्ति जारी गर्दै आफ्ना माग सार्वजनिक गरेको हो । जेनजी कर्णालीले बिहीबार बिहान साढे ११ बजे सार्वजनिक गरेका मागमा वर्तमान संसद् विघटन गरी जेनजीको समर्थनमा अन्तरिम सरकार गठन गर्नुपर्ने उल्लेख छ ।
यस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, अभिभावकका रूपमा राष्ट्रपतिको सट्टा राजालाई राजगद्दी आरोहण, प्रदेश संरचना खारेज गरी स्थानीय र संघ मात्र राख्ने र नेपाललाई पाँच विकास क्षेत्र, चौध अञ्चल र ७५ वटा जिल्ला कायम गर्नुपर्ने माग छ ।
त्यस्तै जेनजी पुस्ता समेट्ने गरी ६ महिनाभित्र संघीय संसद्को निर्वाचन घोषणा, ज्ञान सीप र क्षमताका आधारमा रोजगारीको ग्यारेन्टी, निजामती कर्मचारीको पाँँच–पाँच वर्षमा परीक्षा लिएर योग्यताका आधार घटुवा र बढुवाको व्यवस्था गरिनुपर्ने, कुनै पनि पत्रकार, चिकित्सक, शिक्षक, विद्यार्थी र कर्मचारीको दलीय संगठनमा निषेध लगाउनुपर्ने माग छ । यदि यी माग पूरा नभई वार्तामा कुनै किसिमको राजनीति र भेदभाव गरिए फेरि आन्दोलनमा जान बाध्य हुने जेनजी कर्णालीका सुनील शाहीको भनाइ छ ।








प्रतिक्रिया दिनुहोस्