आकस्मिक कक्षलाई बढाउँदै लुम्बिनी अस्पताल



श्यामलाल पोखरेल । बुटवल ।

एउटै बेडमा तीन जनासम्म बिरामी सुताएर उपचार गरिने बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा आकस्मिक कक्षको क्षमतावृद्वि गरिने भएको छ । अहिले सेवा प्रवाह भैरहेको सेवाभन्दा दोब्बर वृद्धि गरिने भएको छ । मेडिसिन बेडको सङ्ख्या थप गरेर आकस्मिक सेवातर्फको क्षमता दोब्बरले वृद्धि हुनेगरी सेवा विस्तारको काम भैरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. इन्द्र ढकालले जानकारी दिए ।

उनका अनुसार आकस्मिक सेवाका लागि आउने सेवाग्राहीको सङ्ख्या अत्यधिक बढेको छ । सेवाग्राहीको चापका आधारमा सेवा विस्तार गरिने र त्यसका संरचना निर्माणको काम अन्तिममा पुगेको छ । आउँदो असोजभित्र सञ्चालनका ल्याउने गरी थप ४५ वटा मेडिसिन बेडका लागि ट्रस्ट निर्माण, पाटेसन, शौचालय, रंगरोगन लगायत संरचनागत सुधारका कामहरू भैरहेका छन् ।

अस्पतालको आकस्मिक कक्ष रहेको भवनमा ट्रस्ट निर्माण गरी अहिले इन्टेरियरको काम भैरहेको छ । अस्पतालमा हाल ६० वटा आकस्मिक बेड र ४५ वटा मेडिसिन बेड रहेको मेसु ढकालले बताए । आकस्मिक विभाग प्रमुख डा. सुनिलकुमार सुनारका अनुसार दैनिक १५० देखि २ सय जनाबढी आकस्मिक स्वास्थ्य सेवाका लागि बिरामीहरू अस्पतालमा आउने गर्दछन् । जसमध्ये ७० प्रतिशतबढी बिरामीलाई मेडिसिन वार्डमा राखेर उपचार गर्नुपर्ने खालका हुने गरेको उनले बताए ।

मेडिसिन वार्डमा बेडको सङ्ख्या थोरै भएका कारण आकस्मिक कक्षमै एउटा बेडमा २, ३ जनासम्म राखेर उपचार गर्ने गरिएको छ ।
‘आकस्मिक कक्षमा तत्काल उपलब्ध गराउनुपर्ने स्वास्थ्य उपचारपछि मेडिसिन वार्डमा पठाउनु पर्ने भएपनि बेड अभावका कारण आकस्मिक कक्षमै हप्ता दिनसम्म पनि राख्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ,’ डा. सुनिलले भने, ‘अब मेडिसिन वार्डमा बेड सङ्ख्या थप भएपछि विगतको समस्या ५० प्रतिशत बढीले घट्ने अपेक्षा गरेका छौँ ।’ मेडिसिन वार्डमा बेड सङ्ख्या थप भएसँगै अब बिरामीले भुइँमा बसेर सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ ।

अस्पतालमा आकस्मिक सेवातर्फ पनि विभिन्न ३ वटा रङ्गहरूमा विभाजन गरिएको छ । अस्पतालमा तत्कालै उपचार दिनुपर्ने बिरामीलाई रातो अर्थात् ‘रेड जोन’मा राखिन्छ भने मध्यम खालका बिरामीलाई हरियो अर्थात् ‘ग्रीन जोन’ तथा सामान्य उपचारपछि घर पठाउन मिल्ने बिरामीलाई पहेँलो अर्थात् ‘एल्लो जोन’मा राख्ने गरिएको छ । यसबाहेक थप केही दिन उपचार सेवा उपलब्ध गराउनु पर्ने बिरामीलाई मेडिसिन वार्डमा पठाउने गरिएको अस्पतालले बताएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले आकस्मिक स्वास्थ्य सेवाका लागि आउने सेग्राहीको गुनासोलाई मध्यनजर गरी सेवा विस्तारको काम अघि बढाइएको बताए । उपलब्ध सीमित साधन श्रोतका कारण पनि गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि प्रयास भैरहेको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार अस्पतालमा हाल रहेको ६० वटा आकस्मिक बेड सेवाको हिसाबले पनि १२ सय मेडिसिन बेड सङ्ख्या हुनुपर्ने हो । अस्पतालले गत वर्ष सार्वजनिक गरेको तथ्यांकअनुसार एक वर्षको अवधिमा ७२ हजार २४४ जना सेवाग्राहीले आकस्मिक कक्षमा सेवा लिएका छन् ।

यस तथ्याकंलाई आधार मान्दा दैनिक करिब २ सय बिरामी आकस्मिक कक्षमा स्वास्थ्य उपचारका लागि आउने गर्दछन् । अस्पतालका मेसु डा. ढकालले लुम्बिनी प्रदेशमा मातृ–शिशु मृत्युदर उच्च रहेकाले यसलाई कम गरिने बताए । अस्पतालको मेडिसिन वार्डमा बेड सङ्ख्या कम भएका कारण आकस्मिक कक्षको एउटा बेडमा ३ जनासम्म राखेर उपचार हुँदै आएको छ । यसको अन्त्यका लागि आकस्मिक कक्षको क्षमतावृद्वि भएमा धेरै सेवाग्राहीका लागि सहज हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २८ गते शनिबार