हालसम्म कोहलपुर १ का ६२९ जना भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गरिएको छ । वडा नम्बर १ कै ११६ जना भुमिहीन सुकुम्वासी र भूमिहीन दलित तथा ५१३ अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोग बाँकेले जनाएको छ ।
कोहलपुर ।
भूमि समस्या समाधान आयोगका केन्द्रीय उपाध्यक्ष सनतकुमार कार्कीले भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीलाई वितरण गरिने लालपुर्जामा उल्लेखित १० वर्षे प्रावधान हटाउन पहल गर्ने बताएका छन् । शनिबार कोहलपुर नगरपालिका वडा नम्बर १ का अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्दै उनले भने, ‘भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीलाई वितरण गरिने लालपुर्जामा १० वर्षसम्म उक्त जमिन बिक्री वितरण गर्न नपाइने तथा बैंक धितो राख्न नपाइने जस्ता व्यवस्थालाई हटाउन वा कम समयावधि गराउनका लागि हामीले पहल गरिरहेका छौँ, देशैभरबाट यसलाई हटाउन भनेर नागरिकहरुले सल्लाह र सुझाव दिइरहनुभएको छ, हामी आगामी बैठकमा यस विषयमा छलफल गरी निष्कर्ष निकाल्छौँ ।’
उपाध्यक्ष कार्कीले पछिल्लो समयमा आयोगले देशैभर भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण कार्य तीव्र पारेको समेत बताए । उनले देशैभर लालपुर्जा वितरण कार्य जारी रहेपनि यो कार्यमा सबैभन्दा अगाडि बाँके रहेको उल्लेख गरे ।
‘केन्द्र आयोग गठन भएको नौ महिना भयो, जिल्लाका आयोगहरु बनेको छ महिना पुगेको छ, यो अवधिमा हामीले देशैभरका भुमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने कार्य तीव्र पारेका छौँ, त्यसमा पनि बाँके अग्रपङ्तिमा रहेको छ ।’ उपाध्यक्ष कार्कीले भने, ‘हामीभन्दा अगाडि करिब १८ वटा आयोग बने तर धेरै काम गर्न सकेका थिएनन्, हामी १९औँ आयोगका रुपमा आइसकेपछि यो कार्यलाई तीव्र पारेका छौँ।’
उनले देशभरमा भूमिहीन नागरिकहरुका ११ लाखभन्दा बढी आवेदन आयोगमा दर्ता भएको जानकारी दिए । ‘पहिलो चरणको आह्वानमा देशैभरबाट करिब ११ लाख बढी आवेदन दर्ता भएका छन्, छुटपुट भएका नागरिकका लागि आयोगले पुनः दोस्रो चरणको आवेदन आह्वान गरिसकेको छ, आवेदन सङ्कलन हुने कार्य जारी छ, करिब १५ लाख आवेदन पुग्ने हामीले अनुमान गरेका छौँ ।’ उनले भने । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले भूमिहीन नागरिकको माग र आफूले गरेको प्रतिबद्धता अनुसार कोहलपुरबाट लालपुर्जा वितरण अभियान सुरु गरिएको बताए ।
‘हामीले यहाँका भूमिहीन नागरिकहरुसँग राजनैतिक रुपमा होस् या उम्मेदवार बन्ने समयमा राखेका प्रतिबद्धता अनुसार अहिले काम गरिरहेका छौँ, हाम्रा प्रतिबद्धता पूरा गरिरहेका छौँ, हामीसँग सहकार्य गरेर यो अभियानलाई निरन्तर रुपमा अगाडि बढाउने भूमि आयोकको कार्य सराहनीय छ, अभियानलाई साथ दिँदै अहोरात्र खटिने सम्पूर्ण जनप्रतिनिधिहरुको समन्वय र सहकार्यबिना यो काम सम्भव थिएन, हामी सबैको पहलकदमीबाट यो कार्य पूरा भइरहेको छ ।’ उनले भने ।
भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले शनिबार कोहलपुर १ का थप ३२५ जना अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गरिएको जानकारी दिए । ‘हामीले गत वैशाख महिनाबाट कोहलपुरबाट लालपुर्जा वितरण अभियान सुरु ग¥यौँ, अभियानको यो चौथो चरण हो, आजसम्म हामीले कोहलपुर १ कै ६२९ जना भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गरिसकेका छौँ, अब तत्काल राप्ति सोनारीका नागरिकलाई लालपुर्जा वितरण गर्दैछौँ ।’ उनले भने । हालसम्म कोहलपुर १ कै ११६ जना भुमिहीन सुकुम्वासी र भूमिहीन दलित तथा ५१३ अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गरिएको खनालले बताए ।
बाँकेमा ५३ हजार ७०५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले जग्गा प्राप्तिका लागि आयोगमा आवेदन दर्ता गराएका छन् । जसमध्ये भूमिहीन दलितको सङ्ख्या तीन हजार ६८१, भूमिहीन सुकुम्वासीको सङ्ख्या छ हजार ७९८ र अव्यवस्थित बसोवासीको सङ्ख्या ४३ हजार २२६ रहेको छ । बाँकेका ८ वटा पालिकामध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाबाट जग्गा प्राप्तिका लागि आवेदन दर्ता भएको आयोगले जनाएको छ ।
आयोगका अनुसार कोहलपुर नगरपालिकाबाट १७ हजार ६१५, राप्ति सोनारी गाउँपालिकाबाट १२ हजार ५२३, बैजनाथ गाउँपालिकाबाट १० हजार ११२, खजुरा गाउँपालिकाबाट पाँच हजार २५८, नेपालगन्ज उपमहानगरपालिकाबाट तीन हजार ४२, जानकी गाउँपालिकाबाट दुई हजार ८१० र सबैभन्दा कम नरैनापुर गाउँपालिकाबाट दुई हजार ३४५ आवेदन दर्ता भएका छन् । डुडुवा गाउँपालिकाबाट आयोगमा हालसम्म सम्झौता नभएका कारण त्यहाँको विवरण भने अझैसम्म प्राप्त नभइसकेको आयोग बाँकेले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्