बाँके ।
लुम्बिनी प्रदेशमा १०९ स्थानीय तह छन् । लुम्बिनीमा उपमहानगरको सङ्ख्या ४ वटा छ । ३२ नगर र ७३ गाउँपालिका रहेका छन् ।
प्रदेशका १२ जिल्लामध्येको एक बाँके जिल्लासमेत हो । यहाँ एक उपमहानगर र एक नगरसहित ६ वटा गाउँपालिका रहेका छन् । मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को आर्थिक वर्ष २०८०–०८१ को नतिजाअनुसार बाँकेका आठमध्ये खजुरा गाउँपालिकाले ८५.७५ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ ।
लिजामा समावेश १० सूचकमध्ये शासकीय प्रबन्धमा ८.५०, संगठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ७ अंक प्राप्त गरेको छ ।
यस्तै वित्तीय एंव आर्थिक व्यवस्थापनमा १०.२५, सेवा प्रवाहमा १२.५० र न्यायिक कार्य सम्पादनमा ७ अंक प्राप्त गरेको छ । भौतिक पूर्वाधारमा १०, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ७ र सहकार्य र समन्वयमा ५.५० अंक प्राप्त गरेको छ । गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक नीतिगत सुधारमा गाउँपालिकाले गरेको प्रयासको नतिजा भएको बताउँछन् । उनका अनुसार लिजाका १० सूचक पालनाका लागि गाउँपालिकाले कडाइ गरेको छ ।
यस्तै जनप्रतिनिधिले नीति, कार्यक्रम र आवश्यक निर्णय गर्ने र सोहीअनुसार कर्मचारीहरुले कुशलतापूर्वक काम गर्दा नतिजा राम्रो आएको उनले बताए । ‘जिल्लाकै उत्कृष्ट नतिजाले खुसी छौँ । आगामी दिनमा अझै राम्रो काम गर्ने प्रेरणा मिलेको छ । अब सुशासनमा गाउँपालिकाले ध्यान दिनेछ,’ उनले भने ।
यस्तै कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकाले समान ८२.७५ अंक प्राप्त गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाले ८२.००, डुडुवा गाउँपालिकाले ८१.७५, बैजनाथ गाउँपालिकाले ७६.५० र जानकी गाउँपालिकाको ७३.०० अंक प्राप्त गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा नरैनापुर गाउँपालिकाको नतिजा भने समावेश छैन ।









प्रतिक्रिया दिनुहोस्