कोहलपुर ।
कोहलपुर–नेपालगन्जअन्तर्गत हवल्दारपुर सडकखण्ड मर्मत कार्य सुरु भएको छ । नेकपा (माओवादी केन्द्र)को निरन्तर दबाबपछि सोमबारदेखि उक्त सडकखण्डको बाँकी काम सुरु गरिएको हो ।
बिहीबार सडक डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख नरेन्द्रप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले आगामी भदौ १५ गतेभित्र ठेक्का सम्झौताअनुसार सम्पूर्ण निर्माणकार्य सम्पन्न गर्ने सहमति गरेको थियो । सोही सम्झौताअनुसार सोमबारबाट काम सुरु भएको सडक निर्माणको जिम्मा पाएको श्री माँ त्रिपुरासुन्दरी–पञ्चकोषी नागदेव जेभीका प्रतिनिधिले जानकारी दिए ।
यसअघि नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले सडक मर्मतको माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँके र सडक डिभिजन कार्यालय नेपालगन्जमा ध्यानाकर्षण पत्र बुझाएको थियो । ७ दिनभित्र सडक मर्मतको प्रक्रिया अगाडी बढाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाउँदा समेत कुनै प्रक्रिया सुरु नभएको भन्दै माओवादी केन्द्रले साउन २९ गते सडकमै पत्रकार सम्मेलन समेत गरेको थियो ।
त्यसलगत्तै सडक डिभिजन कार्यालय र निर्माण कम्पनीबीच तालिका बनाएर मर्मत सुरु गर्ने सहमति भएको थियो । साउन ३० देखि भदौ १५ सम्म लागु हुने कार्यतालिका अनुसार काम सम्पन्न गर्ने निर्णय भएअनुसार सडक निर्माणको काम सुरु गरिएको हो ।
लामो समयदेखि सडकखण्ड निर्माण नहुँदा सवारीसाधन र स्थानियलाई आवागमनमा समस्या भएको गुनासोपछि सडक डिभिजन कार्यालयले तत्काल मर्मत कार्य सुरु नगरे ठेक्का सम्झौता रद्द गर्ने चेतावनी समेत दिएको थियो ।
यसैबीच नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरूले उक्त सडकखण्डको अनुमगन गरेका छन् । सडक निर्माण सुरु भएसँगै नेकपा माओवादी केन्द्र बाँके संयोजक नरेन्द्र पाण्डे (जेम्स), कोहलपुर नगर समिति अध्यक्ष बलबहादुर खड्का (अबिरल) लगायतका प्रतिनिधिहरूले निर्माण स्थलको अनुगमन गरेका हुन् ।









प्रतिक्रिया दिनुहोस्