बाँके निकुञ्ज किन घुम्न चाहदैनन् पर्यटक ?



आव २०७३–०७४ देखि २०८१–८२ सम्म देशभरका निकुञ्जहरूमा आएका पर्यटकहरूको सङ्ख्या तुलना गर्दा बाँके राष्ट्रिय निकुञ्जमा सबैभन्दा कम पर्यटकहरू पुगेका छन् । यी नौ वर्षमा निकुञ्जमा जम्मा दुई हजार तीन सय ४७ जना पर्यटकहरू पुगेका छन् । त्यसमा पनि विदेशी पर्यटकहरूको सङ्ख्या झनै कम छ । अधिकांश विदेशी पर्यटकलाई त यस निकुञ्जको अस्तित्वबारे जानकारीसमेत छैन । गत आव २०८१–०८२ मा सार्क राष्ट्रका ३० जना र विदेशी ७ जना पर्यटकमात्रै निकुञ्जमा पुगेका छन् ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाघको संरक्षण गर्ने मूल उद्देश्यले २०६७ सालमा घोषणा भई २०७१ सालमा विधिवत स्थापना भएको थियो बाँके राष्ट्रिय निकुञ्ज । निकुञ्ज स्थापना हुँदा मानव र वन्यजन्तुबीच द्वन्द्व हुने स्थानीयहरूको चिन्ताका बीच बाघको माध्यमबाट पर्यटकहरूलाई आकर्षित गरी आयआर्जनका नयाँ सम्भावना खुल्ने अपेक्षा पनि उत्तिकै गरिएको थियो । तर, पछिल्ला नौ वर्षमा निकुञ्ज घुम्न पुगेका पर्यटकहरूको सङ्ख्या हेर्दा पर्यटनतर्फ निकुञ्जले प्रगति गर्न नसकेको देखिन्छ ।
आव २०७३–०७४ देखि २०८१–८२ सम्म देशभरका निकुञ्जहरूमा आएका पर्यटकहरूको सङ्ख्या तुलना गर्दा बाँके राष्ट्रिय निकुञ्जमा सबैभन्दा कम पर्यटकहरू पुगेका छन् । यी नौ वर्षमा निकुञ्जमा जम्मा दुई हजार तीन सय ४७ जना पर्यटकहरू पुगेका छन् । त्यसमा पनि विदेशी पर्यटकहरूको सङ्ख्या झनै कम छ ।

तर निकुञ्ज स्थापनायता बाघको सङ्ख्या चारबाट बढेर पछिल्लो गणनामा २५ वटा पुगेको छ । संरक्षणका दृष्टिकोणले बाघको सङ्ख्या उच्चदरले बढेको देखिन्छ । निकुञ्जको बाघ र मानवबीच द्वन्द्वका घटनाहरू पनि भइरहेका छन् । तर, बाघलाई नै प्रचारको साधन बनाएर पर्यटक आकर्षित गर्नमा निकुञ्ज चुकिरहेको छ । छिमेकी देश भारतीय सीमा र पश्चिम नेपालको गेटवेको रूपमा रहेको नेपालगन्जबाट सवारीसाधनबाट बढीमा एक घण्टाको दूरीमा रहेको निकुञ्जमा भारतीय पर्यटकहरूलाई नै आकर्षण गर्न निकुञ्जले सकिरहेको छैन । पर्यटक आकर्षित गर्नका लागि प्रचारप्रसार र बजारीकरणको भूमिका महत्वपूर्ण हुन्छ, तर बाँके राष्ट्रिय निकुञ्जको हकमा यो पक्ष निकै कमजोर देखिएको छ । निकुञ्जले आफूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सकेको छैन ।

अधिकांश विदेशी पर्यटकलाई त यस निकुञ्जको अस्तित्वबारे जानकारीसमेत छैन । गत आव २०८१–०८२ मा सार्क राष्ट्रका ३० जना र विदेशी ७ जना पर्यटकमात्रै निकुञ्जमा पुगेका छन् । आव २०८०–०८१ मा सार्क राष्ट्रका तीन जना र विदेशी ७ जना पर्यटक निकुञ्ज पुगेका थिए । सार्क राष्ट्रका मध्ये प्रायः पर्यटकहरू भारतीय नै रहेका निकुञ्जले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जकै छिमेकी बर्दिया राष्ट्रिय निकुञ्जमा आव २०७३–०७४ देखि २०८०–०८१ सम्म एक लाख ५२ हजार पाँच सय ६१ जना पर्यटकहरू आए । त्यसका तुलनामा बाँके राष्ट्रिय निकुञ्जमा जम्मा १ प्रतिशत पर्यटक मात्रै बाँके राष्ट्रिय निकुञ्जमा आएका छन् । यसरी हेर्दा बाँके राष्ट्रिय निकुञ्ज आफ्नै छिमेकी राष्ट्रिय निकुञ्जको लोकप्रियतालाई उपयोग गर्न नसकेर छायाँमा परेको जस्तो देखिन्छ ।

यसो हुनुमा पूर्वाधारको कमी, प्रचारप्रसारको अभाव, सुरक्षा चुनौती, साहसिक गतिविधिहरूको सीमितता र आसपासका अन्य पर्यटकीय गन्तव्यहरूसँगको समन्वयको कमी मुख्यरूपमा रहेका छन् । पर्यटन व्यवसायी एवं एसोसियसन अफ नेपाल टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टा बाँकेका महासचिव भागीराम ओली बाँके राष्ट्रिय निकुञ्जको प्रचारप्रसार र आवश्यक पूर्वाधारमा लगानीको आवश्यकता औँल्याउँछन् ।

उनले अहिले पनि पर्यटकहरूलाई बाँके राष्ट्रिय निकुञ्जका विषयमा पर्याप्त जानकारी दिने साधनहरू नै छैनन् । ‘हामीकहाँ आउने धेरै पर्यटकहरूले बाँके राष्ट्रिय निकुञ्जको नाम लिएको त्यति पाइँदैन । बरु हामीहरूले नै नजिकै बाँके राष्ट्रिय निकुञ्ज पनि छ भनेर जानकारी गराउँछौँ । हामीले तयार गर्ने प्रचार ब्रोसरहरूमा पनि बाँकेलाई पनि राख्ने गरिरहेका छौँ । अब निकुञ्जको प्रचारमा लगानी गर्नुपर्ने आवश्यकता देख्छु,’ ओलीले भने ।

बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी मन्दिप पंगेनी भने देशकै सबैभन्दा कान्छो राष्ट्रिय निकुञ्ज भएका कारण प्रचारप्रसार पनि नपुगेको र पूर्वाधार निर्माणमा पनि समय लागेका कारण पर्यटकहरूको अपेक्षित आगमन नभएको तर्क गर्छन् । उनले पर्यटकहरूको सङ्ख्या हरेक वर्ष बढ्दै गएकोलाई पनि सकारात्मकरूपमा लिनुपर्ने पंगेनीले बताए । उनले भने ‘तथ्यांक हेर्नुहुन्छ भने गतवर्ष करिब पाँच सयमुनि रहेको पर्यटक सङ्ख्या अहिले ६ सय नाघेको छ । यसले पर्यकहरू बढ्दो क्रममा रहेको देखाउँछ । अब हामीले यसको प्रचारप्रसार र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने आवश्यकता भने छ ।’

निकुञ्जमा २०७३–०७४ देखि २०८१–०८२ सम्म क्रमशः चार जना, एक जना, एक सय ६० जना, ९२ जना, चार सय ४२ जना, दुई सय ७८, दुई सय ७१, चार सय ७९ र ६ सय २० जना पर्यटक आएका तथ्यांक छ । पंगेनीले निकुञ्जले होमस्टेलाई प्रवद्र्धन गर्ने, वनपथ निर्माण गर्ने, मचान निर्माण गर्ने, पर्यटकीय क्षेत्रहरूको पहिचान गर्ने काम गरिएको जानकारी दिए । उनले भने, ‘अब सुरुवाती चरणको पूर्वाधारहरू बनिसक्यो ।’

अहिले निकुञ्जभित्र जीप तथा हात्ती सफारी, चुरे हाइकिङ चरा अवलोकन, वन्यजन्तु अवलोकन र होमस्टेको सुविधा नै पर्यटक तान्ने मूख्य आकर्षणहरू रहेका छन् । उनका अनुसार निकुञ्जमा अहिले तीनवटा जीप र तीनवटा हात्तीसारसहित ६ वटा हात्तीहरू रहेका छन् । मागअनुसार सफारी गराउन सक्ने अवस्था रहेको पंगेनीको भनाइ छ । यसैगरी निकुञ्जभित्र अवलोकन र क्याम्पिङका लागि १५ वटा मचानहरू निर्माण गरिएका उनले जानकारी दिए ।

पंगेनीले यसो भनेपनि पर्यटकहरूले माग गरेको समयमा जंगल सफारी र हात्ती सफारीको व्यवस्था गर्न निकुञ्जले नसक्ने गरेको पर्यटन व्यवसायीहरूको अनुभव छ । नेपालगन्जस्थित एक होटलका प्रबन्धकले आफ्नो अनुभव सुनाउँदै भने, ‘एकपटक भारतीय पाहुनाहरूको टोली हामीकहाँ आएको थियो । हामीलाई नजिक घुम्ने ठाउँबारे उनीहरूले जिज्ञासा राखेपछि बाँके राष्ट्रिय निकुञ्जमा जिप सफारी र हात्ती सफारी रहेको सुझाव दियौँ । त्यसपछि निकुञ्जमा फोन गरेर बुझ्दा एक ठाउँबाट पूरा जानकारी आएन । धेरै ठाउँमा फोन गरिसकेपछि अन्तमा सफारी गराउन नसकिने भनियो । यस्तो अवस्थाले पर्यटनको विकास हुँदैन,’ उनले भने ।

नाट्टा बाँकेका सचिव भागीराम ओली पनि निकुञ्जले पर्यटनसम्बन्धी सूचना र सेवाको एकद्वार प्रणाली स्थापना गर्नु आवश्यक रहेको बताउँछन् । यसका साथै स्थानीयस्तरमा जनसमुदायसँगको समन्वयमा पर्यटकीय गतिविधिहरूलाई तीव्रता दिनु जरुरी रहेको उनले बताए । बाँकेको राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल पनि निकुञ्जले पर्यटकीय विकासका सन्दर्भमा पालिकासँग समन्वय नगरेको बताउँछन् । उनले निकुञ्जको आन्तरिक क्षेत्रको पर्यटनसँग बाहिरी क्षेत्रको पर्यटनका लागि पनि स्थानीय तहसँग समन्वय गर्नुपर्छ भनेर आफूले पटक पटक कुरा राखेपनि त्यसतर्फ कुनै काम हुन नसकेको बताए । ‘निकुञ्जको भित्री क्षेत्रमा निकुञ्जले नै र बाहिरी क्षेत्रमा स्थानीय तहले पर्यटन प्रवद्र्धनका कामहरू गरेमा मात्रै पर्यटनको विकास हुन सक्छ । तर यसबारेमा ठोसरूपमा सहकार्यको कुनै पहल भएको छैन,’ पौडेलले भने ।

निकुञ्जका संरक्षण अधिकृत पंगेनी स्थानीय युवा परिचालनमा काम गरिरहेको बताउँछन् । यसका साथै विभिन्न सरोकारवालाहरूसँग पनि समन्वयको काम भइरहेको उनले दाबी गरे । ‘पर्यटन व्यवसायीहरूसँग अन्तक्र्रियाका कार्यक्रमहरू, पर्यापटनलाई केन्द्रमा राखेर विभिन्न गोष्ठीहरू, महोत्सवमा प्रचारप्रसार लगायका कामहरू गरिरहेका छौँ,’ उनले भने । यसका साथै नेचर गाइडका लागि तालिमहरू दिएर उनीहरूलाई पनि पर्यटकीय गतिविधिमा जोड्ने काम भइरहेको पंगेनीले बताए ।

पंगेनी अहिले निकुञ्जमा निजी लगानी आवश्यक रहेको बताउँछन् । निकुञ्ज क्षेत्रमा जंगल सफारी, होमस्टे र होटलहरूमा निजी क्षेत्रबाट लगानी बढ्नु आवश्यक रहेको उनले उल्लेख गरे । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बैजनाथ गाउँपालिकाको वडा नम्बर १ स्थित गाभर भ्याली होमस्टेका एकजना सञ्चालक विर्ख रोकाया होमस्टे सञ्चालनमा निकुञ्जको भूमिका केही पनि नभएको बताउँछन् । सबै स्थानीयकै पर्यत्नमा होमस्टे सञ्चालन भएको उनले बताए ।
उनले निकुञ्ज आसपासमा पर्यटकीय व्यवसायहरू सञ्चालनको आवश्यकता र सम्भावना रहेको तर त्यस्ता व्यवसायमा स्थानीयहरूलाई नै प्राथमिकता दिनुपर्ने बताए । त्यसका लागि स्थानीयहरूको क्षमता अभिवृद्धिको काम पनि गर्न जरुरी रहेको उनको भनाइ छ । ‘ठुला लगानीकर्तालाई व्यवसाय गर्न दिएर, बिल्डिङ ठड्याएर त्यहाँ स्थानीयलाई फाइदा हुँदैन । त्यसकारण अहिलेदेखि नै स्थानीयहरूको क्षमता अभिवृद्धि गराएर उनीहरूलाई नै व्यवसायी बनाउनु आवश्यक छ,’ रोकायाले भने ।

बाँके राष्ट्रिय निकुञ्ज प्रचुर जैविक विविधता भएको निकुञ्ज हो । यो निकुञ्ज पाटेबाघको बासस्थान हो भने मनोरम प्राकृतिक सुन्दरताले भरिपूर्ण राष्ट्रिय निकुञ्ज पनि हो । बाँकेदेखि चुरे हुँदै पैदलयात्रा (ट्रेकिङ) गर्न सकिने रुट पनि निकुञ्जभित्र रहेको छ । निकुञ्ज वरपर पर्यटकका लागि आवश्यक पर्ने आधारभूत सुविधाहरू गुणस्तरीय आवास, खानपान, शौचालय र सञ्चारको सुविधामा पनि सुधार गर्नुपर्ने अवस्था रहेको छ । निकुञ्ज क्षेत्रमै बास बस्न चाहने पर्यटकहरूलाई पनि सुविधासम्पन्न आवासका लागि नेपालगन्ज वा कोहलपुर नै पुग्नुपर्ने अवस्था रहेको छ ।

पैदयात्राका लागि स्पष्ट मार्ग र संकेतहरूको अभावले पनि पर्यटकलाई कठिनाइ हुने गरेको छ । निकुञ्जभित्र सडकको गुणस्तर राम्रो नभएका कारण वर्षायाममा हिलाम्मे हुने समस्याले पनि पर्यटकलाई असहज बनाउने गरेको होमस्टे सञ्चालक रोकाया बताउँछन् । यसैगरी चितवन, बर्दिया र सगरमाथा जस्ता स्थापित निकुञ्जहरूको तुलनामा बाँके राष्ट्रिय निकुञ्जको बारेमा जानकारी दिने सामग्री, वेबसाइट र सामाजिक सञ्जालमा उपस्थिति निकै कम छ । बाँके राष्ट्रिय निकुञ्जको वेबसाइट निकै लामो समयदेखि बिग्रेको अवस्थामा छ । वेबसाइटमा होमपेजबाहेक अरु केही पनि खुल्दैन । पंगेनीले वेबसाइटमा आएको समस्या सामाधानका लागि प्रयास भइरहेको बताए ।

यसैगरी पर्यटन मेला तथा प्रदर्शनीहरूमा पनि यस निकुञ्जको उपस्थिति न्यून देखिन्छ । यसले गर्दा निकुञ्जको पर्यटकीय सम्भाव्यता ओझेलमा परेको छ । पर्यटकलाई आकर्षित गर्न निकुञ्जभित्र गरिने गतिविधिहरूको विविधीकरण पनि आवश्यक रहेको छ । पर्यटकीय गतिविधिमा निकुञ्जले बर्ड वाचिङका लागि विशेष प्याकेज, साइक्लिङ वा क्याम्पिङ जस्ता सुविधाहरूको उचित विकास पनि गर्न सकेको छैन । भएका सुविधा पनि ओझेलमा छन् ।

बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष नजिक रहेका छन् । यी तीनवटै क्षेत्रलाई समेटेर संयुक्त पर्यटन प्याकेज बनाउन सकेमा पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्न सकिने देखिन्छ । तर, हालसम्म यी क्षेत्रहरूबीच समन्वयको अभाव देखिएको छ । विशेषगरी भारतीय पर्यटकलाई आकर्षित गर्नका लागि सीमापार समन्वय र प्रचारप्रसारको खाँचो भएपनि निकुञ्जले त्यसतर्फ ध्यान दिन सकेको देखिन्न । भारतबाट आउने पर्यटकहरूलाई बाँके राष्ट्रिय निकुञ्ज हुँदै नेपालका अन्य गन्तव्यहरूमा जान प्रेरित गर्न सकिने प्रशस्त सम्भावना भएपनि त्यसको प्रयोग हुन सकेको छैन ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १४ गते बुधबार