भ्रष्टाचारको विरोध र सुशासनका लागि भनेर सडकमा आएको २८ वर्षमूनिको युवा पुस्ता अर्थात् जेनजी भनिने पुस्ताले केपी शर्मा ओलीको सरकार ढालेको छ । केपी शर्मा ओलीको सरकारले सोमबार जेनजीले गरेको आन्दोलनमा गोली चलाएर १९ जनाको हत्या गरेको थियो । अब नयाँ सरकार गठन गर्ने र जेनजीले उठाएका मागहरूमा गम्भीर विमर्श गरी देशलाई सही दिशामा अघि बढाउने अवसर सबैका सामू आएको छ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
भ्रष्टाचारको विरोध र सुशासनका लागि भनेर सडकमा आएको २८ वर्षमूनिको युवा पुस्ता अर्थात् जेनजी भनिने पुस्ताले केपी शर्मा ओलीको सरकार ढालेको छ । केपी शर्मा ओलीको सरकारले सोमबार जेनजीले गरेको आन्दोलनमा गोली चलाएर १९ जनाको हत्या गरेको थियो । अब नयाँ सरकार गठन गर्ने र जेनजीले उठाएका मागहरूमा गम्भीर विमर्श गरी देशलाई सही दिशामा अघि बढाउने अवसर सबैका सामू आएको छ ।
सोमबार देशैभर शान्तिपूर्ण आन्दोलनमा होमिएका जेनजी पुस्ताका युवाहरूको आन्दोलनमा राज्यपक्षले १९ जना युवाहरूको गोली हानी हत्या ग¥र्याे । आन्दोलनमा उत्रिएका जेनजी पुस्तामाथि राज्यपक्षबाट चरम दमन भएपछि देशैभरका नागरिकहरूले जेनजी पुस्ताको आन्दोलनलाई साथ दिए । जेनजी पुस्ताले पनि काठमाडौँमा आक्रोश मिश्रित प्रदर्शन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । राजीनामापछि पनि राष्ट्रपति रामचन्द्र पौडेलले अर्काे सरकार गठन नभएसम्मका लागि ओलीकै नेतृत्वको सरकारले काम गर्ने निर्णय गरे । तर देशभरबाट उक्त निर्णय पनि परिस्थितिको मूल्यांकन नगरीकनै भएको भन्दै चर्काे विरोध भयो ।
जेनजी पुस्ताको आन्दोलनका क्रममा काठमाडौँमा नेता र तिनका सम्पत्ति संरचनाहरू आन्दोलनकारीका निशानामा परे । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्तिलगायतहरूमाथि कुटपिट भयो । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्निको पनि कुटपिटमा परी ज्यान गएको भनिएको छ । यसबाहेक अरु नेताहरूमाथि पनि कुटपिट भएको भनिएपनि त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । देशको गृह प्रशासनले नै आन्दोलनमा हात खडा गरेपछि र सेनाले पनि केपी शर्मा ओलीले राजिनामा नदिने भनेर लिएको अडानलाई नस्वीकारेपछि अन्ततः राजिनामा दिने निर्णयमा पुगेका थिए ।
नेपालको इतिहासकै एक सन्की, तानाशाह र अलोकतान्त्रिक चरित्रका प्रधानमन्त्री केपी शर्मा ओलीको अदूरदर्शी अडान र कृत्यले देशले आफ्ना ऐतिहासिक सम्पदाको क्षति व्यहोर्नुपरेको छ । देशवासीका महत्वपूर्ण तथ्यांकहरू नष्ट हुँदा त्यसले निम्त्याउने संकटको गहिराई अहिल्यै अनुमान गर्न मुस्किल छ ।
नेपाली सेनाले आन्दोलनरत पक्षलाई वार्तामा आउन अपिल गरेको छ । सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रका नाममा सम्बोधन गर्दै यस विषयमा परिस्थितिबाट राष्ट्रलाई निकास दिनको लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रमहरू स्थगन गरी वार्तामा आउन आह्वान गरेको छ । उनले हालै देशभर भइरहेका आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक संवेदना र सहानुभूति पनि प्रकट गरेका छन् ।
उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै शान्ति, सुरक्षा, अमनचयन र राष्ट्रिय एकता कायम राख्नु सबै नेपालीको साझा दायित्व रहेकोमा जोड दिएका छन् । उनले भने, ‘मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ नेपाली सेना सदैव प्रतिबद्ध रहन्छ ।’
सिग्देलले आन्दोलनका कारण राष्ट्रिय तथा ऐतिहासिक सम्पदा, सार्वजनिक तथा नागरिक सम्पत्ति, आम नागरिक, मित्रराष्ट्रका कूटनीतिक नियोग तथा सरोकारवालाको सुरक्षामा प्रतिकूल असर नपार्ने कुरामा ध्यान दिनुपर्ने बताएका छन् । उनले मातृभूमि र देशको जयगान गर्दै राष्ट्रिय सद्भाव र एकताका लागि सबैलाई एकसाथ अगाडि बढ्न आग्रह पनि गरेका छन् ।
यता, जेन जी प्रदर्शनकारीका अगुवाहरूले प्रदर्शनकारीका अगुवाहरूले आन्दोलनका क्रममा भएको प्रदर्शनमा घुसपैठ भएको बताएका छन् । जेनजी प्रदर्शनकारीका अगुवाले अब वार्तामा बसेर समाधान निकाल्ने बताएका छन् । साथै, उनीहरूले नयाँ परिस्थिति सिर्जना भइसकेको भन्दै सरकारी सम्पत्तिमा आगजनी नगर्न आग्रह गरेका छन् ।
यससँगै सडकमा जेन जी आन्दोलनका नाममा भएका लुटपाट, आगजनी लगायतका कार्य रोक्न राति १० बजेबाट नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित गरेको छ । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाका लागि स्थिति नियन्त्रण गर्न दृढ रहने बताएको छ । सेनाले परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पु¥याउने कार्य गरेको पनि भनेको छ । यस्तोमा त्यसलाई नियन्त्रणमा लिन सम्पूर्ण राष्ट्रवासीलई सहयोगका लागि अपिल समेत गरिएको छ ।
‘तत्पश्चात सुरक्षा स्थितिको पुनर्मूल्यांकन गरी थप सूचना जारी गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले पनि संयमित हुन र वार्तामा आउन अपिल गरेका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको जानकारी गराउँदै अहिले लोकतन्त्रको माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नेमा विश्वस्त रहेको बताएका थिए ।
अब सेनाले सुरक्षाको पहिलो जिम्मेवारी सम्हालेको घोषणा गर्दा स्थिति कसरी अघि बढ्छ र सेनाले अहिलेको स्थिति सम्हाल्न कस्तो रणनीति अपनाउँछ त्यसलाई राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरूले गम्भीर तरिकाले हेरिरहेको जानकारहरू बताउँछन् । अर्काेतिर आन्दोलनरत पक्षले अहिले परिस्थितिलाई कत्तिको जिम्मेवार ढंगले समाधान गर्ने बाटोतिर लैजान्छ त्यसले नै देशको भाग्य र भविष्य निर्धारण गर्ने देखिएको छ ।
जेनजी पुस्ताले सामाजिक सञ्जाल टिकटकमा ‘नेपो बेबी’ नामक ट्रेण्ड’ चलाइरहेका बेला केपी ओलीको सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि सडकमै आन्दोलनको घोषणा गरिएको थियो । सोमबार राजधानी काठमाडौँसहित देशका मुख्य सहरहरूमा प्रदर्शनहरू भएका थिए ।
राजनीतिमा खासै रुची नदेखाउने र सामाजिक सञ्जालमै रुमल्लिरहने भनेर अघिल्ला पुस्ताहरूले सामान्यिकरण गर्दै आएको यो पुस्ताले गरेको दुई दिनको आन्दोलनले नै गरेको सत्ता पलट र देशका वर्षाैँदेखि राज गर्दै आएका राजनीतिक दल र तिनका नेताहरूको सात्तो लगेको छ । अब देशलाई चाडोभन्दा चाडो नयाँ जनप्रतिनिधि छान्ने चुनावमा लगेर सफल अवतरण गराउने र देशलाई समुन्नत भविष्यतर्फ लैजाने जिम्मेवारी सबैको काँधमा आइपुगेको छ ।









प्रतिक्रिया दिनुहोस्