
नन्दराम जैशी । सुर्खेत ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सुर्खेतमा उद्योग खोल्ने तयारी गरेको छ । ‘समाजवादका लागि नयाँ पुस्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी हुन शनिबार सुर्खेत पुगेका विप्लवले उद्योग खोल्ने तयारीबारे जानकारी गराएका हुन् । ‘राप्ती र कर्णालीबाट बर्सेनि करोडौँको अल्लो बाहिरिन्छ । अब त्यो अल्लोलाई यहीँ रोकेर कपडा उत्पादन गरी युवालाई रोजगारी दिन सुर्खेतमा उद्योग खोल्दैछौँ,’ उनले भने, ‘बिस्तारै अन्य उद्योगहरू पनि खोल्ने तयारी छ । नेकपाले दुई वर्षमै कृषिक्रान्तिबाट पाएको सफलताको यो एक उदाहरण हो । अब केन्द्रीय कमिटीको बैठक बसेर औद्योगिक यात्राबारे छलफल गर्दैछौँ ।’
नेपाल लामो समय यही गतिमा नबस्ने भन्दै छिट्टै परिवर्तन हुने उनको भनाइ छ । परिवर्तनका लागि युवाहरू आतुर रहेको उल्लेख गर्दै अब धेरै धैर्य गर्ने सोचमा नरहेको उनले बताए । उनले थपे, ‘श्रम, संघर्ष र अनुसन्धानलाई जोड दिँदै अस्पताल खोलिसकेका छौँ, अब क्याम्पस र अनुसन्धान केन्द्र खोलेर निःशुल्क सेवा गर्ने तयारी छ ।’ सबै दलका गलत प्रवृत्ति सुधार गर्दै माओवादीसहित कम्युनिस्ट एकताका लागि पहल गरिरहेको उनले बताए ।
२०८४ मा निर्वाचनमा जाने तयारी भइरहेको जानकारी दिँदै पैसा खर्च नगरी नयाँ विचार र नीतिअनुसार आफ्नो पार्टीले राम्रो जनमत पाउने उनको दाबी छ । देशमै उद्योगधन्दा खोलेर रोजगारी सिर्जना गरि युवालाई विदेश पलायन हुनबाट रोक्नुपर्ने उनले बताए । ‘जनसङ्ख्या वृद्धिदर कम भएपनि विश्वमा धेरै युवा भएको देश हो नेपाल । अबको १५÷२० वर्षपछि देश कता जान्छ थाहा छैन्,’ उनले भने, ‘वैदेशिक रोजगारमा सबैभन्दा धेरै हेपिने र अपमानित हुने युवाहरू नेपाली युवा पर्छन् । खाडी मुलुकमा ४० हजार बढी नेपाली युवती अलपत्र छन् । उनीहरूको शारीरिक शोषण भइरहेको छ ।’
समाजवाद भन्दै दलहरू सरकारमा बसिरहेको उल्लेख गर्दै भ्रष्टाचार गर्नेदेखि तस्कर गर्नेसम्मका सबैले समाजवाद भन्ने गरेको उनको भनाइ छ। तर व्यवहार पनि सबै दलको एउटै रहेको उनले अनुभूति सुनाए । ‘समाजवाद भन्ने नेताहरू मन्त्री र प्रधानमन्त्री बनेपनि सोच र काम पुँजीवादको शैली छ । युवाहरूले देशमा रोजगारी र चाहेको पढ्न पाएका छैनन्,’ उनले थपे, ‘आजको युवाको समस्या र माग राजतन्त्र आएपनि सम्बोधन हुँदैन । देशमा ६÷७ सय वर्षसम्म राजाले शासन गर्दा त केही परिवर्तन नभएकाले फेरी राजतन्त्रको कल्पना नगरौँ ।’
विद्यार्थीले पढ्न चाहेको शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने उनको तर्क छ । १० र ११–१२ कक्षादेखि नै प्राविधिक शिक्षा दिनुपर्ने उनले बताए । युवालाई देशबाट लखेटेर राजनीति गर्ने व्यवस्था बनाइएको उनको आरोप छ । उनले भने, ‘पुँजीवादभित्र न्याय, समानता र स्वतन्त्रता सम्भव छैन। हाल नेपालमा दलाल पुँजीवादी व्यवस्थाले काम गरिरहेको छ । पार्टी फेरेर अब समस्या हल हुँदैन । युवालाई निराशा बाँडेर पुँजीवादीहरूले फाइदा कमाइरहेका छन् । युवाले मागेको भ्रष्टाचारमुक्त देश, रोजगारी जस्तो विषय यो व्यवस्थाले काम गर्दैन् ।’
युवाहरू विदेश जानेबित्तिकै पैसा कमाइ नहुने भन्दै त्यसरी कमाएको पैसाले पनि देश विकास नहुने उनी बताउँछन् । यहाँको माटो र कोदालोसँग रमाएर बुढा आमा बाबा, श्रीमती र छोराछोरीको साथमा बसेर उद्यम गर्न उनको सुझाव छ । राज्यले पनि सोहीअनुसार नीति अवलम्बन गर्नुपर्ने उनले बताए । ‘नेपालमा किन बस्ने अमेरिका जानुपर्छ भन्ने लहर चलाउने पनि पुँजीवादी दलालहरू हुन्, यस्तो हावा लचाउने उनीहरूले नै अहिले रास्वपा जस्तो नयाँ पार्टी रोज्नुपर्छ भन्ने हावा चलाएका छन्,’ उनले थपे, ‘युवाहरूलाई समाजवादबारे रुचि नै छैन् तर वास्तविक चाहिने समाजवाद नै हो । कुनैबेला नेपालभन्दा गरिब चीन समाजवादकै कारण अहिले विश्वकै उत्कृष्ट बनेको छ ।’
समाजवाद भनेर आदर्श भाषण छान्ने विषय नभएको भन्दै नेताहरूलाई काम गरेर देखाउन उनले चुनौती दिए । जनतालाई मन नपरेको बाटो सरकार र दलहरू हिँड्न हिँडिरहेको उनको तर्क छ । उनले भने, ‘हाम्रो पालामा पैसाको मतलब थिएन राजनीतिको भोक भियो अहिलेका युवामा राजनीति होइन पैसाको भोक छ । पैसा चाहिन्छ तर विदेश गएर कमाउने होइन गाउँमै उद्यम गरेर कमाऔँ ।’









प्रतिक्रिया दिनुहोस्