साढे २२ हजारमध्ये २५ सयमा उच्च रक्तचाप



वीरेन्द्रनगर ।

कर्णाली प्रदेशका १० जिल्लामा २२ हजार ७५१ जना नागरिकको स्वास्थ्य परीक्षण गर्दा दुई हजार ५३६ जनामा पहिलो पटक उच्च रक्तचाप देखिएको छ । आर्थिक वर्ष २०८१–०८२ मा प्रदेशका १३ वटा स्थानीय तहमा स्वास्थ्य परीक्षण अभियान चलाइएको थियो । स्वास्थ्य परीक्षण गर्दा ठूलोे सङ्ख्यामा उच्च रक्तचाप, मधुमेह र मिर्गौला सम्बन्धी समस्या देखिएको हो । जसले नसर्ने रोगको भयावह रहेको पृष्टि गरेको छ ।

स्वास्थ्य परीक्षण गरिएकामध्ये दुई हजार ५३६ जनामा पहिलो पटक उच्च रक्तचाप र एक हजार ४२८ जनामा मधुमेहको समस्या पहिचान भएको छ । यस्तै ७९४ जनामा मिर्गौला सम्बन्धी प्रारम्भिक समस्या देखिएको छ । यो कार्यक्रम सामाजिक विकास मन्त्रालय, जिल्ला जनस्वास्थ्य÷स्वास्थ्य सेवा कार्यालयहरू र स्थानीय तहहरूको संयुक्त र समन्वयमा गरिएको हो । सामाजिक विकास मन्त्री घनश्याम भण्डारीका अनुसार स्वास्थ्यकर्मीहरूले नागरिकको घरदैलोमै पुगेर परीक्षण तथा परामर्श सेवा प्रदान गरेका हुन् ।

यो अभियान यसअघि हुम्लाको नाम्खा र खार्पुनाथ गाउँपालिका, मुगुको मुगुमकार्मारोङ गाउँपालिका, जुम्लाको पातारासी र कनकासुन्दरी गाउँपालिकामा सञ्चालन भएको थियो । यस्तै दैलेखको डुंगेश्वर र भगवती माई गाउँपालिका, सुर्खेतको गुर्भाकोट नगरपालिका, सल्यानको कपुरकोट र कालिमाटी गाउँपालिका र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा सञ्चालन गरिएको थियो । त्यस्तै जाजरकोटको छेडागाड नगरपालिका र शिवालय गाउँपालिकामा पनि अभियान चलाइएको छ ।

कार्यक्रममा पहिचान भएका बिरामीहरूलाई थप उपचार र नियमित परामर्शका लागि नजिकको स्वास्थ्य संस्था तथा अस्पतालमा जान सिफारिस गरिएको छ । यसका साथै नसर्ने रोगहरूको रोकथामका लागि योग–ध्यान जस्ता कार्यक्रमलाई समेत जिल्ला सदरमुकामहरूमा विस्तार गरिएको मन्त्रालयले जनाएको छ ।

‘यो कार्यक्रमले नसर्ने रोगको बढ्दो जोखिमलाई समयमै पहिचान गरी कर्णालीका नागरिकको जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका खेलेको छ’ मन्त्री भण्डारीले भने, ‘आगामी दिनमा यस्ता अभियानलाई अझै व्यापक बनाउनुपर्ने आवश्यकता छ । सोही अनुसार सरकारले प्रदेशभरका सबै नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने लक्ष्य छ ।’

‘बिना लक्षण शरीरलाई भित्रभित्रै कमजोर बनाउने ‘साइलेन्ट किलर’ रोगहरूको समयमै पहिचान गरी नागरिकलाई उपचारको दायरामा ल्याउनु र ठूलोे आर्थिक भारबाट जोगाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । चालू आर्थिक वर्षबाट ७९ वटै स्थानीय तहसँग समन्वय गरी वडास्तरबाटै परीक्षणलाई नियमित बनाउने तयारी छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २४ गते शनिबार