प्रेरणादायी दुई रोल्पाली गुरुङसेनी



गुरुङगाउँ सामुदायिक होमस्टेकी पूर्वसचिव समेत रहेकी पवित्रा गुरुङले विसं २०७२ मा गुरुङ संस्कृतिको प्रवद्र्धन र रोजगार सृजनाको उद्देश्यले गाउँलेसँग मिलेर होमस्टे सञ्चालन गरेकी थिइन् । समूहको साझेदारीमा सञ्चालन गरिएको होमस्टेले गाउँमा बाह्य पर्यटकको आकर्षण बढाएको थियो ।

खुमबहादुर सुनार । रोल्पा ।

रोल्पा नगरपालिका–४ का दुई महिलाले जीवनका कठिन संघर्षकाबीच स्वरोजगारमार्फत समाज र परिवारलाई उदाहरणीय प्रेरणा दिइरहेका छन् । ती महिलाहरू हुन्, गुरुङगाउँकी पवित्रा गुरुङ र बासगारीकी कुमारी गुरुङ । ३७ वर्षीया पवित्रा गुरुङले २०८१ असोज १ गतेदेखि रोल्पा सदरमुकाम लिबाङको टुँडिखेल नजिकै कच्ची घरमा सेलरोटी र चिया–नास्ता व्यवसाय सञ्चालन गर्दै आइरहेकी छन् ।

उनको दैनिकी बिहान ४ बजेदेखि सुरु हुन्छ । आफूले सुरुमा ५० वटा सेलरोटी बनाएर व्यवसाय सुरु गरेको उनी सम्झिन्छिन् । हाल गुरुङको सेलरोटी ग्राहकको मुख्य रोजाइमा पर्ने गरेको छ । उनका अनुसार हाल दैनिक १५० भन्दा बढी सेलरोटी र ८०–९० कप चिया बिक्री हुँदै आएको छ । महिनाको ४०–५० हजार रूपैयाँसम्म आम्दानी गर्न सफल पवित्रा बताउँछिन् ।

उनले भनिन् ‘सुरुमा त निकै डर लाग्थ्यो, तर सबै सेलरोटी बेचिएपछि आत्मबल बढ्यो ।’ रोल्पा जिल्ला ट्राफिक कार्यालयका प्रमुख पूर्णबहादुर रायमाझी भन्छन्, ‘साउने महिनामा यहाँको अर्गानिक सेलरोटी र चिया निकै स्वादिष्ट हुन्छ । बिहान–साँझ खान सहज, सफा र ग्यास्ट्रिक पीडितहरूका लागि उपयुक्त पनि ।’ गुरुङगाउँ सामुदायिक होमस्टेकी पूर्वसचिव समेत रहेकी पवित्रा गुरुङले विसं २०७२ मा गुरुङ संस्कृतिको प्रवद्र्धन र रोजगार सृजनाको उद्देश्यले गाउँलेसँग मिलेर होमस्टे सञ्चालन गरेकी थिइन् ।

समूहको साझेदारीमा सञ्चालन गरिएको होमस्टेले गाउँमा बाह्य पर्यटकको आकर्षण बढाएको थियो । ‘गाउँको मौलिक कला, संस्कार, नाचगान र खानपानकै कारण पर्यटक लोभिएर आउँथे । गाउँलेहरूलाई रोजगारी मिलेको थियो, हामीलाई पनि आम्दानी थियो तर, कोभिड महामारीले गर्दा होमस्टे व्यवसाय तहस–नहस भयो ।’ उनी भन्छिन्, ‘महामारीपछि समूहमा चलिरहेको होमस्टे बन्द भयो । आम्दानी बन्द भएसँगै छोराछोरीको शिक्षादेखि घरखर्च धान्नै मुस्किल भयो ।’

त्यसपछि उनले पुनः नयाँ सुरुवातको बाटो रोज्दै लिबाङमा सानो चिया नास्ताको पसल सञ्चालन गरिन् । अहिले उनी आफ्नै बलबुतामा परिवार सम्हाल्दै आएकी छिन् । रोल्पा नगरपालिका–४ बासगारीकी ३७ वर्षीया कुमारी गुरुङ विगत १० वर्षदेखि बंगुरपालन गर्दै आइरहेकी छन् । उनका श्रीमान मानबहादुर गुरुङको निधन २०७५ साल पुस १३ गते भएको थियो । त्यसपछि दुई सन्तानको पालनपोषणको सम्पूर्ण जिम्मेवारी उनले एकल रूपमा सम्हाल्न थालिन् ।

कुमारीले २०७४ सालमा सामूहिक रूपमा सुरु गरिएको बंगुर फर्मलाई पछि व्यक्तिगत रूपमा सञ्चालन गर्न थालिन् । श्रीमानको निधनपछि थप चुनौतीहरू आएपनि उनले खोरको सङ्ख्या बढाउँदै बंगुर व्यवसाय विस्तार गर्न सफल भइन् । ‘बिहान चाँडै उठेर फार्म जानुपर्छ, साँझमा अबेर फर्किनुपर्छ । दुःख धेरै भए पनि अहिले आम्दानी राम्रो छ,’ कुमारी भन्छिन् ।

हाल उनीसँग २१ वटा बंगुर छन् । विगतमा वार्षिक दुई लाख रूपैयाँ आम्दानी हुने फर्मबाट अहिले तीन–चार लाख आम्दानी हुँदै आएको छ । यसै आम्दानीबाट उनले छोराहरूको शिक्षादेखि घरखर्च व्यवस्थापन गरिरहेकी छिन् । स्थानीय सरकारले बजार क्षेत्र वरिपरि बंगुरपालनमा प्रतिबन्ध लगाउने नीति लिएको खबरपछि कुमारी चिन्तित भएकी छिन् ।

‘तीन वटा खोर बनाएको छु । यसलाई हटाउन भनेको छ रे ! अब म के गरुँ ?’ उनी भावुक हुँदै भन्छिन्, ‘श्रीमान गुमाएर दुःख–कष्ट गरेर खोर बनाएकी छु ।  अहिले हटाइयो भने सन्तानको पालनपोषण कसरी गरुँ ?’ कुमारीले वर्षौँदेखि व्यक्तिगत मेहनतले खोर निर्माण गर्दै बगुंरको हेरचाह गरिरहेकी छिन् । अहिले नगरपालिकास्तरमा लागु गरिएको नीति नियमप्रति उनी गुनासो गर्छिन् । स्थानीय बासिन्दा शिवप्रसाद आचार्य भन्छन्, ‘महिलाहरूले गरेका यस्ता संघर्ष गहिरो अर्थ बोकेको हुन्छ । अब स्थानीय सरकारको दायित्व हुन्छ, उत्पादनलाई प्रोत्साहन गर्ने र किसानमैत्री नीति लागु गर्ने ।’ त्यस्तै स्थानीयबासिन्दा मोलङ बुढा भन्छन्, ‘पवित्राज्यूको अर्गानिक सेलरोटी सबै कार्यक्रमहरूमा माग बढेको छ । बजारमा पाइनेभन्दा फरक स्वादका लागि उहाँलाई निम्त्याउने क्रम बढेको छ ।’

स्थानीय रामबहादुर बुढाथोकीले भने, ‘महिलाले मेहनत गरेर साँझ–बिहान गर्ने ससाना व्यवसायले परिवार मात्र होइन समाजलाई पनि सक्षम बनाएको छ ।’ पवित्रा गुरुङका छोराछोरी कक्षा १२ र १० मा अध्ययनरत छन् भने कुमारी गुरुङका जेठा छोरा १२ पास गरी भारत गएका छन् र कान्छा छोरा तुलसी इंग्लिस बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत छन् । दुवै महिलाको उद्देश्य सन्तानलाई राम्रो शिक्षा दिई भविष्य उज्यालो बनाउने हो ।

दुई महिलाको संघर्ष र व्यावसायिक यात्राले आत्मनिर्भरता, परिश्रम र निरन्तरताको सशक्त उदाहरण प्रस्तुत गरेको छ । तर, स्थानीय नीति नियममा लचिलोपन नहुने हो भने उनीहरूले उठाएको स्वरोजगारको नमुना प्रयास धराशायी बन्ने खतरा देखिन्छ । स्थानीय सरकार तथा सरोकारवाला निकायले यस्ता स्वरोजगार केन्द्रित किसान र साना व्यवसायीहरूप्रति सकारात्मक दृष्टिकोण अपनाइ, आवश्यक नीति तथा सहुलियत दिन सक्यो भने मात्रै यस्ता संघर्षशील महिलाको जीवनयात्रा अझ प्रेरणादायी बन्न सक्नेछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १७ गते शनिबार