अहिले म कोहलपुर दशबिघा नजिकै रहेको होटल ट्री टप हेभनमा सेफ चिफको रूपमा काम गरिरहेको छु । म यहाँको म्यानेजर पनि हुँ । तर, मलाई म्यानेजरभन्दा पनि म आफूले आफूलाई सेफ भन्न रुचाउँछु । मलाई यसैमा गर्व महसुस हुने गर्छ । मैले होटल क्षेत्रमा लाग्न धेरै दुःख, परिश्रम र संघर्ष गर्दै सेफ भएर आज यहाँसम्म आइपुगेको हुँ । त्यसैले म्यानेजर दुई दिनको हो तर, सेफ सधैँ सेफ हो ।

मेरो नाम तिलक शाही । म अहिले ३७ वर्षको भएँ । अहिले म कोहलपुर दशबिघा नजिकै रहेको होटल ट्री टप हेभनमा सेफ चिफको रूपमा काम गरिरहेको छु । म यहाँको म्यानेजर पनि हुँ । तर, मलाई म्यानेजरभन्दा पनि म आफूले आफूलाई सेफ भन्न रुचाउँछु । मलाई यसैमा गर्व महसुस हुने गर्छ । मैले होटल क्षेत्रमा लाग्न धेरै दुःख, परिश्रम र संघर्ष गर्दै सेफ भएर आज यहाँसम्म आइपुगेको हुँ । त्यसैले म्यानेजर दुई दिनको हो तर, सेफ सधैँ सेफ हो । मैले सामान्य खेती किसानी गर्ने घरपरिवारमा जन्म लिएँ । बाबा मानबहादुर शाही र आमा खिमा शाहीको कोखबाट तेस्रो सन्तानका रूपमा मैले जन्म लिएँ । मेरो आमा र बाबा कृषि पेसा गर्नुहुथ्यो । हाम्रो पहिलो पहाड घर सुर्खेतको सिम्ता साउखोला भन्ने ठाउँमा हो । मेरो जन्म पनि त्यतै भयो । मेरो बाल्यकाल आधा त्यतै बित्यो ।
केही समय त्यतै गाउँनजिकै रहेको श्री नेरा माविमा अध्ययन गरेँ । पछि हामी बसाइँसराइ गरेर बाँकेको बैजनाथ–२ नौवास्तामा आयौँ । म त्यतिखेर जम्मा १० वर्षको थिएँ । अहिले हामी बैजनाथ आएको २५ वर्ष भयो । सुरुवाती दिनहरूमा पहाडबाट तराई झरेकाले भाषा र यहाँका मानिसहरूसँग घुलमिल हुन केही कठिनाइ भयो । मलाई याद छ । हामी बसाइँसराइ गरेर भर्खर बैजनाथ आएका थियौँ । त्यहाँ थारु समुदायको बाहुल्यता रहेछ । अहिले पनि छ । मलाई एउटा बुढी आमाले थारु भाषामा मेडिकल कहाँ नजिक छ बाबु भनेर सोध्नु भएको रहेछ । मैले भाषा नबुझेर उत्तर दिन नसक्दा आमाले अस्पताल खोज्न दुःख पाउनु भएको छ । मेडिकल मेरो घरनजिकै थियो । सबैले हामीलाई पहाडीया भन्थे ।
बैजनाथ आएपछि जनता मावि गढवामा कक्षा ६ बाट पढ्न सुरु गरेँ ।
पछि विस्तुारै घरपरिवारको अवस्था नाजुक बन्दै गयो । मैले कक्षा १० पास गर्नासाथ गाउँको अंकलसँग काम गर्न इन्डियाको गुजरातमा गएको थिएँ । त्यहाँ वेटरहरूको हेल्परको रूपमा काम गरेँ । पोचा लगाउनेदेखि भाँडा माझ्ने काम गर्नुपथ्र्यो । तर, समयमै काम गरेको तलब नपाउँदा ३ महिना मात्रै काम गरेर छाडेर नेपाल आएँ । यहीँ सम्झनामा भर्खर खोलेको एउटा होटल थियो । त्यसमा केही समय काम गर्न पाएँ । पछि पुनः इन्डिया दाइले काम गर्ने होटलमा काम गर्न थालेँ । एक दिन मैले पनिर दिनुन सेफ भनेर भन्दा सेफले आफूले लगाएको ड्रेस देखाउँदै यस्तो ड्रेस लाउनु पर्छ पनिर खान भन्नु भो । मैले त्यसपछि आफू पनि सेफ बनेर देखाउने इख लिएर काम गर्न थालेँ । भाँडा माझ्ने काम गर्दै गर्दा मलाई एकदिन साहुले सेफमा राख्दिनु भयो । मेरो इमान्दारिता र कामप्रतिको लगाव देखेर होला ।
म त्यो दिन सारै खुसी भएँ । मेरो सपना पूरा जस्तै भएको थियो । भाँडा माझ्ने मान्छे एक्कासि सेफ हुन पाउँदा खुसीको सीमा नै थिएन । त्यहाँ काम गर्दै गर्दा एकदिन पत्रिका पढ्दै थिएँ । कर्मचारी चाहिएको सूचना छापिएको थियो । ठाउँ केही थाहा थिएन । म एक्लै खोज्दै त्यहाँ गए । म दुई वर्षजति बसेकाले गुजराती भाषा अलि बोल्न आउने गथ्र्याे । नेपालीले नेपालीलाई सपोर्ट गर्दैनन् विदेशमा । त्यहाँ पुग्दा नेपाली साथीहरूले ‘जब खाली रहेको आवेदन छैन्’ भनेर मलाई पठाइदिए । पछि मैले चिनेको व्यक्ति भेटाएपछि थाहा पाएँ । आवेदन खुला नै रहेछ । पछि मैले ट्रायल दिएपछि पास भएँ । पछि त्यहाँ सेफ हुँदै सेफ चिफको रूपमा समेत काम गर्न पाएँ । त्यहाँ मेरो ४२ सय तलब थियो । इन्डियाका ठुला कलाकारहरूलाई समेत होटलमा खाना खुवाउने अवसर पाएको थिएँ । त्यसबेला कलिलो २० वर्षको उमेरको थिएँ । मैले तेक्वान्दो सिक्ने, होटलमा काम गर्ने र समय मिले होटलसम्बन्धी पढ्ने गर्थेँ । समय भने एकछिन पनि खाली हुन्थेन् ।
होटल लाइनमा धेरै ठाउँमा दुःख र संघर्ष गर्दै सिक्दै आइयो । मेरो इमान्दारिता र कर्मलाई देखेर एक रूपैयाँको सिक्का टिप्स दिने गर्थे । मेरो तलबभन्दा धेरै त म टिप्स कमाउँथे । त्यो समयमा दिदीको बिहे भयो । दाई पनि छुट्टियर बस्नु भएकाले परिवारको जिम्मेवारी ममाथि थपियो । त्यो समयमा हाम्रो परिवारको अवस्था दयानीय थियो । काम गर्दै जाँदा विदेसिनुपर्ने अवस्था आयो । मैले भिसा लगाएर मलेसिया गएँ । सुरुवाती दिनहरूमा केही थाहा थिएन मलाई । होटल लाइनमा काम गरेको मान्छे सनमाइका काम गर्नुपर्ने । म गएको एक वर्ष मात्रै भएको थियो । त्यो समयमा नेपालमा इकोनमिक डाउन भएकाले विदेशमा गएकालाई नेपाल फर्काएको थियो । विदेशबाट फर्केकामध्ये एक व्यक्ति म पनि हुँ ।
कमाइ केही पनि भएको थिएन । त्यसपश्चात् नेपाल फर्केर मैले विवाह गरेँ । पछि फेरी मलेसियाको भिसा लगाएँ ।
एक वर्ष पहिले पनि मलेसिया गएर फर्केकाले पुनः पछि जाँदा भाषा अलिकति आउने भएकाले सहज भयो । राम्रो कमाइ पनि भयो ।भाइहरूलाई पढाउने र दिदीको बिहेसमेत गराउन सफल पनि भएँ । घरपरिवारको अवस्था पनि सुधार भयो । घर बनाउनेदेखि जग्गासमेत पछि थप्न सफल भएँ । आमा बाबा सबै अहिले खुसी छन् । अहिले पनि मेरो कामले श्रीमती मात्र नभई परिवार सन्तुष्ट छन् । त्यसैले होला अन्य भाइहरूसँग नभई आमा बाबा म सँगै बसेका छन् । गरिब परिवारमा हुर्केकाले परिवार चलाउन धेरै संघर्ष गरेँ । राम्रोसँग पढ्न पाइएन । परिवार गुजाराका लागि धेरै ठाउँहरूमा पुगेँ । कति हण्डर खाएँ । तर, मैले हार कहिल्यै खाइनँ ।
अहिले जेहोस् खाना लाउन पुगेको छ । सुरुवातका दिनहरूमा होटलतर्फ काम गर्छभन्दा सबैले नराम्रो तरिकाले हेर्थे । ह्या होटलमा भाँडा माझ्छ होला । पोचा लाउँछ होला भन्थे । ८ वर्ष विदेश बसेर नेपाल छुट्टिमा आएको थिएँ । पछि पारिवारिक कारणले गर्दा म विदेश गइनँ । हाम्रा तीन भाइ अलग भयौँ । एक्लै आमा बाबा र श्रीमती छाडेर जाने अवस्था रहेनन । मैले यतै रहेका होटलहरूमा काम गर्ने निर्णय लिएँ । २०७६ सालमा सेन्टर प्लाजामा मसँग भएका डकुमेन्ट लिएर गएँ । स्टाफ खाना बनाएर त्यहाँ काम गर्न सुरु गरेँ । पछि सिनियर सेफ बनेर समेत काम गरेँ । 
झप्पै लकडाउन लागेपछि काममा नआउनु भनेपछि मैले घरपरिवार चलाउन र घर बनाउँदाको केही ऋण तिर्न बाँकी थियो । ऋण तिर्न गाउँका सबैको खेत गोरुले जोतेर पैसा कमाउने गर्थेँ । मनले नमानेपछि किराना पसल समेत राखेँ । त्यहीँ मासु काट्ने बेच्ने गरेँ । पछि श्रीमतीलाई पसल छाडेर अटोसमेत किनेर चलाएँ । एक छोरीसमेत जन्मेकी थिइन् । जसोतासो परिवार चलाएँ । पछि विस्तुारै लकडाउन खुल्यो । पुनः नेपालगन्जमा रहेको होटल भेरीमा काम गर्न सुरु गरेँ । केही महिना काम गरेपछि कोहलपुर होटल म्याक्समा आएँ । सबै मेरो अण्डरमा चलिरहेको थियो ।
त्यहाँ आएपछि काम गर्दै गर्दा थाहा भयो । सेफका लागि पनि कम्प्युटर स्किल चाहिन्छ । मैले पहिला राम्रोसँग पढ्न नपाएकाले पढ्दै काम गर्दै गरेँ । कम्प्युटर र होटल म्यानेजमेन्टसमेत पढेर सक्काएँ । अहिले काम गरेको अनुभवको सर्टिफिकेट मसँग छन् । मलाई पढ्नुपर्ने रहेछ भन्ने कुराको पछि महसुस हुन थाल्यो । आफूलाई समयअनुसार परिपक्व बनाउन र राम्रो सेफ हुन सबै कुराहरू अपग्रेड गर्दै गएँ । पछि फेरी विदेश जाने भूत चढ्यो । मालदिभ्स पठाउने भनेर हामीलाई दलालले ठग्यो । ५ लाखभन्दा धेरै त्यत्तिकै डुबाएर म घर फर्केँ । विभिन्न ठाउँहरूमा आफ्नो अनुभव सिकाउन जान्थेँ । जीवनमा धेरै पटक हण्डर र ठक्कर खाएँ । तर, हार कहिल्यै खाइनँ । म त धेरै संघर्ष गरेको मान्छे हुँ ।
पछि नेपालमा आएर पुनः आफूभित्र भएको क्षमताअनुसार काम पाएँ । बाँके र बर्दियाका धेरै होटलहरूमा काम गरिसकेको छु । क्षमता भए नेपालमा मासिक ६० हजार कमाउन सकिन्छ भन्ने लाग्छ । काम गर्दै जाँदा दुःख सँगसँगै धेरै कुराहरू सिक्न पाएँ । परिवारको साथ र सपोर्ट पाएँ। एकदिन अचानक होटल ट्री टप हेभनका सञ्चालक निरज चलाउनेसँग भेट भयो । उहाँसँग कुराकानी गर्दा चिनजान भयो । सरले मलाई अफर गर्नुभयो । एक्जुकेटिभ सेफको रूपमा म यहाँ आएको थिएँ । भवन निर्माण आधा भएको थियो । एकदुई महिना होटल सञ्चालन नहुँदा हेर्दिनु परो तिलकजी भनेर विश्वासले राख्नु भएको थियो । इमान्दारिताले सक्नेजति काम गरेँ । होटल २०८० मा सञ्चालनमा आयो । पछि विस्तुारै तला थप्दै पूरा भयो । अहिले सबैको साथ सपोर्टले आज म यहाँसम्म छु ।
अहिले परिवारको अवस्था पनि ठिक छ । पहिलाको भन्दा राम्रो भएको छ । दुई वटा छोराछोरी, श्रीमती र आमाबाबा छन् । खाना लाउन पुगेको छ । मैले जति दुःख पाएको छु । त्यो मेरा छोराछोरीहरूले भोग्न नपरोस् भनेर यति दुःख गरिहेको छु । उनीहरू पनि अहिले पढाइरहेका छन् । ६ बजेदेखि राति १० बजेसम्म यतै होटलमा मेरो समय बित्ने गर्छ । होटल सञ्चालकसँग पनि पारिवारिकजस्तै सम्बन्ध छ । त्यसले काम गर्न सहज भएको छ । हप्तामा एकदिन घर जाने गर्छु । अन्य समय यतै बित्छ । घरमा गएको खण्डमा आफूले पकाउन जानेको कुराहरू पकाएर खुवाउने समेत गर्छु । दसैँ र तिहारमा सबै जम्मा हुँदा पनि स्पेसल परिकार मलाई बनाउन भन्छन् । म पनि आफूले जानेका कुराहरू गर्न अल्छी मान्दिनँ । सबैले मिठो मानेर खाँदा छुट्टै खुसी मिल्छ । प्रस्तुतीः गणेश रावत









प्रतिक्रिया दिनुहोस्