बर्दियामा श्रमिकको दैनिक ज्याला निर्धारण



कोहलपुर (बाँके) ।

बर्दियामा श्रमिकहरूको दैनिक ज्याला निर्धारण गरिएको छ । चालू आर्थिक वर्ष २०८२–०८३ को लागि श्रमिकहरूको दैनिक ज्याला निर्धारण गरिएको हो । २०८२ असार ३० गते बसेको जिल्ला दररेट निर्धारण समिति, गुलरिया बर्दिया ज्याला निर्धारण गरेको थियो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार खरिद् नियमावली २०६४ को परिच्छेद १५ को नियम १४८ ‐१) बमोजिम जिल्ला दररेट समितिको बैठक बसेर दर निर्धारण गरिएको हो ।

यसमा २२ वटा विषयसूची समावेश गरेको उनले जानकारी दिए । जसअनुसार ज्याला दररेट, सडक, सिँचाइ र नदी नियन्त्रण सम्बन्धी निर्माण सामग्री, काठ तथा प्लाइउड, सम्बन्धी सामग्री, कंक्रिट एडमिक्सर, तथा वाटर पु्रफिङको काम, स्थानीय निर्माण सामग्रीहरू रहेका छन् । यस्तै, आल्मुनियम झ्याल, ढोका, जिप्सन बोर्ड, पार्टिसन तथा फल्स सिलिङ, एस वाई प्यानल, झ्याल ढोकामा प्रयोग हुने हार्डवेयरका सामग्रीहरू, किचन तथा बाथरुमका सामग्रीहरू, रंग रोहन सम्बन्धी सामग्रीहरू, डीप र स्यालो ट्यूवेलका सामग्री, विद्युतीय सामान तथा विद्युत सम्बन्धी काम, झोलुंङे पुल सम्बन्धी सामग्री, सामान ढुवानी, मेसिन उपकरण भाडा, विविध निर्माण सामग्री र वन कार्यालयसँग सम्बन्धित विषयसूची रहेका छन् ।

समितिले जनशक्तिको वर्गीकरणसमेत गरेको छ । समितिका अनुसार दक्ष, अदक्ष, अर्धदक्ष र अन्य कामदार शीर्षकमा वर्गीकरण गरिएको छ । यस्तै, आर्थिक वर्ष २०८२–०८३ को लागि श्रमिकहरूको दैनिक ज्यालासमेत समितिले तोकेको उनले बताए । जस अन्तर्गत दक्ष जनशक्तिका रूपमा सिकर्मी, डकर्मी, लोहाकर्मी, ग्यावियन तार बुन्ने वा सो सरहको दक्ष कामदार रहेका छन् । उनीहरूको प्रतिदिनको ९३५ रूपैयाँँ ज्याला तोकिएको थियो । आर्थिक वर्ष २०७८–०७९ मा दक्ष कामदारको ज्याला ६७० रूपैयाँँ थियो ।

अदक्ष कामदारका रूपमा साधारण ज्यामीलाई परिभाषित गरिएको छ । आर्थिक वर्ष २०७८–०७९ मा मा उनीहरूको ५५० रूपैयाँँ थियो । आर्थिक वर्ष २०८२–०८३ मा दैनिक ज्याला ७१० रूपैयाँँ तोकिएको छ । भरिया, सिभिल वर्क सुपरभाइजर, सर्भे,कुल्ली वा सो सरह, सर्भे नापी स्टाफमेन, पम्प अपरेटर, ढल सफा गर्ने ज्यामी, स्पे्रमेन, नर्सनरी नाइके, क्लिनर, हेल्पर, चौकीदार र मालीलाई अर्धदक्ष कामदारका रूपमा परिभाषित गरिएको छ । समितिले आर्थिक वर्ष २०८२–०८३ मा उनीहरूको प्रतिव्यक्ति दैनिक ज्याला ७१० रूपैयाँँ तोकेको छ ।

सुपरभाइजर ‐विभिन्न स्तरको प्राविधिक र अप्राविधिक)को हकमा समितिले नेपाल सरकारले तोकेको सुरु मासिक तलब स्केललाई २६ दिनले भाग गरी आउने रकमलाई एक दिनको पारिश्रमिक निर्धारण गर्ने जनाएको छ । अन्य कामदारहरूमध्ये ब्लाष्टरको दैनिक ७७०, काँडेतारको काम गर्ने वायर वेण्डरको ७१५, राष्ट्रिय निकुञ्जभित्र काम गर्ने ज्यामी र वन क्षेत्रभित्र काम गर्ने ज्यामीको ७२५ ज्याला तोकिएको छ । गेज रिडर ‐असारदेखि कार्तिकसम्म) ३७०, गेज रिडर ‐मार्गदेखि जेठसम्म) १५५, कृषि मजदुरको दैनिक ७१५, सिँचाइ गेट अपरेटरको दैनिक ७१५ रूपैयाँँ तोकिएको छ ।

हेडवर्कर गेट अपरेटरको ७५० र सिँचाइ ढल्पाको दैनिक ज्याला ७०५ र विद्युत मिटर रिडर र लाइनमेन चालू विवरण लाइनमा अपनाई पोल चढी लाइन मर्मत गर्न सक्ने र सव स्टेशनमा काम गर्नेलाई प्रतिदिन ८ सय रूपैयाँँ निर्धारण गरिएको छ । यस्तै प्रशासनिक तथा प्राविधिक कर्मचारी ‐हलुका र हेवी सवारी चालकसमेत)को नेपाल सरकारले तोकेको सुरु मासिक तलब स्केललाई २६ दिनले भाग गरी आउने रकमलाई एक दिनको पारिश्रमिक निर्धारण गर्ने जनाएको छ ।

परामर्शदाता विशेषज्ञहरूका लागि ‐३० दिन भन्दा कम अवधीको लागि) इन्जिनियर, भू वैज्ञानिक, जियो टेक्निकल इन्जिनियर, अधिकृत तहको अधिकृतको प्रतिदिन ३ हजार ८ सय रूपैयाँँ तोकिएको छ । सव इन्जिनियर ३ हजार ४ सय र जेटिएको २ हजार ५ सय रूपैयाँँ रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रबार