शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके)
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन् । बागमती प्रदेश सभाको छैटौँ अधिवेशनमार्फत नेपाली काँग्रेसका संसदीय दलका नेतासमेत रहेका बानियाँले विश्वासको मत पाएका हुन् । मंगलबार साँझ बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ४ र प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम आफूमाथि विश्वासको मत छ भन्ने प्रष्ट गर्न विश्वासको मतसम्बन्धी प्रस्ताव गरेका थिए ।
उक्त प्रस्तावमाथि दस्तखतसहित भोट विभाजनद्वारा मत संकलन गरिएको थियो । जसमा १ सय १० सदस्यीय बागमती प्रदेश सभामा उनको पक्षमा ६३ मत आएको छ । प्रदेश सभामा दुई दलका कूल ६४ सांसद भएपनि नेपाली काँग्रेसका एक सांसद विदेशमा भएका कारण उनको पक्षमा ६३ मत प्राप्त भएको हो । प्रदेश सभामा नेपाली काँग्रेस र नेकपा एमाले सम्मिलित सरकार स्पष्ट बहुमतमा छ ।
यस्तै, प्रतिपक्षी नेकपा माओवादीका २१, राप्रपाका १३ ‐सभामुख सहित), नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् । प्रतिपक्षमा रहेका सबै पार्टीको कूल सदस्य सङ्ख्या ४६ छ । जुन बागमती प्रदेश सभामा विद्यमान कूल सदस्य सङ्ख्याको अल्पमत हो । ११० सदस्यीय प्रदेश सभामा मंगलबार कूल ९२ सांसद उपस्थित थिए । जसमा उनको विपक्षमा २२ मत खस्यो । ७ सांसद तटस्थ बसे । बानियाँलाई विश्वासको मतका लागि ५६ सांसदको आवश्यकता रहेको थियो । उनले आवश्यक भन्दा सात मत बढी प्राप्त गरे ।
प्रतिपक्षलाई छैन सरकारप्रति विश्वास
बागमती प्रदेश सभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनमा बोल्दै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमरकट्टेलले नेपाली काँग्रेस र नेकपा एमालेले लोकतन्त्रको मर्मविपरीत कार्य गरिरहेको बताए । बागमती प्रदेशमा पटक पटक सरकार फेरबदलले लोकतान्त्रिक प्रक्रियामाथि नै प्रश्न उठेको उनले बताएका थिए । नेपाली काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठन भएको र नयाँ मुख्यमन्त्रीले सबैसँग सहकार्य गर्ने बताएपनि माओवादीलाई विश्वास नै नभएको जमरकट्टेलको भनाइ थियो ।
‘नयाँ नेतृत्व आएको छ । मुख्यमन्त्रीज्यूले सबैसँग सहकार्य गर्ने भन्नुभएको छ । त्यो हामीलाई विश्वास छैन । सहकार्य भनेको त माओवादी मात्रै हो । हिजो हामीले त्यो भूमिका निर्वाह गरेका छौँ,’ उनले भने । उनले माओवादी सरकारमा भएको बेला उत्कृष्ट कार्य गरेको दाबी गरे । आफू र आफ्ना मन्त्रीहरूले अहिलेसम्मकै सबैभन्दा धेरै राम्रा काम गरेको भन्दै प्रमाण नै सार्वजनिक गर्नसक्ने दाबी गरे । वर्तमानको परिस्थिति र नेकपा एमाले र नेपाली काँग्रेसको अपवित्र गठबन्धनलाई विश्वासको मत दिन नसकिने बताए ।
सत्ताधारी नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले आफ्नो पार्टी प्रदेशको सरकार गठनका बेला भएको सहमति र समझदारीमा अडिग रहेको बताए । दुई दलबीच बराबरी समय नेतृत्व गर्ने सहमतिअनुसार नै एमाले अघि बढेको उनले बताए । बागमतीको समृद्धिका लागि वर्तमान सरकारलाई विश्वास मत दिन तयार रहेको उनले घोषणा गरे । ‘हाम्राबीच थुप्रै चुनौती छन् । ती सबै कुरा सहमतिमै समाधानको विकल्प छैन । समृद्ध बागमती र राजनीतिक स्थायित्वका लागि दुई दल मिल्दा धेरै सुधारका काम भएका छन् । त्यसैले हामी विश्वासको दिन्छौँ,’ उनले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद उद्धव थापाले नयाँ सरकारले राम्रो काम गरोस् भन्दै शुभकामना व्यक्त गरे । वर्तमान सरकारबाट प्रदेशका जनता विश्वस्त हुन नसकेको उनले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरुद्धमा रहेकोले प्रदेश सभामा रचनात्मक प्रतिपक्षको भूमिकामा रहेको बताए । नेपाल कम्युनिष्ट पार्टी ‐एकीकृत समाजवादी)का सांसद कृष्णप्रसाद शर्मा खनालले सत्तामा रहेका दुई दलका कारणले प्रणालीमाथि नै अस्थिरता निम्तिएको बताए । उनका अनुसार सरकार प्रदेशको सुशासन र समृद्धिभन्दा सत्ताधारी दल पदको खेतीमा लागेका छन् । एक वर्षमै आफ्नै दलका नेता परिवर्तन गरेर नेतृत्व चयन गर्नुपर्ने के बाध्यता आइलाग्यो जनातालाई जवाफ दिनुपर्ने उनले बताए ।
नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाईले प्रदेश सभामा नयाँ मुख्यमन्त्री, मन्त्री बनाउने जात्रा चलिरहेको बताएका थिए । प्रदेशमा आठ वर्षमा ६ वटा सरकार परिवर्तन र ९० मन्त्री बनाउने कुरा गम्भीर समीक्षाको विषय भएको उनले बताए । आफ्नो पार्टीले जनताको पक्षमा काम गरिरहेको भन्दै अहिले भइरहेको दुई दलीय तानाशाही प्रवृत्ति मौलाएको नेमकिपा सत्ताको फोहोरी खेलमा नलागेको भन्दै मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा नरहेको स्पष्ट पारे ।
प्रदेश सभामा विश्वासको मत माग्दै मुख्यमन्त्री बानियाँले नेपाली काँग्रेस एकढिक्का रहेको बताएका थिए । काँग्रेस अरुलाई पनि मिलाएर लैजान सक्ने पार्टी भएको उनको दाबी थियो । पार्टीभित्र स्वभाविक रूपमौ वादविवाद, संवाद र नेतृत्वको विमर्श र प्रतिस्पर्धा हुने भन्दै त्यो संस्कार लोकतान्त्रिक प्रक्रिया भएको बानियाँले बताए । सभामा बोल्नै उनले भने, ‘विश्वासको मत मागेको छु । मेरो नेतृत्वले विगतको भन्दा राम्रो काम गर्ने विश्वास दिलाउन चाहन्छु ।’ सरकार न्यायमुखी, आयमुखी, सेवामुखी, गरिबमुखी, विकासमुखी, पारदर्शी, उत्तरदायी, जवाफदेही र जिम्मेवार रहने प्रतिबद्धता गर्दै विश्वासको मत दिन उनले अपिल गरेका थिए ।
जब देउवाले भने, ‘मत दिन हेटौँडा जानु, माग पूरा हुन्छ’
साउन ९ गते बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध नेपाली काँग्रेस बागमती प्रदेश सभाका सदस्य इन्द्रबहादुर बानियाँको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता भयो । लगत्तै लामा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट मन्त्री भएका ४ जना मन्त्रीले सामूहिक राजीनामा दिए । साउन १३ गते थप एक मन्त्रीले राजीनामा दिएका थिए ।
लामाले साउन १४ गते गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए । तर, सत्ता साझेदार नेकपा एमालेको असहमतिपछि उनीहरूको सपथ नै रोकिएको थियो । विवादको उत्कर्षमा रहेकै बेला साउन १५ गते त संसदीय दलको नेताकै लागि निर्वाचन भयो । निर्वाचनमा बानियाँको पक्षमा २२ सांसदले मतदान गरे । लामाले १४ मत पात्रै पाए । संसदीय दलको नेताको हैसियत गुमाइसकेपछि पनि उनले राजीनामा दिन मानेनन् ।
अन्ततः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनपछि साउन १८ गते लामाले पदबाट राजीनामा दिए । सभापति देउवासँग उनले आफूले नियुक्त गरेका तीन मन्त्रीहरूको निरन्तरताको माग गरेका थिए । देउवाको आश्वासनपछि उनी राजीनामा दिन राजी भए । लामा २०८१ साउन ९ गते मुख्यमन्त्री बनेका थिए । एक वर्ष नौ दिन बागमती सरकारको मुख्यमन्त्री रहेका लामाको पार्टीको आन्तरिक किचलोबीच दुःखद वर्हिगमन भयो ।
साउन २० गते लामालाई विस्थापन गर्न सफल भएका इन्द्रबहादुर बानियाँलाई बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री नियुक्त गरे । लगत्तै बानियाँले काँग्रेस र नेकपा एमालेसहित आठ मन्त्री नियुक्त गरे । मन्त्री मण्डलमा निवर्तमान मुख्यमन्त्री लामाले नियुक्त गरेका तीनजना अटाएनन् । पार्टी सभापति देउवासँग भएको सहमति कार्यान्वयन नभएपछि लामा पक्ष रुष्ट बन्यो । मंगलबार बानियाँले विश्वासको मत लिने तयारी गरेपछि लामा पक्षले विश्वासको मत नदिने अडान लियो ।
लामा १४ जना सांसद बोकेर हेटौँडाबाट काठमाडौँ हानिए । आफ्ना माग पूरा नभए कुनैपनि हालतमा मत नदिने अडान लामा पक्षको थियो । लामा समूहकै असहयोगका कारण विश्वासको मत नपाउने निश्चित भएपछि मंगलबार दिउँसो बोलाइएको प्रदेश सभा बैठक नै ४ बजेका लागि सारिएको थियो ।
अन्ततः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको फोनपछि लामा समूह बानियाँलाई विश्वासको मत दिन तयार भयो । देउवासहितका नेताहरूले लामासँग भएको सहमति कार्यान्वयन गर्ने माग पूरा गर्ने उधारो आश्वासनपछि लामा समूह हेटौँडा पुगेर विश्वासको मत दिएको हो ।









प्रतिक्रिया दिनुहोस्