आदिवासी जनजाति महासंघको स्थापना दिवसमा वृक्षरोपण



कोहलपुर (बाँके) ।

नेपाली काँग्रेसनिकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको २८औँ स्थापना दिवसमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश समिति र जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा शितल छायाँ वन वाटीका मगर संग्रहालय रहेको क्षेत्रमा वृक्षरोपण गरिएको थियो ।

महासंघका केन्द्रीय सदस्य प्रमोदबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ३० वटा बिरूवा रोपिएको आयोजकले बताएको छ । अमला र बैलौतीका गरेर ३० वटा बिरुवा रोपण गरिएको हो । महासंघका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले वृक्षरोपण सिर्जनात्मक कार्यक्रम भएको बताए ।

उनका अनुसार यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ । महांसघले स्थापना दिवसको अवसरमा राम्रो कार्यक्रम आयोजना गरेको केन्द्रीय सदस्य श्रेष्ठले बताए । अर्की केन्द्रिय सदस्य सिता श्रेष्ठले महासंघले स्थापना दिवसको अवसरमा कार्यक्रम आयोजना गरेर भातृत्व कायम गरेको बताइन् । उनका अनुसार वृक्षरोपण आवश्यक छ ।

महासंघ बाँकेका अध्यक्ष कृष्ण पुन मगरले स्थापना दिवसको अवसरमा केही नयाँ काम गरौँ भन्ने उद्देश्यले वृक्षरोपण कार्यक्रम आयोजना गरिएको बताए । वृक्षरोपण कार्यक्रममा जिल्लाका विभिन्न पालिकाका अध्यक्ष तथा अन्य सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ३ गते शनिबार