ठाकुरबाबामा प्रधानाध्यापकलाई मोटरसाइकल उपहार



कोहलपुर (बाँके) ।

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई मोटरसाइकल उपहार दिएको छ । नगरअन्तर्गत रहेका सामुदायिक विद्यालयका ९ जना प्रधानाध्यापकहरूलाई मोटरसाइकल प्रदान गरिएको हो । नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख तिलकराम लम्सालले उनीहरूलाई मोटरसाइकल वितरण गरेका थिए । सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई प्रोत्साहन गर्न मोटरसाइकल वितरण गरिएको नगर प्रमुख लम्सालले बताए ।

उनीहरूको कार्यक्षमतामा थप जिम्मेवार बनाउनसमेत सरकारी मोटरसाइकल हस्तान्तरण गरिएको लम्सालले बताए । ‘नगरपालिकाले शिक्षा क्षेत्रमा नवीनतम अभ्यासबाट नेपालमा नै फरक पहिचान बनाएको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई थप प्रोत्साहन गर्न र जवाफदेही बनाउन मोटरसाइकल हस्तान्तरण गरिएको हो । शिक्षकलाई प्रोत्साहन र दक्ष बनाउन सके मात्र कक्षाकोठा सुदृढ हुन्छ भन्ने ध्येयसहित मोटरसाइकल वितरण गरेका छौँ,’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने ।

आफूहरू निर्वाचित भएर आएदेखि शिक्षा क्षेत्रको विकासको लािग ठूलोे लगानी गरिएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख लम्सालले आफूहरू नगरपालिकामा निर्वाचित भएर आउँदा कक्षा ५ र ८ को परीक्षामा विद्यार्थी उत्र्तीणदर १७ प्रतिशत रहेको बताए । उनले भने, ‘पछिल्लो वर्ष ४२ प्रतिशत पु¥यायौँ । यो वर्ष ६१ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष र यो वर्ष सामुदायिकतर्फ जिल्लामै प्रथम भयौँ । आगामी दिनमा यसलाई अझै बढाउने उद्देश्य रहेको छ ।’

ठाकुरबाबा नगरपालिकामा सामुदायिक शिक्षाको विकास र प्रगति हुनुमा विद्यालयको नेतृत्वको रूपमा प्रधानाध्यापकहरूको भूमिका महत्वपूर्ण रहेको उनको दाबी छ । आगामी दिनमा शिक्षा विकासका लागि अझै उहाँहरूलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले नगरपालिकाले मोटरसाइकल दिएको नगर प्रमुख लम्सालको भनाइ छ । उनका अनुसार नगरपालिकाले यसअघि २६ वटा मोटरसाइकल खरिद गरेको थियो । ती मोटरसाइकलहरू नगरपालिकामा कार्यरत विभिन्न तहका कर्मचारीहरूले प्रयोग गर्दै आइरहेका थिए ।

तर, सरकारी नम्बर प्लेटका मोटरसाइकलहरू अनधिकृत कर्मचारीहरूले चलाइरहेको पाइएपछि स्टोरमा राखिएको थियो । कार्यपालिका बैठकबाटै निर्णय गरेर मोटरसाइकल वितरण गरिएको उनले बताए । यस्तै नगरपालिकाले इलाका प्रहरी कार्यालय भुरीगाउँलाई ३ वटा मोटरसाइकल प्रदान गरेको नगरपालिकाले जनाएको छ । प्रधानाध्यापकहरूलाई पल्सर, डिसकभर, टीभिएस र होन्डा कम्पनीका मोटरसाइकल वितरण गरिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ ९ गते सोमबार