श्यामलाल पोखरेल । बुटवल ।
बुटवलको चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको जस लिनका लागि एमाले र काँगे्रसको होडबाजी चलेको छ । सत्ता साझेदर दल एमाले र काँग्रेसका स्थानीय नेताहरु चुनावी जस लिनका लागि यो सडकलाई भोटबैंकको रुपमा लिएका छन् । पछिल्लो समय सडक बन्दै गएपछि आफ्नो पार्टीले बनाएको हो भन्ने गराउनका लागि दुवै दलका नेता तथा कार्यकर्ताले सडक अनुगमन गर्ने र सस्तो लोकप्रियताका लागि फोटो प्रदर्शन गर्ने गरेका छन् ।
केही दिनअघि काँगे्रसका स्थानीय नेता ज्योती भण्डारीको नेतृत्वमा सडक अनुगमन गरेर आफ्नो पार्टीले गर्दा सडक बनेको भन्दै फेसबुकमा फोटा राखेका थिए । त्यसपछि एमालेका स्थानीय नेता मेघराज भट्टराईको टोलीले पनि उक्त सडक अनुगमन गर्दै एमालेले गरेको भन्दै फेसबुकमा फोटा राखेर काँगे्रसलाई प्रतिक्रिया दिएका थिए । बुटवल क्षेत्रमा भएका सडक निर्माणदेखि अन्य विकास निर्माणका कामको जस लिनका लागि एमाले काँग्रेसबीच प्रतिस्पर्धा चलेको छ ।
बुटवलको चौराहादेखि गोलपार्कसम्मको सडक मात्रै होइन अन्य सडक र अन्य आयोजनाहरु आ–आफ्नो पार्टीले गरेको भन्दै विकासका काममा एमाले,काँग्रेसले घिनलाग्दो राजनीति गरेको बताउँछन् बुटवलका स्थानीय दामोदर खनाल । ‘आठ वर्षसम्म छिटो सडक बनाउनु पर्छ भन्ने आवाज कहिल्यै सुनिएन अहिले सडक निर्माणको काम अन्तिम भएपछि आफ्ना गल्ती कमजोरी लुकाउन एमाले, काँगे्रसले हामीले गरेका हौँ भन्नु लाजमर्दो विषय हो’ उनले भने । देभरभर नै एमाले, काँग्रेस गैरजिम्मेवार ढंगले प्रस्तुत हुँदा जनताबाट नाङ्गिदै गएको पत्रकारसमेत रहेका दामोदर खनाल बताउँछन् ।
बुटवलमा पर्ने पूर्व – पश्चिम महेन्द्र राजमार्गअन्र्तगत चौराहादेखि सिद्धार्थ राजमार्गको पर्ने गोलपार्कसम्मको साढे ३ किलोमिटर सडक विस्तारका लागि ठेक्का सम्झौताको बेलादेखि एमाले र काँग्रेसले राजनीति गरेका थिए । यो अहिले छताछुल्ल भएको छ । ठेकेदारको चरम लापरबाही, घरधनीहरुको रोकावटलगायत विषयमा खुलेर बोल्न नसकेकाहरु अहिले कालोपत्रे हुँदै गरेको सडकलाई भोटबैंक बनाएर हामीले गरेका हौँ भन्दै फेसबुके गाइजात्रा देखाएका छन् ।
राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे ३ किलोमिटर सडक विस्तारका लागि २०७३ चैत १३ गते २०७६ सालसम्म विस्तार सक्नेगरी द कञ्चनजंघा बिरुवा जेभी कन्स्ट्रक्सन प्रालि काठमाडौँलाई ठेक्का दिइएको थियो । ५३ करोड ९७ लाख ९९ हजार ४ सय ६७ रुपैयाँमा ठेक्का पाएको जेभीले पहिलो चरणमा सडक क्षेत्राधिकारभित्र पर्ने घर भत्काउन सुरु गरेपछि घरधनीले घर भत्काउन नदिने भन्दै अदालतमा मुद्दा हालेर अवरोध गरेका थिए । त्यस बेला पनि यो सडक बनाउने विषयमा एमाले, काँग्रेसले राजनीतिक चलखेल गरेका थिए । एमालेले बनाउनु पर्छ भन्दा काँग्रेसहरु घरधनीहरुसँग लागेर अवरोध गरेका थिए ।
त्यस्तै काँग्रेसले बनाउन खोज्दा एमालले अवरोध गरेर आफूले जस ल्याउन खोजेपछि यो सडक विस्तारमा लामो समय लागेको हो । एकातिर एमाले काँगे्रसको सडकमा राजनीति र अर्कोतिर ठेक्का पाएको निर्माण कम्पनीको अर्को लापरबाहीले साढे ३ किलोमिटर सडकले नौ वर्ष पुग्नै लाग्दा पनि अझै पूर्णता पाएको छैन । अन्तर्राष्ट्रिय अस्फाल्ट प्रविधिबाट कालोपत्रे गर्ने योजनासहित ठेक्का दिइएको थियो । इको लगाइएको सडक विस्तार कोरोना महामारीले मात्रै प्रभावित बनाएन निर्माण कम्पनीकै लापरबाहीले पनि पटक–पटक म्याद थपेर समय गुजारिएको हो ।
जेभीले नाली खन्ने र केही घर भत्काउने काम मात्रै गरेर गुमनाम हुँदा प्रगति शून्य जस्तै बन्यो । हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे भएपछि हाइवेका घरधनी, व्यवसायी र पैदलयात्रीले ठुलो सास्ती भोग्न बाध्य भएका थिए । ठेक्का सम्झौता भएको ८ वर्षसम्म सम्पन्न नभएपछि सडक डिभिजन कार्यालयले ठेक्का तोडेर गत वर्ष असोजमा बाबुल दर्शन मालिका जेभी भैरहवालाई २०८१ असोज १८ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी ३३ करोडमा ठेक्का दिएको थियो । तर अन्तिम चरणमा पुगेपनि सडकले अझै पूर्णता पाएको छैन ।
अहिले सर्भिस लेनको कालोपत्रे गर्ने काम धमाधम भैरहेको देखिन्छ । राजमार्ग चौराहादेखि हस्पिटल लाइनको भुट्कीचोकसम्म पूर्वी सर्भिसलेनका कालोपत्रे सकिएको छ । पश्चिमतर्फको सर्भिस लेनको काम नयाँ बसपार्कतिर हुँदैछ । सडक बनाउने निर्धारित समयमा काम नभएपछि ठेक्का सम्झौता तोडेर नयाँ निर्माण व्यवसायीलाई जिम्मा दिएपछि सडक विस्तारको कामले गति लिएको छ ।
गत वर्ष २०८१ असोजमा एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकोमा अहिले निर्माण कार्यप्रगति दुवै लेनको गरी ६ किलोमिटर हुन आउँछ, जसमध्ये तीन हजार ८ सय मिटर (३.८) किलोमिटर कालोपत्रे भइसकेको ठेकदार कम्पनीले बताएको छ । निर्माण कम्पनीका अनुसार अहिलेसम्म सडक विस्तारको काम ९६ प्रतिशत भएको छ ।
बाबुल दर्शन मालिका जेभीका प्रोजेक्ट इन्जिनियर प्रवीण मिश्रले नौ महिनाको अवधिमा निर्माणको काम जति हुनुपर्ने थियो, त्यति नभएको बताए । लक्ष्य अनुसारको काम गर्न नसकिएको उनले स्वीकार गरेका छन् । उनले बुटवल उपमहानगरपालिकाले कुनैपनि सहयोग नगरेकाले पनि केही ढिलाइ भएको बताए । तोकिएकै समयमा काम सम्पन्न गर्ने गरी प्रविधिसहितको जनशक्ति लगाएर दिनरात काम भैरहेको इन्जिनियर प्रवीण मिश्रले मिसन टुडेलाई बताएका छन् ।
सम्झौता अनुसार तोकिएकै समयमा काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले कामलाई तीव्रताका साथ काम गरेको सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी महेश्वर लम्सालले बताए । सडक विभागबाट थप गरिएको डिजाइनको भिओ भेरिसियन हुन ढिलाइ भएमा एक पटक म्याद थप्नुपर्ने वाध्यता आउन सक्ने सम्भावना रहेको सूचना अधिकारी महेश्वर लम्सालको भनाइ छ ।
एमाले र काँग्रेसको भने आआफ्नै ढंगले अनुगमन गरेरै सडक बनाएको जसलिने गरी होडबाजी चलेको छ । एमाले, काँग्रेसको सडक अनुगमनलाई जनताको आँखामा छारो हारलेर ०८४ को चुनावलाई तारगेट गरेको भन्दै सर्वसाधारण नागरिकले सामाजिक सञ्जालदेखि चिया चौतारोमा विरोध गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्