श्रीमान् लाई ‘रंगेहात’ समात्न मध्यरातमा होटल पुगेपछि …



नेपालगन्ज ।

आफ्नो श्रीमान् अर्कै युवतीसँग होटलमा बसेको सुइँको पाएर ‘रंगेहात’ समात्ने भन्दै नेपालगन्जकी एक महिला मध्यरातमा दलबलसहित नेपालगन्जको एक तारे होटलमा पुगेपछि प्रहरीले होटलमा बसेको जोडीलाई नियन्त्रणमा लिएको छ ।
नेपालगन्जस्थित सिद्धार्थ भ्यू होटलमा आफ्नो श्रीमान् अर्कै युवतीसँग बसिरहेको भन्दै युट्युबर र आफन्तहरूसहित रातको एक बजे एक महिला पुगेपछि अप्रिय घटना हुन नदिन होटलमा बसेका ती महिलाका श्रीमान् र अर्की युवतीलाई नियन्त्रणमा लिनुपरेको बाँके प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले आक्रोशित अवस्थामा आएकी श्रीमती र उनका आफन्तहरूले आफैँ होटलमा घुसेर रंगेहात समात्ने भन्दै फोन गरेको र होटलले पनि सुरक्षाका लागि सहयोग मागेपछि होटलमा बसेका महिला पुरुषलाई नियन्त्रणमा लिनुपरेको बताए । प्रहरीको नियन्त्रणमा रहेका श्रीमान्माथि जाहेरी दिने भनेर श्रीमतीले भनेकोले यो समाचार तयार पार्दसम्म पनि दुवैजना प्रहरीकै नियन्त्रणमा रहेका पातलीले जानकारी दिए ।

होटलका अनुसार ती महिलाका श्रीमान् र युवती दुई दिनदेखि श्रीमान् श्रीमतीको नाता बताएर होटलमा बस्दै आएका थिए । होटलले उनीहरूको परिचय खुल्ने कागजात राखेर आवश्यक प्रक्रिया पूरा गरेर राखेको होटलका व्यवस्थापक बद्री कोइरालाले जानकारी दिए । उनले भने, ‘होटलले परिचयपत्र मागेर १८ वर्ष पुगे नपुगेको यकिन गर्ने हो । अनि नातासम्बन्ध सोधेर बस्न दिने हो । उहाँहरू दुई दिनदेखि बसेको, बाहिर आउने जाने गरेकोले उहाँहरूको सम्बन्धमा शंका गर्नुपर्ने कारण पनि थिएन । तर, एक्कासि उहाँको श्रीमती आएर मध्यरातमा आफैँ कोठामा घुस्छु भनेपछि हामीले प्रहरीसँग सुरक्षा मागेका हौँ ।’

डीएसपी पातलीले पनि होटलले प्रक्रिया पूरा गरेरै बस्न दिएको पाइएको र सुरक्षा मागेपछि मात्रै प्रहरी पुगेको बताए । ती महिलाले पनि श्रीमान् ती युवतीसँग करिब चार पाँच महिनादेखि सम्बन्धमा रहेका बताएकी छिन् । चारपाँच महिनादेखि आफ्नो सम्पर्कमा नरहेका श्रीमान् केही दिनअघि घरमा कुटपिट गरेर फेरि सम्पर्कविहीन भएको उनले बताइन् । शुक्रबार साँझ आफूले श्रीमान्लाई ती युवतीसँग देखेपछि पछ्याउँदै जाँदा होटलमा बसेको थाहा पाएको उनले बताएकी छिन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १ गते आइतबार