नेपालगन्ज ।
महेन्द्र बहुमुखी क्याम्पसको प्रशासनमा स्वतन्त्र विद्यार्थी युनियनले तालबान्दी गरेर क्याम्पस प्रमुख र सहायक प्रमुखहरुलाई कार्यकक्षमै थुनेको छ । क्याम्पसमा विद्यार्थीहरुले राख्दै आएका विभिन्न मागहरुको सम्बोधन नगरी आलटाल गरेको भन्दै क्याम्पस प्रमुख लालमणी आचार्यसहित सहायक क्याम्पस प्रमुखहरु सुवास गौतम, भुवनेश्बर लामिछाने र बिसिए कार्यक्रम निर्देशक कोषराज रेग्मीलाई कार्यकक्षमै थुनेका हुन् ।
क्याम्पसका स्ववियु सभापति केशरजंग शाहीले दिएको जानकारी अनुसार स्ववियुको तर्फबाट साउन ६ गते ५१ बुँदे मागपत्र पेश गरिएको थियो ।
उक्त मागपत्रमा क्याम्पसमा पुस्तकालय व्यवस्थापन गरी ई–लाइब्रेरीको व्यवस्था गरिनुपर्ने, खेलमैदानको उचित व्यवस्था गरिनुपर्ने, छात्रावास व्यवस्थित गरी सन्चालनमा ल्याउनुपर्ने, कक्षाकोठामा डिजिटल बोर्डको व्यवस्था गरिनुपर्ने, प्रयोगशाला र शिक्षक कर्मचारीको उचित व्यवस्था हुनुपर्ने तथा अन्य शैक्षिक तथा प्रशासनिक सुधारहरु गर्नुपर्ने लगायतका मागहरु क्याम्पस प्रशासनसमक्ष पेश गरिएको मागपत्रमा उल्लेख छन् । उक्त मागपत्र बुझाएको एक महिना बितिसकेको र समस्या रहेको वर्षौँ भइसक्दा पनि क्याम्पस प्रशासनले समस्या समाधानका लागि पहल नगरेपछि तालाबन्दी गर्नुपरेको सभापति शाहीले बताए ।
क्याम्पस प्रमुख आचार्यले प्रशासनले मागहरु क्रमशः पूरा गर्दै जाने योजना बनाइरहँदा पनि विद्यार्थीहरु आत्तिएर तालाबन्दीमा उत्रिएको बताए । ‘हामीले काम गरिरहेकै थियौँ । लेखासम्बन्धि केही प्रक्रिया लम्बिएकाले तत्काल हुने काममा पनि अलिकता ढिलाई भएको हो । अहिले आएर एक्कासी विद्यार्थीहरुले तालाबन्दी गरे,’ आचार्यले मिसन टुडेसँग भने । उनले सहमतिको प्रयास भइरहेको पनि दाबी गरे । यता सभापति शाहीले आफूहरुका माग पूरा हुने ग्यारेन्टी नभएसम्म तालबन्दी नखोलिने बताए ।









प्रतिक्रिया दिनुहोस्