सुनसान वीरेन्द्रनगर, ठप्प व्यवसाय



नन्दराम जैशी । सुर्खेत ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले लगाएको कफ्र्यू आदेश कार्यान्वयन गर्न नेपाली सेनाले कडाइ गरेपछि बुधबार दिनभर वीरेन्द्रनगर बजार सुनसान बन्यो । सेना र प्रहरीको बाक्लो उपस्थितीमा कफ्र्यू कडाइ गरिएपछि सबै प्रकृतिका व्यवसायसमेत ठप्प बनेका थिए । मंगलबार जेनजीको आन्दोलनले भौतिक संरचनादेखि मानवीय क्षति पु¥याएपछि होटल तथा पसलहरू बिहानैदेखि बन्द भएका हुन् । व्यवसायीहरूले आफ्नो सुरक्षालाई मध्येनजर गर्दै पसलहरू बन्द गरेका थिए ।

देशभर आन्दोलनले शिथिल भएको बेला सुर्खेतमा थप क्षति हुन नदिन कफ्र्यू आदेश कडाइका साथ पालना गरिएको थियो । सेना र प्रहरीको बिहानैदेखि हरेक चोक चोकमा बाक्लो उपस्थिति थियो । तर पछिल्लो विषम् परिस्थितिलाई मध्येनजरगरी सुशासित, विवेकशील र सम्यमित भएर सौहार्द वातावरणमा आफ्नो व्यवसाय, उद्योग सञ्चालन गर्न पाउनुपर्ने व्यापारीहरूले बताएका छन् । आन्दोलनमा सरकारी तथा निजी भवन आगजनीका कारण कर्णाली प्रदेशका मन्त्रालय तथा केही सरकारी कार्यालयहरू र सबै विद्यालयहरू बन्द रहेका थिए ।

उता हुम्ला जिल्ला सदरमुकाम सिमिकोटस्थित निजी विद्यालय, प्रत्येक वडा र गाउँपालिका कार्यालयमा शोक बनाउने भन्दै बिदा दिइएको गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए । अन्य सरकारी तथा गैरसरकारी कार्यालयसमेत बुधबार हुम्लामा बन्द रहेको उनले जानकारी दिए। हुम्लाकै चंखेली गाउँपालिकाले पनि शोक बिदा भन्दै बुधबार बन्द गरेको छ भने कर्णाली प्रदेशका अन्य जिल्लामा पनि बुधबार दिनभर बन्द रहेका थिए । सबै जिल्ला सदरमुकाम बन्द रहेपनि अत्यावश्यकका सामान खरिद बिक्री गर्न व्यवसाय खोल्ने र बन्द गर्ने गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २६ गते बिहीबार