तीज लक्षित कार्यक्रमले चलायमान होटेल रेस्टुरेन्ट



नेपालगन्ज ।

भदौ लागेसँगै बाँकेसहित देशभरका रेस्टुरेन्ट तथा पार्टी प्यालेसहरू तीज लक्षित भेला तथा कार्यक्रमहरूले चलायमान बनेका छन् । हिन्दु महिलाहरूले मनाउने महान पर्व तीज नजिकिएसँगै यहाँका होटल तथा रेष्टुँराहरूमा तीजलाई लक्षित गरी विभिन्न कार्यक्रमहरू आयोजना हुने क्रम बढेको हो । कसैले यस्ता कार्यक्रमलाई तीज मिलन नाम दिएका छन् भने कसैले दर खाने कार्यक्रम त कसैले तीज गीत गायन तथा नृत्य प्रतियोगिताका रूपमा यस्ता कार्यक्रम आयोजना गरिरहेका छन् । जे नाम दिएपछि यस्ता कार्यक्रमले होटल तथा रेष्टुरेन्टहरूमा हलहरू चलायमान भएका छन् भने खानाका परिकारको खपत बढेको छ ।

यसरी तीजसम्बन्धी कार्यक्रम आयोजना गर्नेहरूमा विभिन्न पेशागत तथा अन्य संगठनहरू, सहकारी, समूह तथा सामाजिक संघसंस्थासम्म छन् । आमा समूहदेखि बुहारी समूहसम्मले तीजसम्बन्धी कार्यक्रमहरू आयोजना गरेका देखिन्छन् । नेपालगन्जमा निर्माणाधीन तिरुपति बालाजी मन्दिरधाम समितिले समेत एक रेस्टुरेन्टमै तीज गीत तथा नृत्य प्रतियोगिता आयोजना ग¥यो । यसैगरी व्यवसायिक प्रतिष्ठानहरूले पनि आफ््ना कर्मचारी र ग्राहकलाई लक्षित गरेर पनि कार्यक्रमहरू आयोजना गर्ने गरेका छन् ।

नेपालगन्ज विपीचोकस्थित सुनाखरी रेष्टुरेन्टमा शनिबार सबै हलहरू व्यस्त थिए । रेस्टुरेन्टका सञ्चालक घनश्याम शर्माले यसपटकको तीजले व्यवसायलाई चलायमान बनाइरहेको बताए । यता सिद्धार्थ कटेजमा पनि लगातार केही दिनदेखि तीजसम्बन्धी कार्यक्रमहरूले हलहरू व्यस्त छन् । रेस्टुरेन्टका प्रबन्धक पुरुषोत्तम आचार्यले यसपटकको तीजमा गतिविधि बढेको बताए । उनले भने, ‘गत वर्षको अनुभव भन्नुहुन्छ भने तीजअघिको हप्तामा सात आठवटा कार्यक्रम भएका थिए भने यसपटक एकैदिन ७, ८ वटा कार्यक्रम भइरहेका छन् । फेरि यस्तो हामीकहाँ मात्रै होइन रहेछ । प्रायः सबै रेस्टुरेन्टहरूमा कार्यक्रमहरू भइरहेकै छन् ।’

उनले कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दीले सुस्ताएको रेस्टुरेन्ट व्यवसायलाई तीजका कार्यक्रमले केही मात्रामा राहत दिएको बताए।
‘तर यो चार पाँच दिनको चहलपहलले लामो समयदेखिको सुस्ततालाई क्षतिपूर्ति गर्नसक्ने भने देखिन्न,’ उनी भन्छन् । आचार्यले अन्य चाडबाडभन्दा तीजमा मानिसहरू भेला भएर रमाइलो गर्ने क्रियाकलाप बढी हुने गरेको अनुभव सुनाए । ‘सबै सामूहिक भेला भएर मनाइने यो चाड अरु चाडभन्दा बढी सामाजिक चाडजस्तो लाग्छ,’ उनले भने ।

तीज नजिकिएसँगै होटल तथा रेष्टुँरामा दर खाने कार्यक्रम आयोजना गर्ने परम्परा शहरी क्षेत्रमा पछिल्लो समय निकै लोकप्रिय बनेको छ । पहिले–पहिले गाउँ घरमा चोक चौतारामा महिलाहरू भेला भएर तीज आउनु केही दिनअघिदेखि नै नाचगान गर्ने गर्दथे । अहिले उक्त परम्पराको केही अंश होटल रेस्टुरेन्टतर्फ सरेको देखिन्छ । कतिपयले होटल तथा रेस्टुरेन्टमा आयोजना गरिने तीज लक्षित कार्यक्रमलाई लिएर आलोचना गर्ने गरेका छन् । विशेषगरी तीजको अघिल्लो दिन खाइने दरलाई दुई हप्ताअघि देखि नै खाने चलनले संस्कृति बिगार्ने धारणा राख्नेहरू पनि उत्तिकै छन् ।

तर, होटलमा हुने तीज लक्षित कार्यक्रममा पुग्ने महिलाहरूले समयसँगै आएको बदलावमा रूपमा यस्ता कार्यक्रमहरूलाई अथ्र्याउँछन् । नेपालगन्जकी रेनुका बुढाथोकीले तीजका कार्यक्रमहरूले महिलाहरूलाई खुलेर रमाउने वातावरण दिएको र साथीसंगीहरूको मिलन हुने अवसरका रुपमा अथ्र्याइन् । ‘वर्षभरी कामैकाममा व्यस्त हुने महिलाहरूले नाच्ने गाउने र साथीहरूसँग भेटघाट गर्ने र रमाइलो गर्ने अवसर पनि हो यो । पहिले पहिले गाउँघरमै नाचगान हुन्थ्यो अहिले रेष्टुरेन्टमा हुन्छ फरक यत्ति त हो,’ उनले भनिन् । नेपालगन्जस्थित सुनाखरी रेस्टुरेन्टमा भेटिएकी सरिता गाहाले पहिले यस्ता कार्यक्रमहरू गाउँटोलमा हुने गरेकोमा त्यस्ता कार्यक्रम गर्न तयारीको झन्झट हुने र मनोरञ्जनमा कम समय पाइने गरेको बताइन् ।

उनले भनिन्, ‘घरमै गर्ने हो भने यस्तो कार्यक्रम गर्न धेरै नै समय लाग्छ । तयारी गर्नुप¥यो । खाना पकाउने कि मनोरञ्जन गर्ने । यहाँ त सबै रेडी हुन्छ । राम्रो पनि हुन्छ । समयको बचत पनि हुन्छ ।’ तीजले ल्याएको यो रौनकले होटल व्यवसायीहरूमा मात्र होइन, ब्युटी पार्लर र कपडा पसलहरूमा पनि उत्साह थपेको छ । होटल तथा रेस्टुरेन्टहरूमा अहिले तीजका गीतहरू घन्किरहेका सुनिन्छन् भने हलहरूमा महिलाहरू छमछम नाचिरहेका हुन्छन् । बजारमा पनि किनमेलको चहलपहल बढेको देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ ८ गते आइतबार