हुम्ला ।
जिल्लाको नाम्खा गाउँपालिका र काठमाडौँको मेडिकेयर अस्पतालबीच सम्झौता भएको छ । नाम्खा गाउँपालिकाका स्थायी बासिन्दालाई काठमाडौँको उक्त अस्पतालमा उपचारमा छुटको व्यवस्था दिनेगरी सम्झौता भएको हो । मेडिकेयर अस्पताल र पालिकाबीच ६ बँुदे सम्झौता भएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले जानकारी दिए ।
उनका अनुसार नाम्खा गाउँपालिकाको स्थानीयवासी भएको सिफारिस गरिसकेपछि मेडिकेयर अस्पतालले बाहिरका आपूर्तिकर्ताबाट लिनुपर्ने बाहेकका सेवामा १० प्रतिशत छुटको सुविधा दिनेगरी दुई पक्षिय सम्झौता भएको छ । सम्झौताअनुसार जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिएको नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी र मतदाता परिचयपत्रका आधारमा बिरामीको गाउँपालिकाले सिफारिस गरेपछि सम्झौताअनुसारको छुटको व्यवस्था अस्पतालले गर्नेछ ।
यो सम्झौताअनुसार ओपिडी, परामर्श र अस्पतालले बाहिरका आपूर्तिकर्ताबाट लिनुपर्ने सेवाबाहेकका अन्य सबै सेवामा दश प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । अस्पताल मल्टीस्पेसियालीटी भएकोले सबै खालका स्वास्थ्य सेवाका लागि गाउँपालिकाले उक्त अस्पतालमा पठाउनुपर्नेछ भने सो अस्पतालमा नभएका सेवाका लागि उचित सेवा प्रदायककोमा रिफर गर्नेछ । सम्झौता कार्यान्वयन गर्ने सन्दर्भमा कुनै विमति वा समस्या देखिए दुवै पक्षको सहमतिमा टुङ्गो लगाउने उल्लेख छ ।
यो सम्झौता एक वर्षका लागि लागु हुनेछ भने दुवै पक्षको समझादारीमा पुनः एक वर्षका लागि नवीकरण गर्न पनि सकिने उल्लेख छ । सम्झौतापत्रमा नाम्खा गाउँपालिकाको तर्फबाट अध्यक्ष लामाले र अस्पतालको तर्फबाट महाप्रवन्धक हरिभक्त सिग्देलले हस्ताक्षर गरेका छन् । यो सम्झौता अक्षरशः कार्यान्वयनका लागि पनि दुवै पक्षले प्रतिबद्धता समेत जनाएका छन् ।
यो सम्झौताले पालिकावासी जटिल बिरामी हुँदा सेवा लिन सहज हुने अध्यक्ष लामाले विश्वास व्यक्त गरे । सम्झौतापछि महाप्रवन्धक सिग्देलले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालले दुर्गमका नागरिकलाई यो सुविधा दिने व्यवस्था गरेको जानकारी दिए । सकभर कसैलाई बिरामी हुन नपरोस् भन्दै यदि बिरामी भएको खण्डमा अस्पतालले सबै सेवा दिने उनले बताए ।









प्रतिक्रिया दिनुहोस्