लुम्बिनीका चार जिल्लाबाट भागे कैदीबन्दीः धमाधम पक्राउ गर्दै प्रहरी, कोही आफैँ फर्किँदै



कोहलपुर (बाँके) ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये चार जिल्लास्थित कारागारबाट कैदीबन्दी भागेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार बिहीबारसम्म प्रदेशका चार जिल्लाबाट कैदीबन्दी भागेका हुन् । ती जिल्लाबाट सयौँको सङ्ख्यामा कैदीबन्दीहरू भागेका कार्यालयले जनाएको छ । कैदी भाग्ने जिल्लाहरूमा प्रदेश राजधानीसमेत रहेको दाङ, नवलपरासी, कपिलवस्तु र बाँके रहेका छन् ।

बिहीबार दिउँसो बाँके कारागारमा रहेका कैदीबन्दीहरूले भाग्ने प्रयास गरे । सयौँको सङ्ख्यामा रहेका कैदीबन्दीहरूले कारागार परिसरमै आगो बालेर भाग्ने प्रयास गरेका थिए । बाहिर निस्कन हुलदंगासमेत गरेका उनीहरूलाई नेपाल प्रहरी र नेपाली सेनाले बाहिर निस्कन दिएनन् ।सो क्रममा कैदीबन्दी र प्रहरीबीच झडप नै भएको थियो । झडपका क्रममा स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली नै प्रहार गर्नुप¥यो । गोली प्रहारबाट कैलाली घोडाघोडी नगरपालिका–२ का २४ वर्षीय उपेन्द्र बम घाइते भए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी दीप पालतीका अनुसार कैदीबन्दीले गेट तोडेर भाग्न खोज्दा सुरक्षाकर्मीले गोली चलाएका थिए । गोली लागेपछि उनलाई अस्पताल लगिएको छ । उनको अवस्था अहिले खतरामुक्त रहेको छ । उनको भेरी अस्पतालमा उपचार भइरहेको छ । नेपाली सेना र सशस्त्र प्रहरीले कारागारमा सुरक्षा दिइरहेको छ । कारागारमा ७७० जना कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ ।
नवलपरासीको जिल्ला कारागारबाट ५४६ कैदीबन्दी भागेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी वीरदत्त पन्तका अनुसार जिल्लाको एकमात्र कारागारमा ५७५ जना थिए । अहिलेसम्म १३ जना सम्पर्कमा आएका छन् । ‘कार्यालयले सम्पर्कमा आउन सूचना निकालेको छ । खोजीकार्यसमेत भइरहेको छ । प्रहरीका सम्पूर्ण युनिट प्रयोग गरिरहेका छौँ,’ उनले भने । कपिलवस्तु कारागारमा रहेका ४५९ जनामध्ये ४३० जना कैदीबन्दी भागेका थिए । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रितेन्द्रकुमार सिंहले बिहीबार साँझसम्म ९१ जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको बताए ।

तीमध्ये ७५ जना कपिलवस्तु कारागारमै कैद भुक्तान गरिरहेका र बाँकी १६ जना देशका अन्य कारागारमा कैद भुक्तान गरिरहेकालाई पक्राउ गरिएको उनले बताए । उनीहरू केन्द्रीय कारागार सुन्धारा, नख्खु कारागार र कास्की कारागार लगायतबाट भागेका र उनीहरूलाई सम्बन्धित जिल्लामा पठाउने प्रक्रियामा रहेको उनले बताए । दाङमा दुई वटा कारागार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुईमध्ये तुलसीपुर कारागारमा ४६९ जना कैदीबन्दी रहेका थिए । तीमध्ये २५३ कैदीबन्दी भागेको डीएसपी चक्रबहादुर शाहले बताए । बिहीबार साँझसम्म ६१ जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको डीएसपी शाहले बताए । अहिले कारागारभित्र २७५ जना कैदीबन्दै मात्रै रहेका छन् ।

यसैगरी, प्रहरी प्रधान कार्यालयले जेल तथा सुधारगृहबाट भागेका÷निस्किएका कैदीबन्दीलाई फर्किन अपिल गरेको छ । बिहीबार दिउँसो विज्ञप्ति जारी गरी प्रहरीले भागेका कैदीबन्दीलाई प्रहरी÷प्रशासनसँग सम्पर्क गर्न पनि भनेको हो । कारागारबाट भागेका कैदीबन्दी मध्ये १४५५ जनालाई सेना, प्रहरी र सशस्त्र प्रहरीले देशका विभिन्न भागबाट पक्राउ गरेको छ ।

यसमध्येकै केही आफैँ सम्पर्कमा आएपनि अधिकांशलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेले जानकारी दिए । जेनजीको प्रदर्शनपश्चात मंगलबार र बुधबार गरी देशका विभिन्न कारागारमा रहेका १३ हजारभन्दा बढी कैदीबन्दी भागेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २७ गते शुक्रबार