तीजको मौलिकता हराउँदै गएकोमा चिन्ता



श्यामलाल पोखरेल । बुटवल ।

हिजोआज गाउँघरदेखि शहर बजार जताततै तीजको रौनकता छाएको छ । के गाउँ के शहर तीजको रौनकताले सबैलाई छोएको छ । आधुनिकताले होला पहिला पहिलाका जस्ता तीजका गीतमा वेदना बोेकेका स्वर सुनिँदैनन् । विवाह गरेर घर गएकी महिलाले आफ्ना भोगाइका साथै सासु ससुरा र आफ्ना श्रीमानको व्यवहारबारे तीजको गीतबाट महिलाहरूले दुःख सुनाउँथे । महिलाका पीडा र व्यथाले भरिएका त्यस्ता गीतहरू आाजभोली कहीँकतै गाएको सुन्निन् । महिलाका वेदनासँग जोडिएका गीतका भाका र स्वरहरू हराउँदै गएका छन् ।

उत्ताउला खालका गीतले तीजको मौलिकता हराउँदै गएको गीत संगीतका जानकार तथा हास्यव्यङ्ग्य कलाकार विष्णु जी पाण्डेय ‘माइला बा’ बताउँछन् । तीजको मौलिकतासँग जोडिएका तीजका गीतहरू गाउँदा रातभर सुनौँ सुनौँ हुन्थ्यो, अहिले छोराछोरीसँगै बसेर तीजका गीत सुन्न नसकिने अवस्था सिर्जना भएको उनी बताउँछन् । महिलाहरूले अभिव्यक्त गर्न तीजगीत गाउने परम्परा थियो । अहिले तीजका गीतले शब्द, संगीत, भाका कुनै पनि पक्षमा त्यो मर्म बोक्न नसकेको लोकगायकहरू बताउँछन् ।

आँटीबाट बजै आइन् सारा जमिन थर्काउँदै
कोठाबाट स्वामी निस्के आँखा मर्काउँदै ।
हिजोदेखि सुकाएका दाना थिए, कुटनी
हेर्न बाबु तेरी स्वास्नी बल्ल उठनी ।
यति कुरा आमाले सधैँ मनमा लिनुहोस्
घरको काम सके मात्रै खाना दिनुहोस् ।
घुम्दै फिर्दै फेरी पनि तीज आयो नानी हो
यस पालिको जीतमा माइत जाने हो ।

यि यस्ता मन छुने महिलाहरूले कर्म घरमा गरेको दुःख र सुखबारेका गीतहरू हराउँदै गएपछि तीजको मौलिकता हराएको र पश्चिमेली संस्कृति हावी भएकोप्रति समाजमा कुरा उठ्ने गरेको छ ।

कोमल वली छैनन् आज तीजका गीत गाइन्छ
यही तीजमा बहिनी भन्छन्, राम्री भाउजु चाहिन्छ ।

तीज आउनु महिनादिन अघिदेखि नै गाउँदेखि शहर बजारमा यस वर्षपनि चहल–पहल बढ्यो । साउने संक्रान्तिदेखि तीजका गीत गाउने परम्परा कायमै छ । त्यही परम्परा अनुसार एक महिना अघिदेखि नै बजार क्षेत्रका होटल र पार्टी प्यालेसहरूमा तीज मिलन तथा दरखाने कार्यक्रमहरू चल्ने गरेका छन् । यो वर्षपनि बजार क्षेत्रका होटलहरू र पार्टी प्यालेसहरूमा दरखाने कार्यक्रमहरूले प्राथमिकता पाए । तीजसँग जोडेर आयोजना गरिएका कार्यक्रमहरूमा तीज भड्किलो र खर्चिलो भएको विषयमा देशभर कुरा उठेको छ ।

तीजको नाममा एक महिना अघिदेखि भोजभतेर गरी आयोजना गरिएका कार्यक्रमहरूबाटै हाम्रो तीजको मौलिकता हराउँदै गएको र पश्चिमेली छाडा संस्कृति हावी हुँदै गएको बताउँछन् पण्डित चुरामणि भारद्वाज । तीज पर्व मनाउनु राम्रो पक्ष हो, तर तीज भड्किलो र खर्चिलो हुँदै गएपछि समाजमा आर्थिक असमानता बढेको उनको तर्क छ । तीजमा महिलाहरूले वर्ष दिनभरी घर समाजमा भोग्नुपरेका समस्यालाई जस्ताको तस्तै तीजको गीतमा वेदना पोखेर गाउने गीत सुन्न छोडिएको छ ।

त्यस्तै राजनीतिक दलका महिलाहरूले महिला अधिकार र राष्ट्रियताका विषयमा तीजको भाकाबाट गाउने गीतहरू पनि ओझेलमा पर्दै गएको बताउँछन् सामाजिक अभियान्ता माधव केसी । सामाजिक अभियान्ता माधव केसीका अनुसार आधुनिकतासँगै समाजमा आएको परिवर्तन र आधुनिक जीवनशैलीप्रति नयाँ पुस्ताको आर्कषण बढ्दो छ । नयाँ पुस्ताले आधुनिकता पछ्याइरहकोे र पुरानो पुस्ताले परम्परादेखिको मौलिकता खोजिरहँदा तीज लगायतका पर्वको मौलिकताप्रति चिन्ता र चासो बढेको हो ।

तीजको मौलिकताप्रति चिन्ता र चासो राख्दै महिला अगुवा कमला आचार्य र उषा जीसी भन्छन् – ‘तीज पर्वसहित सबै चाडपर्वका सकारात्मक पक्षलाई आत्मसात् गर्नुपर्ने र नकारात्मक पक्षलाई निरुत्सातिह गर्नुपर्छ । मौलिकता भुल्न हुँदैन ।’ आधुनिकताको नाममा चाडपर्वबाट विकृति भित्राउन कसैलाई छुट नभएको उनीहरूको तर्क छ । बुटवलमा प्युठानी महिलाहरूले आयोजना गरेको तीज मिलन कार्यक्रमका सहभागी महिलाहरूले तीजको मौलिकता हराउँदै गएको र उत्ताउलापनका गीतहरू बढेकोप्रति चिन्ता गर्दै उत्ताउलापनका गीतहरूलाई निरुत्साहित गर्नु सबैको साझा दायित्व रहेको बताए ।

त्यस्तै होटल तथा रेष्टुरेष्ट व्यवसायी संघ रुपन्देहीले बुटवलमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्ने वक्ताले तीजमा महिलाहरूको कथाव्यथासँग जोडिएको रमाइलो पर्व भएकाले रमाइलो गर्दैमा मौलिकता भुल्न नहुने बताए । उक्त कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले तीज पर्वलाई भड्किलो र खर्चिलो बनाउन नहुने बताउँदै समाजमा समानता ल्याउने गरी तीज पर्व मनाउनुपर्नेमा जोड दिइन् । हुँदाखाने र हुनेखाने सबैको पर्व तीज भएकाले विकृति, विसंगति भित्राउन नहुने बताउँदै सबैले हाँसीखुसी तीज पर्व मनाउनुपर्नेमा जोड दिइन् ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही अध्यक्ष माधवकुमार खनालको अध्यक्षता वरिष्ठ उपाध्यक्ष अर्जुन थापाको स्वागत र महासचिव केशवराज कँडेलको सञ्चालनमा भएको कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका संस्थापक सचिव माधवप्रसाद नेपाल, लुम्बिनी प्रदेश अध्यक्ष महेन्द्र श्रेष्ठ, संघका रुपन्देही पूर्वअध्यक्ष समुन्द्र जीसी, संघका कोषाध्यक्ष अर्जुन पोखरेल, कार्यक्रम संयोजक मैनादेवी आचार्य, ब्रुअरी कम्पनी, यति डिष्ट्रिलरीका डिपुटी म्यानेजर प्रितम गिरीलगायतले तीज पर्वलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ ८ गते आइतबार