नेपालगन्ज आइसिपी सञ्चालनका लागि खुला प्रतिस्पर्धाबाट टिआरएस एट्लस लजिपार्क प्रालिलाई छनोट गरिसकेको छ भने सञ्चालन एवम् व्यवस्थापन गरेबापत उक्त कम्पनीले पाँच वर्षमा २० करोड ८८ लाख बुझाउनुपर्नेछ । खुला प्रतिस्पर्धाबाट उच्च मूल्य बोलकबोल गर्ने कम्पनीलाई छनोट गरिएको हो ।नेपालगन्ज ।
नेपालगन्ज भन्सार जाँच चौकी (आइसिपी) निर्माणको काम सम्पन्न भएको छ । आइसिपीको ‘फिनिसिङ’को छिटफुट काम मात्रै बाँकी रहेकाले एक महिनाभित्र पूर्णरूपमा सञ्चालन गर्ने तयारी गरिएको छ ।
इन्टरमोडल यातायात विकास समितिले नेपालगन्ज आइसिपी सञ्चालनका लागि खुला प्रतिस्पर्धाबाट टिआरएस एट्लस लजिपार्क प्रालिलाई छनोट गरिसकेको छ । समितिका उपनिर्देशक हरिकृष्ण मिश्रका अनुसार सञ्चालन एवम् व्यवस्थापन गरेबापत उक्त कम्पनीले पाँच वर्षमा २० करोड ८८ लाख बुझाउनुपर्नेछ । खुला प्रतिस्पर्धाबाट उच्च मूल्य बोलकबोल गर्ने कम्पनीलाई छनोट गरिएको हो ।
नेपालगन्ज भन्सार जाँच चौकी बहुप्रतिक्षित आयोजना हो । भारत सरकारको सहयोगमा उक्त परियोजना बनेको हो । भारतले हस्तान्तरण गर्नेबित्तिकै सञ्चालनको जिम्मेवारी पाएको नेपाली निजी कम्पनीलाई आइसिपी हस्तान्तरण गरिनेछ । डिसेम्बर २०२२ मा सक्नुपर्नेमा कोरोनाका कारण पाँच महिना म्याद थप गरिएको थियो ।
आइसिपी क्षेत्रमा ब्लक बिछ्याउने र स्टिल स्ट्रक्चर संरचना निर्माण सकिएको र अधिकांश पक्की भवन निर्माण पूरा भइसकेको निर्माण कम्पनीले जनाएको छ । इन्टरमोडल यातायात विकास समितिले आइसिपीको काम सम्पन्न भइसकेको रूपमा लिएको छ । केही सामान्य काम बाँकी रहेकाले अब एक महिनाभित्र सञ्चालन हुने अनुमान गरेको छ ।
८८ बिघा क्षेत्रमा फैलिएको आइसिपीमा भन्सार, अध्यागमन, प्लान्ट तथा पशु क्वारेन्टिन, बैंक, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेकको व्यवस्था रहेको छ ।
सन् २००५ मा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण गर्न नेपाल–भारत सरकारबीच सम्झौता भएको थियो । नेपालको विराटनगर, वीरगन्ज, भैरहवा र नेपालगन्जमा आइसिपी निर्माण गर्ने सम्झौता एकैसाथ भए पनि विराटनगर र वीरगन्जमा निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।
आइसिपी सञ्चालनपछि नेपालगन्ज नाका हुँदै हुने आयात निर्यात प्रभावकारी हुने अपेक्षा गरिएको छ । कतिपयले आइसिपीसँगै सुक्खा बन्दरगाह पनि निर्माण गर्नुपर्ने माग अघि सारेका छन् ।
नेपालगन्ज भन्सार नाकामा सुक्खा बन्दरगाह निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । नेपालगन्ज पश्चिमको प्रमुख भन्सार नाकाका रूपमा स्थापित भए पनि एकीकृत भन्सार जाँच चौकीसँगै सुक्खा बन्दरगाह निर्माणको आवश्यक रहेकाले त्यसका लागि सरकारको ध्यानाकर्षण गराइएको हो ।
शनिबार नेपालगन्जमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासमक्ष नेकपा एमालेका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, वरिष्ठ उद्योगी सञ्जय अग्रवालले यो विषयको उठान गरेका हुन् ।
एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण भई सञ्चालनको अन्तिम चरणमा छ तर उक्त पूर्वाधारले तेस्रो मुकुलसँग हुने कारोबारलाई बढावा नदिने उनीहरूले बताएका छन् ।
एकीकृत भन्सार जाँच चौकीले हालकै भन्सार कार्यालयको कामको सहजीकरण र व्यवस्थापन गर्ने भए पनि यसले तेस्रो मुलुकसँग हुने आयात–निर्यातलाई खासै फरक नपर्ने मन्त्री ज्वालासँगको भेटपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
तसर्थ पश्चिम नेपालको प्रमुख भन्सार नाका भएका कारण नेपालगन्जमा आइसिपीलाई सुक्खा बन्दरगाहमा परिणत गर्नुपर्ने टड्कारो आवश्यक देखिएको उनीहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्