छात्रावास खाली गर्न क्याम्पसको सूचना



वीरेन्द्र जैसी । नेपालगन्ज ।

नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको दुई दशकदेखि बेवारिसे अवस्थामा रहेको छात्रावासमा बसिरहेका विद्यार्थीहरूलाई छात्रावास खाली गर्न क्याम्पस प्रशासनले सूचना जारी गरेको छ । बिहीबार एक सूचना जारी गर्दै क्याम्पसको छात्रावासका वार्डेन दमनध्वज डिसीले लामो समयदेखि अव्यवस्थित छात्रावास मर्मत र व्यवस्थापन गर्नुपर्ने भएकोले असोज ६ गतेभित्र छात्रावास खाली गर्न निर्देशन दिएका हुन् । साथै छात्रावास खाली नगरेमा क्याम्पस प्रशासन नियमबमोजिम खाली गराउन बाध्य हुने भनिएको छ ।

मिसन टुडे दैनिकले उक्त छात्रावास करिब दुई दशकदेखि बेवारिसे अवस्थामा चलिरहेको, जीर्ण भएर भत्किन लागेको भवनमा विद्यार्थीहरू ज्यान जोखिममा राखेर बसिरहँदा पनि क्याम्पस प्रशासनले चासो नदिएको विषयमा भदौ २ गते रिपोर्ट प्रकाशित गरेको थियो । यसका साथै लामो समयदेखि स्वतन्त्र विद्यार्थी युनियनले पनि उक्त छात्रावास व्यवस्थित गरिनुपर्ने माग गर्दै आएको थियो । पछिल्लोपटक स्ववियुले क्याम्पस प्रशासनले आफूहरूका माग पूरा नगरेको भन्दै क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखलाई कार्यकक्षमै थुनेको थियो । त्यसपछि क्याम्पस प्रशासनले विद्यार्थीहरूले उठाएका मागहरू क्रमशः पूरा गर्दै जाने सहमति गरेको थियो ।

उक्त सहमति भएको भोलिपल्ट छात्रावास खाली गर्न सूचना प्रकाशित भएको हो । क्याम्पस प्रमुख लालमणी आचार्य अब छात्रावास खाली गराएर जीर्ण भइसकेको भवन भत्काउने, पुननिर्माण र सुधार गर्न सकिने भवन सुधारपछि मात्रै सञ्चालनमा ल्याउने बताउँछन् । यसका साथै छात्रावासमा आफूखुसी नभई क्याम्पस प्रशासनको नियमबमोजिम बस्न मिल्ने व्यवस्था गर्ने उनको भनाइ छ ।

तीन वर्षअघि क्याम्पसले नेपालगन्जस्थित संघीय आयोजना कार्यान्वयन इकाईलाई भवनको प्राविधिक परीक्षण गरिदिन आह्वान गरेपछि खटिएको प्राविधिक टोलीले एक नम्बर छात्रावास भवन बस्न नमिल्नेगरी जोखिमयुक्त भइसकेको निष्कर्ष निकालेको थियो । त्यसपछि क्याम्पस प्रशासनले २०७९ साउन १० गते एक सूचना जारी गर्दै एक नम्बर छात्रावास भवनमा बस्न निषेध गरिएको बताएको थियो ।

तर, उक्त सूचना आउँदा पनि त्यहाँ विद्यार्थीहरू बस्न छोडेनन् । क्याम्पस प्रशासनले पनि विद्यार्थीहरूलाई त्यहाँ बस्न नदिने केही पनि प्रबन्ध गरेन । छात्रावासमा बसिरकेका विद्यार्थीहरू आफूहरू बाध्यतावश जोखिम मोलेर बस्नुपरिरहेको बताउँछन् । उनीहरू सबै विद्यार्थीहरू भाडामा कोठा लिएर बस्न सक्ने स्थितिका नहुने भएकोले क्याम्पसले गरिब विद्यार्थीलाई ध्यानमा राखेर व्यवस्थित छात्रावास बनाउनु जरुरी रहेको बताए । उक्त छात्रावास २०२५ सालमा राजा महेन्द्रको पालामा निर्माण गरिएको थियो । उक्त भवन जीर्ण भएर बस्न नमिल्ने हुँदा पनि पुननिर्माण गरिएको छैन । बरु क्याम्पस प्रशासनले दुई दशकयता उक्त छात्रावास नै बेवारिसे बनाएर राखेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १३ गते शुक्रबार