कोहलपुर ।
कोहलपुर नगरपालिकाभित्र रहेका सरकारी संरचनामा जेनजी प्रर्दशनबाट भएको क्षतिको स्थलगत अनुगमन गरिएको छ । इलाका प्रहरी कार्यालय र कोहलपुर नगर प्रहरीको संयुक्त टोलीले नगरपालिकाभित्र संरचनामा भएका क्षतिको स्थलगत अनुगमन गरेको हो ।प्रर्दशनकारीहरूको उग्ररूपले सार्वजनिक संरचनामा ठूलो क्षति भएको बताइएको छ ।
कोहलपुर नगरपालिका, केही वडा कार्यालय र अन्य सरकारी कार्यालय आगजनी हुँदा पूर्णरूपमा नष्ट भएको पाइएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले मिसन टुडेलाई जानकारी दिए । नगर प्रहरीले सरसफाइ गर्ने र आगो नियन्त्रण लिने काम गरेको उनको भनाइ छ ।नगरपालिका भवनसमेत प्रर्दशनकारीहरूले आगजनी गर्दा पूर्णरूपमा नष्ट भएको बताउँदै उनले सामान्यरूपमा सरसफाइ गरिएको बताए ।
सवारीसाधान र आगजनी भएका कागजातहरू हटाएर सरसफाइ गर्ने काम भएको उनको भनाइ छ । इलाका प्रहरी र नगर प्रहरीले संयुक्त रूपमा दिनभर स्थलगत अनुगमन गरिएको उनले बताए । नगरका वडा नं. ८ र ११ को वडा कार्यालयमा आगजनीबाट पूर्णरूपमा नष्ट भएका छन् । कार्यालयमा रहेका कम्प्युटर, कुर्सी, टेबल, फाइलहरू पूर्णरूपमा जलेर नष्ट भएका छन् ।
स्वास्थ्य शाखा, महिला बालबालिका शाखा, रोजगार शाखा, नगरस्तरीय युवा क्लब लगायत पूर्णरूपमा नष्ट भएका छन् । आगजनीको कारण कार्यालयहरू खण्डहर बनेका हुन् । स्थलगत अनुगमन भएपनि क्षतिको यकिन भने अझै हुन नसकेको उनको भनाइ छ । उनले भने, ‘नयाँ सरकार नबनेसम्म त्यहाँको क्षतिको विवरण संकलन र भवन निर्माणको कार्य अघि बढ्ने सम्भावना भने छैन् । आगजनी भएका संरचनाहरू पुनः सञ्चालनमा ल्याउने स्थिति पनि छैन् ।’









प्रतिक्रिया दिनुहोस्