कैलालीको गेटामा सेवा लिने बिरामीको सङ्ख्या बढ्दै



गेटा (कैलाली) ।

कैलालीको गेटा अस्पतालले विशेषज्ञसहित २४ घण्टा सेवा दिन थालेपछि सेवा लिने बिरामीको चाप बढ्दै जान थालेको छ । अस्पतालको ओपिडीबाट कार्डियोलोजी, पेडियाट्रिक्स, नेफ्रोलोजी, न्युरोलोजी, साइकेट्रिक लगायतका विशेषज्ञ सेवा सँगै २४ घण्टा इमर्जेन्सी, ल्याब फार्मेसी लगायतका सेवा दिन थालिएपछि बिरामीको चाप बढेको हो । सेवा विस्तार हुँदा गत एक आर्थिक वर्षको तुलनामा अघिल्लो एक महिनामै उल्लेख्य सङ्ख्यामा बिरामीले सेवा लिएका छन् ।

अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार गत आर्थिक वर्ष २०८१–०८२ मा १६ हजार १२९ जना बिरामीले ओपिडी सेवा लिएकोमा चालू आर्थिक वर्षको साउन महिनामा मात्रै ३ हजार १५५ जनाले ओपिडी सेवा लिएको बताए । जसमध्ये गत आर्थिक वर्षमा १२ हजार ९७ जनाले प्रयोगशाला सेवा लिएकोमा चालू आर्थिक वर्षको साउन महिनामा १ हजार ५६३ जनाले प्रयोगशाला सेवा लिएका छन् । गत आर्थिक वर्ष एक्स–रे ४ हजार ४८० जना, अल्ट्रासाउन्ड ४ हजार ३५४ जना, इसिजी १ हजार ९२८ जना, इण्डोस्कोपी ११० जना, इको ३०४ जना, मेमोग्राम ९६ जनाले लिएकोमा चालू आर्थिक वर्षको साउनमा मात्रै एक्स–रे ९२९ जना, अल्ट्रासाउन्ड ६२४ जना, इसिजी ४३६ जना, इण्डोस्कोपी ३३ जना, इको १९९ जना, मेमोग्राम २२ जना बिरामीले गराएको सूचना अधिकारी कार्कीले बताए ।

जेठ ११ गते सुरु भएको इमर्जेन्सीबाट गत असार मसान्तसम्म ९२ जनाले सेवा लिएकोमा चालू आर्थिक वर्षको साउनमा ११६ जनाले सेवा लिएको बताए । साउनमा ६१ जना बिरामी इण्डोरमा भर्ना भएको सूचना अधिकारी कार्कीले बताए । अघिल्लो वर्ष शून्य थियो । अस्पतालका निर्देशक डाक्टर प्रमोदकुमार यादवले पछिल्लो समय अस्पताल जस्तो हुनुपर्ने हो त्यस्तो हुन थालेको बताए । उनले आफूले कार्यकाल सम्हालेको ४ महिनामा विशेषज्ञ चिकित्सक थप गरेर अस्पताललाई २४ घण्टा सञ्चालन गर्न सफल भएको बताए ।

उनले अब अस्पतालमा आएको बिरामीलाई बाहिर पठाउनु पर्ने अवस्था नरहेको बताए । उनले सुदूरपश्चिममा भएका अस्पतालहरूले दिइरहेका सेवाको डुब्लिकेसन गर्ने भन्दा पनि गेटा अस्पताललाई फरक तरिकाले अगाडि बढाउन खोजीरहेको बताए । जसअनुसार यस क्षेत्रमा नभएका सेवा विस्तार भएको र केही हुने क्रममा रहेको बताए । हाल अस्पतालमा सुदूरपश्चिमका अन्य ठाउँमा नभएको मेमोग्राम सेवा, मोड्युलर ओटी, मोड्युलर ल्याब सेवा सञ्चालनमा रहेको बताए ।

उनले अस्पतालमा आर्थोस्कोपी सेवा पनि सञ्चालनमा रहेको बताए । अस्पतालले आइसियु सेवा सञ्चालनको तयारी थालेको जनाएको छ । अस्पतालका निर्देशक यादवले यसै महिनाभित्र आइसियु सेवा सञ्चालन गर्ने तयारी रहेको बताए । उनले १० बेडको आइसियु र ३ बेडको सिसियु सेवा सञ्चालन गर्ने तयारी गरिएको र हाल सञ्चालनमा रहेका इमर्जेन्सी, इण्डोरसहित आइसियु, सिसियु सेवा सञ्चालन गरेर ७५ बेडबाट सेवा विस्तार गर्ने तयारी रहेको बताए ।

हाल दरबन्दी रहेको १४१ जना पदपूर्ति भएकाले थप स्कलरसिपका चिकित्सक र नर्स ल्याएर भए पनि यसै महिनादेखि सेवा विस्तार गर्न लागिएको उनले बताए । उनले हाल अस्पतालमा २४ घण्टा इमर्जेन्सी सेवा, २४ घण्टा ल्याब, एक्स–रे सेवा, एकद्वार संकट प्रणाली सेवा (ओसीएमसी), सामाजिक सुरक्षाको कार्यक्रम, हाइ डिपेन्डिसी युनिट २ बेड, २४ घण्टा फार्मेसी सेवा सञ्चालनमा रहेको बताउँदै गाइनो, सर्जरी अर्थोपेडिक सेवा सुरु सञ्चालनमा रहेको बताए । विभिन्न विशेषज्ञ सेवा सुरु गर्दा अस्पतालमा बिरामीको चाप बढ्दै गएको र कार्डियोलोजी सेवा सुरु गरेपछि अहिले सम्म १२ सय जनाले सेवा लिइसकेको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १३ गते शुक्रबार