स्यार्पुतालमा बढ्दै पर्यटकको सङ्ख्या



प्रचण्ड खत्री । रूकुम पश्चिम ।

रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ४ को बीचमा रहेको स्यार्पुतालमा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । ताल बढेर हेर्नलायक भएपछि पर्यटनको सङ्ख्या बढ्न थालेको हो । कर्णाली प्रदेशका राराताल, फोक्सुण्डोताल पछिको स्यार्पुताल पर्ने गर्दछ । रूकुम पश्चिमको सदरमुकाम खलंगाबाट करिब ३ घण्टाको पैदल यात्रापछि तालमा पुग्न सकिन्छ भने दुई पाँग्रे सवारीसाधनमा १ घण्टा र ४ पाँग्रे सवारीसाधनमा डेढ घण्टामा स्यार्पुतालम पुग्न सकिन्छ ।

स्यार्पुतालमा पुगेपछि स्वर्ग पुगेजस्तो हुन्छ । विशेषगरी ताल हेर्न पर्यटकहरू शनिबारको दिन बिदा मिलाएर आउने गर्दछन् । तालमा पुगेपछि मनोरञ्जन गर्नुकासाथै फोटो खिच्नेको भिडसमेत हुने गरेको स्थानीय बताउँछन् । कोही बास बस्नलाई स्यार्पुताल पुग्छन् भने कोही बिहान गएर साँझ फर्किने गर्दछन् । तालको अवलोकन गर्न रूकुम पूर्व, जाजरकोट, सल्यान, सुर्खेत, दाङ, नेपालगन्ज, संघीय राजधानी काठमाडौँबाट समेत पर्यटकहरू आउने गर्दछन् । स्यार्पुतालमा पुगेपछि पर्यटकहरू डुङ्गा चढेर मनोरञ्जन लिने गरेका छन् ।

पर्यटकहरू बढ्न थालेपछि स्थानीय व्यवसायीहरू खुसी भएका छन् । स्यार्पुताल पुगेपछि पर्यटकहरू स्थानीयस्तरमा उत्पादित बस्तुहरू प्रति आकर्षित हुने गरेका छन् । त्यस ठाउँका होमस्टेले भने पाहुनालाई महङ्गो रकम लिने गरेको पोखराबाट घुम्न आएका लिलाधर पन्डितले दुखेसो पोखे । आफूहरूले २ रात बसेर खाना खाएको मात्रै ६ हजार रूपैयाँँ तिर्नुपरेको पन्डितको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत याजन थापाले उक्त तालको प्रचारप्रसार, संवर्धन तथा प्रवद्र्धन गर्न स्थानीय सरकारको जिम्मेवारी रहने बताए । आफू भर्खरै हाजिर भएको र यसको व्यवस्थापनका गर्दै पालिकाले न्यूनतम शूल्क व्यवस्थापन गरेर व्यवसायीहरूलाई करको दायरामा समेत ल्याइने उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १९ गते सोमबार