हुम्ला ।
हुम्लाको चंखेली गाउँपालिका–५ टाँके नाकास्थित ङोन्मु तिङतिङमा नेपाल–चीन पक्षबीच उच्चस्तरीय वार्ता सम्पन्न भएको छ । चीनको डोङ्पा सेनाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आएको टोली र चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही नेतृत्वको नेपाली प्रतिनिधिमण्डलबीच छलफल भएको हो । उक्त छलफलमा सीमा क्षेत्रका बासिन्दाले भोगिरहेका समस्या, व्यापारिक अवरोध र विकासका सम्भावनाबारे विस्तृतरूपमा कुराकानी भएको अध्यक्ष शाहीले बताए ।
उनका अनुसार वार्तामा नेपाल पक्षले अन्य नाकामा पाइँदै आएको सहुलियत सामग्री यहाँका स्थानीयले नपाएको गुनासो औपचारिकरूपमा राखिएको थियो । साथै चीनको हरियाचौर (ङोन्मु तिङतिङ)देखि नेपाल–चीन सीमा नजिकैसम्म मोटरबाटो विस्तार गर्न आग्रह गरिएको अध्यक्ष शाहीले जानकारी दिए । चीन पक्षले यस नाकालाई व्यवस्थित बनाउन, स्थानीय बासिन्दालाई सहुलियत सामग्री उपलब्ध गराउन र चंखेली गाउँपालिकाको विकास निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
भविष्यमा यस नाकालाई आधिकारिक व्यापारिक नाका बनाउन दुवै देशले पहल गर्ने सहमति भएको गाउँपालिका अध्यक्ष शाहीले बताए ।
उनले भने, ‘कोभिड–१९ का कारण करिब पाँच वर्षदेखि अवरुद्ध रहँदै आएको परम्परागत हाट व्यापारलाई पुनः सञ्चालन गर्ने तयारी स्वरूप भएको यो वार्तालाई स्थानीयवासीले ऐतिहासिक उपलब्धि मानेका छन् ।’ सदरमुकाम सिमकोट हुँदै हिल्सा नाका पुग्न करिब दुई दिन लाग्ने र चिनियाँ सामग्री ल्याउन पनि ठूलोे कठिनाइ हुने भएकाले चंखेली गाउँपालिकाले यो नाका खुलाउन सक्रिय पहल गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्