‘अकाल मृत्यु’को कारण बन्दैछन् छाउगोठ



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

घटना–१
अछाममा छाउपडी (महिनावारी) बार्न त्रिपालमा बसेकी एक महिला र बालिकाको मृत्यु भयो । मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–८ बरालामा सेरापानीस्थित चुरेखोली टोलमा ३५ वर्षीया निमा खनाल र ७ वर्षीया बालिका कविता भण्डारी रहेकी छन् । त्रिपालभित्रै रहेकी ३६ वर्षीय रत्नकला भण्डारी गम्भीर घाइते भएकी छन् ।

उनको टाउकोमा गम्भीर चोट लागेको छ । मृतक निमा र गम्भीर घाइते रत्नकला महिनावारी भएकी थिइन् । उनीहरू छिमेकी हुन् । मृतक कविता आमासँगै सुत्न गएकी थिइन् । मृतक कविता रत्नकलाकी छोरी हुन् । त्रिपाल उनीहरूको घरदेखि करिब ५० मिटरको दुरीमा रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । अछाम प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार महिनावारी बार्न बारीमा त्रिपाल टाँगिरहेको अवस्थामा ढुंगा खस्दा उनीहरूको मृत्यु भएको हो ।

घटनामा गम्भीर घाइते भएकी भण्डारीलाई थप उपचारको लागि सुर्खेत रेफर गरिएको छ । उनले भने, ‘घटनाबारे जानकारी पाउन बित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । बारीमा त्रिपाल टाँगेर बसेका रहेछन् । अछाममा केहीदिनदेखि पानी गरिरहेको थियो । माथिबाट ढुंगा लागेर उनीहरूको मृत्यु भएको हो ।’अछाममा यसअघि छाउगोठ भत्काइएको थियो । तर, महिनावारी भएको समयमा त्रिपाल र ओडारमा बस्ने गरेको स्थानीयले बताएको डीएसपी खनालको भनाइ छ । उनका अनुसार गाउँमा छाउगोठ नभएपनि त्रिपाल टाँगेर बारीमा बस्ने गरेको यो घटनाले देखाएको छ ।

घटना–२

गत असार २७ गते कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीय कमला आउजी दमाईको छाउगोठमा निधन भयो । महिनावारी भएपछि छाउगोठ (महिनावारी भएकी महिला बस्न छुट्टै बनाइएको गोठ)मा सुतेकी कमलालाई रातीको समयमा सर्पले टोकेको थियो । कमला आफ्नो छाउगोठ वर्षाका कारण चुहिने भएपछि जेठानीको छाउगोठमा सुत्न गएकी थिइन् । घटना हुँदा कमलाका तीन जना छोरा भने घरमै थिए। भारतमा मजदुरी गरेर जिविकोपार्जन गर्ने कमलाका श्रीमान पुरन आउजी भारतमै थिए । कमला भने छोराहरूलाई पठाउन भन्दै गत वैशाखमा घर आएकी थिइन् ।

घटना भएको दुई दिनपछि कृष्णनगर नगरपालिकाले नगर क्षेत्रमा छाउगोठ भत्काउन निर्देशन नै दिएको थियो । वडा नम्बर १ मात्रै १२६ छाउगोठ रहेको वडाध्यक्ष मोहन बस्नेत बताउँछन् । छाउगोठ भत्काउन कार्यपालिका सदस्य रत्ना बोहोराको संयोजकत्वमा समिति नै बनाइएको छ । समितिले अहिले वडास्तरमा छाउठोठ भत्काउने काम गरिरहेको छ । कमलाको मृत्युपछि स्थानीय सरकारले त्यस क्षेत्रम ८४ वटा छाउगोठ भत्काएको कृष्णपुरका नगर प्रमुख हेमराज ओझाले बताए । उनका अनुसार निगालीमा मात्रै १८ गोठ भत्काइएको छ । स्थानीय सरकारले छाउगोठ भत्काउने अभियान नै सञ्चालन गरेको नगर प्रमुख ओझा बताउँछन् ।

अटेरी गर्नेविरुद्ध कानुन अनुसार कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । यसैगरी, घटनापछि जिल्ला प्रशासन कार्यालय कञ्चपुरले समेत जिल्लाभरी रहेका छाउगोठ भत्काउन निर्देशन जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार साउनदेखि हालसम्म कृष्णपुर र वेदकोट नगरपालिकामा गरी १ सय ५० छाउगोठ भत्काइएका छन् । डीएसपी सागर बोहराका अनुसार साउनमा ९२ र भदौमा ५८ छाउगोठ भत्काइएका हुन् ।

निमा र कमला त प्रतिनिधि उदाहरण मात्रै हुन् । सुदूरपश्चिमका विभिन्न जिल्लाका महिलाहरू वर्षेनि छाउगोठमा सुतेको बेला विभिन्न कारणमा अकालमा मृत्युवरण गरिरहेका छन् । महिनावारी हुँदा गोठमा बस्नुपरेका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा कयौँ किशोरी, युवती तथा महिलाहरूले अकालमै ज्यान गुमाएका प्रसस्तै उदाहरण छन् । २३ साउन २०८० मा बैतडीमा गोठमा सुतेका बेला १६ वर्षीया किशोरीले अकालमै ज्यान गुमाएकी थिइन् । पञ्चेश्वर गाउँपालिका–४ को फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पले डस्दा मृत्यु भएको थियो ।

भत्काइन्छन् छाउगोठ, बनाइरहन्छन् स्थानीय 

कुप्रथाको रूपमा रहेको छाउपडी विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा अझैपनि विद्यमान छ । यही कुप्रथाका कारण त्यहाँ महिलाहरूले बलात्कारको सिकार हुनु परेको छ । हत्या गरिएका घटना बेला बेलामा आउने गरेका छन् । सोही प्रथाकै अकालमै ज्यानसम्मै गुमाउनु परिरहेको छ । यता, सरकारले सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउपडी कुप्रथा उन्मूलन गर्ने नीति नै लिएको छ । कर्णाली तथा सुदूरपश्चिममा सरकार छाउगोठ मुक्त अभियान नै सञ्चालन गर्दै आएको छ । सुदूरपश्चिमका सात जिल्लामा अझैपनि छाउगोठ छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार हालसम्म सुदूरपश्चिमका ७ जिल्लामा ७ हजार ५४५ छाउगोठ भत्काइएको छ । अभियानका क्रममा कञ्चनपुरमा मात्र २३० घर छाउगोठ भत्काइएको कार्यालय जनाएको छ । सबैभन्दा धेरै अछाममा ५८१३ छाउगोठ भत्काइएको प्रहरीको तथ्यांक छ । बाजुरामा ५५७, डोटीमा ३९३, कैलालीमा ३८६ र डडेल्धुरामा २३ छाउगोठ भत्काइएको थियो । २०६३ सालयता मात्रै छाउगोठमा घटेका घटनामा अछाममा १६ जना महिला तथा किशोरी, डोटीमा २ जना र बाजुरामा ३ जना गरी र हालै कञ्चनपुरमा १ जना गरी सुदूरपश्चिममा २२ जनाको मृत्यु भइसकेको छ ।

छाउप्रथाका नाममा सुदूरपश्चिम र कर्णाली प्रदेशका १९ जिल्लाका महिलाले विभेद भोगिरहँदा सरकारले २०७६ पुस ९ गते छाउगोठ भत्काउने निर्णय गरेको थियो । गृह मन्त्रालयले विभिन्न ठाउँमा रहेका छाउगोठलाई समुदाय,स्थानीय तह र प्रहरीसमेतको सहकार्यमा नष्ट गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दियो । मुलुकी अपराध संहिता २०७४ ले छाउपडी प्रथालाई भेदभाव तथा अपमानजन्य व्यवहारका रूपमा लिएको छ ।

दफा १६८ को उपदफा ३ अनुसार महिलालाई रजस्वला वा सुत्केरी अवस्थामा छाउपडीमा राख्न वा कुनै किसिमको भेद्भाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नहुने व्यवस्था छ । उपदफा ४ अनुसार त्यस्तो गर्ने व्यक्तिलाई तीन महिना कैद वा तीन हजार रूपैयाँँ जरिवाना वा दुवै सजाय हुने प्रावधान छ । राष्ट्रसेवकले उल्लंघन गरे थप तीन महिना कैद हुने व्यवस्था छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १४ गते शनिबार