जुम्ला ।
जिल्लाको चन्दननाथ नगरपालिका–४ मा रहेको धिमिचौर पछिल्लो समयमा आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकासित हुँदै गएको छ । पर्यटकीय सम्भावना बोकेको धिमिचौर आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको हो । यहाँका पाटनमा फूलेका फूलहरूको सुगन्ध लिने, रमणीय वातावरणसँग रमाउने र मनोरम दृश्यावलोकनका लागि पर्यटन आकर्षित हुँदै गएका स्थानीय बताउँछन् ।
यस ठाउँले पर्यटकलाई आकर्षित गर्नुका साथै आनन्दित बनाउनु भएकाले आन्तरिक पर्यटकको आगमन बढ्दै गएको चन्दननाथ नगरपालिकाका प्रमुख सुरेन्द्रबहादुर महतले बताए । स्थानीय सरकारले यसको प्रचारप्रसार गर्ने, पर्यटकीय गतिविधि सञ्चालन, पर्यटन प्रवद्र्धनलगायत क्षेत्रलाई महत्व दिएर काम गरिरहेको उनको भनाइ छ ।
‘यहाँसम्म पुग्नका लागि सडक विस्तार भएको छ । यसलाई थप स्तरवृद्धि गर्दै जाने योजना नगरले बनाएको छ । सदरमुकाम खलङ्गाबाट करिब एक घण्टाको पैदलयात्रामा पर्ने धिमिचौर आन्तरिक पर्यटकको चहलपहल बढेको छ’, उनले भने । घना जंगलको बीचमा ठूलोे फाँट, त्यही फाँट हो धिमिचौर । अहिले विशेषगरी साउन र भदौमा धिमिचौर पर्यटकले भरिभराउ हुन्छ । शुक्रबार र शनिबार तथा बिदाको दिनमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीय हिम्मत बुढ्थापाले जानकारी दिए ।
धिमिचौरमा घुम्न आउनेको सङ्ख्या बढेपछि पाटनसम्मका फाँटमा बिस्कुट, चाउचाउका प्लास्टिक, सिसा, रेडबुल र पानीका बोतल भेटिने बताउँदै लक्ष्मी खत्रीले पर्यटकीय गतिविधि बढेसँगै आयआर्जन बढ्नुका साथै वातावरणमा फोहर पनि बढिरहेको उल्लेख गरिन् । फोहर व्यवस्थापनका लागि ठाउँठाउँमा फोहर फाल्ने खाडलको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिइन् ।
‘पहिला बाउबाजेले बर्खायाममा गाईगोठका रूपमा प्रयोग गर्ने धिमिचौर अहिले आन्तरिक पर्यटनको मुख्य गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । स्थानीय सरकारले पूर्वाधार विकाससँगै फोहर व्यवस्थापनको पहल गरे थप पर्यटन प्रवद्र्धन भई स्थानीयको आर्थिकस्तर सुधार हुँदै जाने थियो’, उनले भनिन् ।









प्रतिक्रिया दिनुहोस्