शशिधर भण्डारी । नेपालगन्ज (बाँके) ।
जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. बाँकेको २४औँ स्थापना दिवस शुक्रबार मनाइएको छ । समाज विकास तथा प्रवर्धन केन्द्र बाँकेले सञ्चालन गरेको जानकी गाउँपालिका–३ तेजनगरस्थित अनाथ असहाय तथा सडक बालबालिका शिक्षा एवं संरक्षण गृहका बालबालिलाई शैक्षिक सामग्री हस्तान्तरण गरी दिवस मनाइएको हो ।
जिल्ला संघका अध्यक्ष प्रेमबहादुर शाहको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफस्कुन)का बाँके सेवा केन्द्र उपसमिति सदस्य कृष्णा पाठकको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि पाठकसहित नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफस्कुन) सदस्य सेवा कार्यालय नेपालगन्जका प्रमुख छत्रप्रसाद धमला, राष्ट्रिय सहकारी बैंक बाँकेका प्रमुख प्रकाश थपलिया लगायतले संरक्षण गृहमा रहेका १० बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाठकले पछिल्लो समयमा सहकारी क्षेत्र समस्यामा रहेको भन्दै यसमा संघले सशक्त भूमिका निर्वाह गर्ने समय आएको बताइन् । ‘पछिल्ला निर्देशन र मापदण्डहरुको अन्यौलता तथा केही गलत सहकारीका कारण सहकारी क्षेत्र संकटमा छ,’ पाठकले भनिन्, ‘अब संघले सशक्त भूमिका खेल्न सक्नु पर्दछ ।’ प्रवर्धन केन्द्र बाँकेका अध्यक्ष मिनबहादुर अर्यालले शैक्षिक सामग्री सहयोग गरेकोमा संघलाई धन्यवाद व्यक्त गरे ।
सहकारीका सात सिद्धान्तमध्येको समुदायप्रति चासो भन्ने सिद्धान्तलाई यस्ता सहयोगमा योगदान दिन सके अन्य आश्रम तथा बालबालिकाको शैक्षिक क्षेत्रमा टेवा पुग्ने बताए । संघका अध्यक्ष शाहले राज्यले सहकारी क्षेत्रमा अनेक ठाउँबाट मापदण्डहरु पठाउँदा थप अन्यौलता भएकोले बचत तथा ऋण सहकारीको लागि छुट्टै ऐन मागको आन्दोलनलाई बलियो बनाउन बाँकेका बचत तथा ऋण सहकारी अभियानकर्मीलाई आग्रह गरेका छन् ।
उनले सहकारीकर्मीले आफ्ना सामाजिक सञ्जालमा सहकारी क्षेत्रलाई टेवा पुग्ने सामग्रीहरु राखेर योगदान दिन आग्रहसमेत गरे । कार्यक्रममा जिल्लास्थित विभिन्न सहकारीका अध्यक्ष तथा व्यवस्थापकहरुको सहभागितासमेत रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्