बाजुरा ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा एक महिलाले बाटामै बच्चालाई जन्म दिएकी छन् । गाउँपालिकाको वडा नम्बर १ रुढी बस्ने अन्दाजी १८ बर्षकी सुचना दमाईले शुक्रबार दिउँसो स्वास्थ्य संस्था जाँदै गर्दा बाटोमै बच्चालाई जन्म दिएकी हुन् । सुत्केरी व्यथा लागेपछि सुचना रुढी गाउँबाट करिब २ घण्टा लाग्ने साप्पाटा स्वास्थ्य संस्थामा जाँदै थिइन् । गाउँकै दुई जना महिलाहरूको सहयोगमा पैदल हिँडेर स्वास्थ्य चौकी पुग्न अझै डेढ घण्टा बाँकी थियो । करिब आधा घण्टा पैदल हिँड्दै जाँदा लेम्नामा प्रसव व्यथाले च्याप्दै गएपछि हिँड्न नसक्ने भइन् ।
सुचना बाटोमै सुत्केरी व्यथाले छट्पटिएपछि न बोकेर लैजान सक्ने अवस्था थियो, न त एम्बुलेन्स नै । आफन्तले तत्काल डेढ घण्टा टाढा रहेको साप्पाटा स्वास्थ्य संस्थामा खबर गरे । स्वास्थ्य संस्थाबाट हतार हतारमा अनमी रेखा कट्टेल र सुइपर सुनकटा विक व्यथा लागेर छट्पटिएको ठाउँ लेम्नामा पुगे । अनमी रेखा त्यहाँ पुग्दा सुचनाले छोरालाई जन्म दिइसकेकी थिइन् । साल भित्र अड्किएको थियो, अत्यधिक रगत बगिरहेको थियो । नालसमेत काटिएको थिएन् । रेखाले अड्किएको साल झिकिन्, नालको व्यवस्थापन गरिन् ।
सुचनालाई त्यही ठाउँमा प्रसूति सेवा दिनुका साथै उपचार गरेर शिशु र आमालाई घर पठाइन् । अनमी रेखा भन्छन्, ‘हतार हतारमा गयौँ, साल अड्किएर रगत बगिरहेको थियो, प्रसव पीडाले छट्पटिरहेकी थिइन् । म समयमै नपुगेको भए आमाको ज्यान जोखिम हुनेथियो, धन्न आमा र बच्चालाई बचाउन सफल भयौँ ।’ अहिले आमा र बच्चा खतरामुक्त छन् भने घरमा पनि आफ्नो निगरानीमा रहेको रेखाले बताइन् ।
रेखाकी सहयोगी सुइपर सुनकटा र सामुदायिक स्वास्थ्य इकाइ जिजुवामा कार्यरत अहेब पालकुमारी विक रहेकी थिइन् । रेखा करार अनमी हुन्, तर उनी दुर्गम गाउँमा निस्वार्थ भावनाले यसरी जोखिम आमा र बच्चाको ज्यान जोगाइरहेकी छन् । बाजुराका दुर्गम गाउँका महिलाहरू अहिले पनि भौगोलिक विकटता, स्वास्थ्य संस्थाको सहज पहुँच नहुनु र यातायातको समस्याले जोखिमपूर्ण अवस्थामा बाटोमै बच्चा जन्माउन बाध्य छन् ।









प्रतिक्रिया दिनुहोस्