प्रचण्ड खत्री । रूकुम पश्चिम ।
सरकारले ‘शून्य होम डेलिभरी’ अर्थात् घरमा हुने प्रसूतिलाई शून्यमा झार्ने नीति लिएपनि रूकुम पश्चिममा भने अझैपनि ‘होम डेलिभरी’ रोकिन सकेको छैन् । गत आर्थिक वर्षमा २८ वटा प्रसूति घरमै भएका छन् । स्वास्थ्य सेवा कार्यालय रूकुम पश्चिमका अनुसार गत वर्षभरिमा २८ जना महिला घरमै सुत्केरी भएको तथ्यांक छ । यो सङ्ख्या गर्भ जाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने र घरमै सुत्केरीपश्चात् महिला स्वास्थ्य स्वयंसेविका वा स्वास्थ्य संस्थामा जानकारी आएको सङ्ख्या मात्र हो ।
स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई जानकारी नभई घरमै सुत्केरी हुनेको सङ्ख्या अझ धेरै हुनसक्ने अनुमान गरिएको छ । स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक कालीबहादुर ओलीले विशेषगरी बर्थिङ सेन्टर नभएका वा टाढा भएका ठाउँमा धेरै होम डेलिभरी हुने गरेको बताए । यस्तो सङ्ख्या बाँफिकोट गाउँपालिकामा धेरै रहेको उनको भनाइ छ । उनका अनुसार गत एक वर्षको तथ्यांक हेर्ने हो भने जिल्लाभरीमा २८ जना महिला घरमै सुत्केरी भएकामा १९ जना बाँफिकोट गाउँपालिकाका मात्र रहेका छन् ।
त्यस्तै जिल्ला सदरमुकामसमेत रहेको मुसिकोट नगरपालिकामा समेत होम डेलिभरी शून्यमा झर्न सकेको छैन् । गत वर्ष मुसिकोटमा ६ जना बच्चा घरमै जन्मिएको सूचना अधिकारी ओलीले जानकारी दिए । चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा एक एक जना महिला घरमै सुत्केरी भएका छन् । दुर्गम र सबै ठाउँमा स्वास्थ्य संस्थाको सहज पहुँच नभएको भनिएको आठबीसकोट नगरपालिकामा भने गत वर्ष घरमै सुत्केरी हुने महिला एक जना पनि नरहेको सूचना आएको ओलीको भनाइ छ ।
बर्थिङ सेन्टर नै नभएका र टाढा भएका कारण स्वास्थ्य संस्थासम्म पुग्न समय लाग्ने भएकोले केही महिला बाटोमै समेत सुत्केरी हुने गरेको उनको भनाइ छ । अझैपनि विभिन्न कारणले महिलाहरूलाई सुत्केरी गराउन अनिवार्य स्वास्थ्य संस्थामै पु¥याउनुपर्छ भन्ने चेतना सबै नागरिकमा हुन नसकेको स्वास्थ्यकर्मीको भनाइ छ । घरमा हुने प्रसूतिले आमा तथा नवजात शिशु दुवैको स्वास्थ्य जोखिममा हुने भएकोले नियमित गर्भ जाँच र प्रसूतिका लागि अनिवार्य स्वास्थ्य संस्थामै पुग्नुपर्ने स्वास्थ्यकर्मीहरूको सुझाव छ । जिल्लामा गत वर्ष कूल २ हजार ९ सय ३१ जना महिला स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् ।
जसमा २ सय ६० महिलालाई अप्रेसनमार्फत सुत्केरी बनाइएको हो भने अन्य सामान्य अवस्थामा सुत्केरी भएका हुन् । अप्रेसन जिल्ला अस्पताल सल्ले र चौरजहारी अस्पतालमा मात्र हुने गरेको छ । जिल्ला अस्पतालमा ९८ जनाको अप्रेसन भएकोमा चौरजहारी अस्पतालमा १ सय ६२ जना महिलालाई अप्रेसन गरेर सुत्केरी बनाइएको जिल्ला अस्पताल रूकुम पश्चिमको तथ्यांक छ ।









प्रतिक्रिया दिनुहोस्