निजी विद्यालयले एकैसाथ सडकमा उतारे स्कुल बस



नेपालगन्ज ।

विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै आन्दोलनरत निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को आह्वानमा निजी विद्यालयहरूले सडकमा स्कुल बस एकसाथ उतारेर प्रदर्शन गरेका छन् । देशभर मुख्य सडक र चोकमा स्कुल बस उतारेर नगर परिक्रमा गराउने कार्यक्रम तय भए अनुसार नेपालगन्जमा पनि स्कुल बस सडकमा उतारेर विरोध जनाइएको ‘विरोध कार्यक्रम संयोजक’ एवम् प्याब्सन बाँकेका कोषाध्यक्ष प्रविण गिरीले जानकारी दिए ।

गिरीका अनुसार एक सय बढी स्कुल बस वीपी चोकमा जम्मा भएर राँझा चोक पुगी ट्राफिक चोक फर्किएका थिए भने वीपी चोकबाट आ–आफ्नो विद्यालयतर्फ गएका थिए । यस्तै कोहलपुर क्षेत्रका निजी विद्यालयहरूले समेत स्कुल बसमा कालोझन्डा लगाएर बजार परिक्रमा गरेका थिए । पीपलचौतारा हुँदै चौराहसम्म स्कुल बसहरूमा कालो झन्डा लगाएर बजार परिक्रमा गरेर विद्यालय शिक्षा विधेयकविरुद्व विरोध जनाएका हुन् ।

सरकारले अघि सारेको शिक्षा सम्बन्धि प्रस्तावमा आपत्ति जनाउँदै प्याब्सनले देशव्यापी आन्दोलन गरिरहेको छ । शिक्षा विधेयकमा राखिएको ३ प्रतिशत पूर्ण छात्रवृत्तिको प्रावधान हटाउनुपर्ने, विधेयकमा उल्लेख गरिएको ‘निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने’ वाक्यांश पनि हटाउनुपर्ने प्याब्सनको मुख्य माग रहेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट हालै पारित प्रस्तावले निजी विद्यालयको भविष्य र स्वायत्ततालाई जोखिममा पार्ने भन्दै प्याब्सनले चरणबद्ध आन्दोलनका कार्यक्रम गरिरहेको छ ।

आन्दोलनका कार्यक्रम अन्तर्गत प्याब्सनले साउन २९ गते देशभरका स्थानीय सरकारका प्रमुख र पालिकाका शिक्षा प्रमुखहरूलाई ज्ञापनपत्र बुझाएको थियो । यसैगरी, साउन ३० गते देशभरका जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईमार्फत ज्ञापनपत्र बुझाइएको थियो भने भदौ १ गते प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाइएको थियो ।

भदौ २ गते सांसदहरूलाई भेटी ज्ञापनपत्र बुझाइएकोमा भदौ ३ र ५ गते क्रमशः पालिका र जिल्ला तहका समितिहरूको बैठक बसेको थियो । भदौ ६ गते सडकस्तरमै विरोध प्रदर्शन तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने कार्यक्रम अनुसार शुक्रबार देशैभर चोक तथा सडकमा स्कुल बस उतारेर विरोध जनाइएको हो । प्याब्सनले माग नसुनिए विद्यालय सेवा अवरुद्ध गर्ने चेतावनी समेत दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ ७ गते शनिबार