आगजनी, तोडफोड र लुटपाटबाट कोहलपुरमा अर्बौँको क्षती



गणेश रावत । कोहलपुर ।

इलाका प्रशासन कार्यालय कोहलपुरमा प्रत्येक दिन सयौँको सङ्ख्यामा सेवाग्राहीहरूको भिड लाग्ने गरेको हुन्थ्यो । बिहान ९ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालयमा सोमबारसम्मै सेवाग्राहीको चाप बाक्लो हुने गथ्र्याे । सेवाग्राहीलाई सेवा दिन कर्मचारीलाई हम्मेहम्मे पथ्र्याे ।
तर, मंगलबार साँझ कार्यालय जलेर पूर्णरूपमा नष्ट भयो । जेनजी पुस्ताको प्रदर्शनले कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी गर्दा पूर्णरूपमा नष्ट भएको हो । आगजनी हुँदा कार्यालयमा रहेका महत्वपूर्ण डकुमेन्ट र कागजातहरू जलेर पूर्णरूपमा नष्ट भएका छन् ।

आगजनी हुँदा कागजातदेखि भौतिक संरचना काम नलाग्ने गरेर क्षति भएका हुन् । लामो समयदेखि कोहलपुर नगर विकास समितिको घरमा कार्यालय भाडामा सञ्चालन हुँदै आएको थियो । प्रर्दशनकारीहरूको उग्ररूपले कार्यालयमा आगजनी हुँदा पूर्णरूपमा जलेर नष्ट भएको हो । नेपाली सेनाले सुरक्षाको कमाण्ड लिएपछि अवस्था सामान्य बन्दै गएको छ । नेपाली सेनाले कार्यालयको सुरक्षा दिइरहेको छ । कार्यालयमा रहेका कागजात, भौतिक संरचना र कम्प्युटरलगायत सबै पूर्णरूपमा जलेर खरानी भएका छन् ।

यस्तै राजस्व कार्यालय कोहलपुरमा सबैभन्दा धेरै क्षति भएको देखिन्छ । कार्यालयले नियन्त्रणमा लिएका सवारीसाधन, खाद्यान्नलगायत भौतिक संरचना प्रर्दशनकारीले जलाएर नष्ट पारेका छन् । जसकाकारण कार्यालयमा रहेका खाद्यान्न, लत्ताकपडा र सवारीसाधनलगायत जलेर नष्ट भएका हुन् । कार्यालयमा रहेका खाद्यान्न र लत्ताकपडालगायत सामाग्रीहरू समेत प्रदर्शनमा घुसपैठ भएर लुटपाट समेत गरेका छन् । त्यहाँबाट सुन तथा केही करोड नगद रूपैयाँ समेत लुटपाट भएको बताइएको छ । प्रहरीहरूले नियन्त्रणमा लिन नसकेपछि प्रर्दशनकारीले आफ्नो हातमा लिएर चोरी र आगजनी गरेका छन् ।

जेनजीहरूको आक्रोसित भिडले सरकारी भवनहरू कब्जा लिएर आगजानी गरेका थिए । त्यसको फाइदा उठाउँदै लुटपाट गर्ने समूहले कार्यालयमा रहेका कम्प्युटरदेखि अन्य सामाग्री चोरेर भागेका थिए । नेपाल प्रहरीले पनि सुरक्षा दिन नसक्दा उनीहरूले त्यसको फाइदा उठाएर लुटपाट गरेका हुन् । आगजनी भएर सवारीसाधनदेखि कागजातहरू खरानी भएका छन् । आगजनीबाट करोडौँको क्षतिसमेत भएको बताइन्छ। नेपाली सेनाले सुरक्षा कमाण्ड लिएदेखि लुटपाट र थप आगजनी हुन भने पाएको छैन् । त्यसैगरी नजिकै रहेको कोहलपुर नगर विकासको कार्यालयसमेत आगजनी गरिएको छ ।

यस्तै यातायात सेवा कार्यालय कोहलपुरमा समेत तोडफोड भएको थियो । कार्यालयमा प्रर्दशनकारीहरूले तोडफोड गर्नुका साथै कार्यालयमा रहेका कम्प्युटरसमेत नष्ट पारेका छन् । केही महिना अघिदेखि मात्रै सञ्चालनमा आएको कार्यालयमा पनि ठूलो क्षति भएको भएको छ ।कार्यालयमा चारैतिरका सिसाहरू फुटाउनुका साथै कार्यालयमा रहेका विद्युतीय उपकरण, कुर्ची र टेबलहरू तोडफोड गरेर नष्ट पारिएको छ। नेपाली सेनाले भने बुधबार कार्यालयमा ताल्चा लगाएर थप क्षति हुन नदिन सुरक्षामा खटिएको थियो ।

त्यस्तै कोहलपुरस्थित नापी र मालपोत कार्यालयमा तोडफोड हुँदा क्षति भएको छ । कोहलपुर गोलपार्कनजिक रहेका नापी तथा मालपोत कार्यालयमा प्रर्दशनकारीले ढुङ्गामुढा र तोडफोड गर्दा भौतिक संरचनामा क्षति पुगेको हो । सरकारी कार्यालय भएपनि नापी र मालपोत भाडाको घरबाट सञ्चालन हुँदै आएका थिए । प्रर्दशनकारीहरूको उग्ररूपले घरका सिसाहरू र बोर्डहरू समेत क्षति भएका छन् । कार्यालयमा तोडफोड भएपनि अन्य क्षति भने भएको छैन् । यस्तै नेपाल विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्रमा समेत तोडफोड गरेका थिए । कार्यालयमा नाराबाजी गर्नुका साथै तोडफोड गरेका हुन् । कार्यालयमा सामान्य क्षति भएको थियो ।

स्थानीय सरकारका भौतिक संरचनामा क्षति

कोहलपुर नगरपालिका जेनजी प्रदर्शनकारीहरूले लगाएको आगजनीबाट पूर्णरूपमा जलेर नष्ट भएको छ । कार्यालयको मूल गेटदेखि कार्यालयका सम्पूर्ण भौतिक संरचना र सवारीसाधनहरू नष्ट भएका छन् । नगर सभाहल, कार्यपालिका भवन, कम्प्युटरदेखि सबै कागजातहरू जलेर खरानी भएका हुन् । त्यसलाई यही अवस्थामा प्रयोगमा ल्याउन सक्ने अवस्था भने छैन् ।

नगरपालिकाले सबै सेवा स्थगन भएको सूचनासमेत बुधबार जारी गरेको थियो । प्रर्दशनकारीले नगरपालिकाभित्रका बोटबिरुवा, नगर प्रहरीको बस्ने कक्ष र क्यान्टिनसमेत जले नष्ट भएका छन् । त्यस्तै कोहलपुर नगरपालिका वडा नम्बर ८ को कार्यालयमा पनि तोडफोड र आगजनी गरिएको छ । आगजनी हुँदा कार्यालयमा रहेका कागजात र संरचनाहरू पूर्णरूपमा क्षति भएका छन् । कोहलपुर–११ को वडा कार्यालयमा समेत तोडफोड र आगजनी भएको छ ।

जसकाकारण कार्यालयमा रहेका भौतिक संरचनामा क्षति पुग्नुका साथै कागजातहरू लगायतका सामानहरू समेत जलेर नष्ट भएका छन् । मंगलबार लागेको आगो बुधबारमात्रै कोहलपुर नगर प्रहरीले दमकल ल्याएर नियन्त्रणमा लिएको थियो । प्रर्दशनकारीको आक्रमणले दमकलमा समेत केही क्षति पुगेको छ । वडा कार्यालयको संरचना भने पूर्णरूपमा नष्ट भएको छ ।

नगरका विभिन्न शाखामा क्षति

कोहलपुर नगरपालिका महिला बालबालिका शाखा, रोजगार शाखा र नगरस्तरीय युवा क्लब सञ्जालको कार्यालय एउटै भवनमा रहेका थिए । कोहलपुर नगर विकास समितिको एउटै भवनमा तीनवटा कार्यालय थिए । कोहलपुर चौराहादेखि अघि बढेको प्रदर्शनले अग्ररुप लिँदै कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् ।

तीन वटा कार्यालय रहेको उक्त भवनमा प्रर्दशनकारीले आगो लगाएर भवन पूर्णरूपमा जलेर नष्ट भएको हो । कार्यालयमा रहेका कागजात र संरचनाहरू पूर्णरूपमा नष्ट भएका छन् । बुधबार बिहानसम्म कार्यालयमा आगो लागिरहेको थियो । दिउँसो मात्रै नगर प्रहरीले दमकल ल्याएर आगो नियन्त्रणमा लियो । नेपाली सेनाले गेटमा ताल्चा लगाएर सुरक्षाको गरिरहेको थियो ।

निजी संरचनामा क्षति

कोहलपुर नगरपालिका नगरप्रमुख पूर्णप्रसाद आचार्यको घरमा ताडफोड र आगजनी गरिएको छ । जेनजी पुस्ताहरूको उग्रप्रर्दशनले नगरप्रमुख आचार्यको घरमा आगजनी गरेर घर नै नष्ट बनाएका हुन् । घरमा रहेका सम्पूर्ण सामानहरू जलाइएको छ । घरमा आगजनी हुँदा लत्ताकपडा र विभिन्न सामाग्रीहरू घरबाट निकालेर तोडफोड गर्नुका साथै बाहिर फ्याँकेका थिए ।

यस्तै उपप्रमुख संगीता सुवेदीको घरमा समेत तोडफोड गरिएको छ । प्रर्दशनकारीहरूले उपप्रमुख सुवेदीको घरमा तोडफोड गर्दा घरमा सामान्य क्षति पुगेको छ । त्यस्तै कोहलपुर–११ की वडाध्यक्ष कल्पना शर्माको घरमा समेत तोडफोड भएको छ । उनको निजी निवासमा तोडफोड गर्दा घरका सिसाहरू फुटेका छन् ।

पार्टीका कार्यालयमा तोडफोड

जेनजी प्रर्दशनकारीहरूले राजनीतिक दलका पार्टी कार्यालय तोडफोड गरेका छन् । उनीहरूले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड गरेका हुन् । प्रर्दशनकारीहरूले पार्टीका बोर्डहरू च्यातेर फ्याँक्दै घरहरूमा तोडफोड गरेका थिए । अन्य पार्टीका कार्यालयमा भने क्षति पु¥याइएका थिएनन् । मंगलबारको आगजनी, तोडफोड र लुटपाटबाट कोहलपुर क्षेत्रमा मात्रै अर्बौँ रूपैयाँ बराबरको क्षति भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २६ गते बिहीबार