२४ सै घण्टा निःशुल्क प्रसूति सेवा दिँदै कोहलपुर



गणेश रावत । कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले आमा सुरक्षा कार्यक्रम(प्रसूति सेवा)लाई थप व्यवस्थित बनाउँदै लगेको छ । नगरपालिकाभित्र रहेका महिलाहरूको सुरक्षित ‐प्रसूति सेवा)का लागि नगरपालिकाले विगतदेखि नै कार्यक्रम सञ्चालन गर्दै आएको भएपनि थप व्यवस्थित बनाउन थालेको हो ।

नगरपालिकाले आमा सुरक्षा कार्यक्रम निजी स्वास्थ्य संस्था नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरसँग वर्षौँदेखि सम्झौता गरेर सञ्चालन गर्दै आइरहेको थियो । तर, गत असार मसान्तदेखि सम्झौता सकिएपछि नवीकरण हुन सकेको छैन् । अर्काेतर्फ नवीकरण हुने खालको वातावरण पनि सिर्जना हुन सकेको छैन् । अस्पतालले नै सम्झौता नवीकरणका लागि चासो नदेखाएपछि नगरपालिका आफैँले आमा सुरक्षा कार्यक्रम (प्रसूति सेवा) लाई थप व्यवस्थित बनाउँदै लगेको हो । नगरपालिकाभित्र अहिले दुई वटामात्र बर्थिङ सेन्टर रहेका छन् ।

नगर अस्पताल र नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रमा उक्त सेवा सञ्चालन छ । अहिले नगरपालिकाले नगर अस्पताल र कोहलपुर–१५ मा रहेको नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र अकलघरुवाबाट २४सै घण्टा आमा सुरक्षा कार्यक्रम (प्रसूति सेवा)  प्रदान गरिहेको नगर अस्पतालका जनस्वाथ्य निरीक्षक अमृतकुमार रानाले जानकारी दिए ।

साउनदेखि दुवै बर्थिङ सेन्टरमा कर्मचारीदेखि उपकरणसम्मको व्यवस्थापन मिलाइएको उनले बताए । नगर अस्तालमा विगतमा दक्ष जनशक्ति र उपकरण अभाव रहेकाले सोचेअनुसार सेवा प्रदान गर्न नसकिएको तथा साउनबाट नगर प्रमुख पूर्णप्रसाद आचार्यले आमा सुरक्षा कार्यक्रम (प्रसूति सेवा) लाई थप व्यवस्थित बनाउन निर्देशन दिएको उनको भनाइ छ ।

‘नगरपालिकाभित्र रहेका सम्पूर्ण स्वास्थ्यकर्मीहरू बोलाएर बैठक भएको थियो,’ उनले भने, ‘छलफल भएअनुसार जनशक्ति र उपकरण सबै थपेर अहिले २४सै घण्टा नै सेवा प्रदान दिइरहेका छौँ ।’ विगतमा नगर अस्पतालमा २ जना मात्र दक्ष नर्सिङ कर्मचारी थिए । अहिले अन्य ६ जना जनशक्ति थपेर सेवालाई थप प्रभावकारी रूपमा अघि बढाइरहेको उनले जनाए ।

अस्पतालको भौतिक पूर्वाधार र उपकरणसहित सबै व्यवस्थापन मिलाइएको र अहिले कर्मचारीहरूले डिउटी मिलाएर २४सै घण्टा प्रसूति सेवा दिइरहेको मिसन टुडेलाई बताए । मेडिकल कलेजले सेवा बन्द गरेपनि नगरपालिका महिलाहरूको स्वास्थ्यप्रति गम्भीर रहेको कोहलपुर नगरपालिका नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए ।

सोहीअनुरुप नगर अस्पतालमा आएका आमाहरूलाई सुरक्षित प्रसूति गराउने काम स्वास्थ्यकर्मीहरूले गर्दै आएको आचार्यले बताए ।
गर्भवती महिलाहरूमा जटिलखालका समस्या भए स्वास्थ्यकर्मीसहित नगरपालिकाको एम्बुलेन्सबाटै निःशुल्क भेरी अस्पतालसम्म पु¥याइने काम भइरहेको उनको भनाइ छ । अस्पतालमा सम्पूर्ण प्रक्रिया पूरा गरेर घरसम्म निःशुल्क पु¥याउने काम नगरपालिकाले नै गर्दै आएको समेत उनले जानकारी दिए ।

१ सय ६ जनाले लिए प्रसूति सेवा

गत आर्थिक वर्षमा कोहलपुर–११ मा रहेको नगर अस्पताल र कोहलपुर–१५ शमशेरगन्जमा रहेको नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र अकलघरुवाबाट १ सय ६ जनाले प्रसूति सेवा लिएका छन् । कोहलपुर नगर अस्पतालको तथ्यांकअनुसार नगर अस्पतालबाट धेरै महिलाहरूले प्रसूति सेवा लिएका हुन् ।

नगर अस्पतालबाट ७५ जना र कोहलपुर–१५ शमशेरगंजमा रहेको नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र अकलघरुवाबाट ३१ जना गर्भवती महिलाहरूले सेवा लिएका छन् । यो आवको साउन महिनाको हालसम्म भने दुवै बर्थिङ सेन्टरबाट ११ जनाले सेवा लिएका छन् । नगर अस्पतालबाट ७ जना र नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट ४ जनाले प्रसूति सेवा लिएका छन् । हालसम्मको तथ्यांकअनुसार नगरपालिकाबाट जम्मा १ सय १७ गर्भवती महिलाहरूले उक्त सेवा लिएको जनाइएको छ ।

गर्भवतीका घरघरमा स्वास्थ्य स्वयंसेविका

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरसँगको सम्झौता नवीकरण नभएपछि नगरपालिकाले प्रसूति सेवालाई थप व्यवस्थित बनाउन समुदायस्तरमा स्वास्थ्य स्वयंसेविका खटाएको छ । नगरपालिकाभित्र रहेका स्वास्थ्य स्वयंसेविकालाई आफ्नो वडामा रहेका प्रत्येक गर्भवती महिलाको तथ्यांक संकलन गर्न खटाइएको हो ।

कुन वडामा कति गर्भवती महिला रहेका छन् ? उनीहरूको स्वास्थ अवस्था कस्तो छ ? गर्भवती भएको कति महिना भयो ? सुत्केरी हुने समय कहिले हो ? र गर्भवती महिलाहरूको फोन नम्बर ? सहित सबै डाटा संकलन गर्न खटाइएको हो । जसका कारण गर्भवती महिलाहरूले स्वास्थ्य उपचार अभावमा ज्यान गुमाउन नपरोस् भनेर तथ्यांक संकलन गर्न थालिएको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १२ गते सोमबार